बुटवल–शुक्रबार मृत्यु भएका ३ जनासँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यू हुनेको संख्या १४ पुगेको छ। आज शुक्रबार सिद्धार्थनगरका ४५ वर्षिय पुरुष र ६५ वर्षिया महिला तथा बुटवलका ७८ वर्षिय पुरुषको मृत्यु भएको हो।
मृतकको संख्या १४ पुगेसँगै कोरोना संक्रमणबाट मृत्यु हुने संख्याको आधारमा रुपन्देही मुलुकको चौथो जिल्ला भएको छ। पर्सा, काठमाडौ र मोरङपछि रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु दर बढी देखिएको छ।
कोरोना संक्रमणबाट पर्सामा ३८ जना, काठमाडौमा २६ जना र मोरङमा १८ जनाको मृत्यु भइसकेको छ। १४ जनाको मृत्यु हुनेमा रुपन्देहीसँगै प्रदेश २ को बारा जिल्ला पनि रहेको छ।
सक्रिय संक्रमित ५ सय भन्दा बढी हुने १२ जिल्लामध्ये रुपन्देही पनि एक हो। रुपन्देहीमा बिहीबारसम्मको तथ्यांकअनुसार ६ सय २६ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।
प्रदेशमै उच्च मृत्युदर र बढी सक्रिय संक्रमित
प्रदेश ५ मा कोरोना भाइरस संक्रमणबाट बाँकेमा पहिलो पटक २५ वर्षिय पुरुषको मृत्यु भएको थियो। उनको जेठ ४ गते नरैनापुर क्वारेन्टाइनमै मृत्यु भएको थियो। यससँगै बाँकेमा हालसम्म ६ जनाको मृत्यु भएको छ।
प्रदेश ५ भरमा ३८ जनाले ज्यान गुमाइसकेका छन्। यसमध्ये सबैभन्दा बढी रुपन्देहीमा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाह बताउँछन्। त्यसपछि बाँके दोस्रो जिल्ला हो। त्यसैगरी कपिलवस्तुमा ४, गुल्मीमा ३ जनाको मृत्यु भएको छ।
दाङ, पाल्पा, नवलपरासी पश्चिम, अर्घाखाँची, प्युठानका दुइ–दुइ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। बर्दियामा एक जनाको मृत्यु भएको छ। रोल्पा र रुकुममा शुक्रबारसम्म कुनै संक्रमितको मृत्यु भएको छैन।
सक्रिय संक्रमितको प्रदेशभरमा रुपन्देहीको बढी छ। ५ सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लामा प्रदेश भरमा रुपन्देही मात्र रहको छ।
पछिल्लो तथ्यांक अनुसार रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ६ सय २६ रहेको छ। त्यसपछि बाँकेमा ३ सय ४९ रहेको छ।
भदौ लागेपछि रुपन्देहीमा मृत्युदर तीब्र
भदौ महिना अघि रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ मात्रै थियो। असार २० गते काठमाडौको त्रिवि शिक्षण अस्पतालमा ७० वर्षिय एक पुरुषको मृत्यु भएको थियो।
उनमा क्यान्सर थियो। साउन मसान्तसम्म प्रदेश ५ मा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भइसक्दा रुपन्देहीमा अस्पतालमा मृत्यु भएका एक जना मात्र थिए। भदौअघि बाँके र गुल्मीमा ३–३ जना, कपिलवस्तु, अर्घाखाँची र दाङमा २–२ जना तथा पाल्पामा एक जनाको मृत्यु भएको थियो।
तर भदौको पहिलो हप्तामै रुपन्देहीले प्रदेशका अरु जिल्लालाई उछिनेर मृत्युदरमा अगाडि आयो।
भदौ ३ गते रुपन्देहीमा दोस्रो संक्रमितको मृत्यु भयो। ७ गते एकै दिन तिनजना संक्रमितको ज्यान गयो। भदौ लागेपछि मात्र रुपन्देहीमा १३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन्।
मृत्यु भएका अधिकांशमा कोरोनाकै लक्षण अर्थात निमोनिया देखिएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. डा विष्णु गौतमले बताए।