भैरहवा–रुपन्देहीमा बिहीबार ५० जना कोरोना भाइरसका संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार एक सय ३३ पुगेको छ।
विभिन्न ल्याबमा गरिएका परिक्षण अनुसार बिहीबार साँझ ५ बजेसम्म विभिन्न ७ पालिकामा कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले लुम्बिनी टाइम्सलाई जानकारी दिए।
शाहका अनुसार बुटवल उपमहानगरपालिका १४ महिला १७ पुरुष गरी ३१ जना, सिद्धार्थनगर नगरपालिका क्षेत्रमा ५ महिला र ४ पुरुष गरी ९ जना, तिलोत्तमामा १ जना, देवदहमा २, रोहिणीमा १, गैडहवामा २ र ओमसतियामा ४ जनामा संक्रमण पुष्टि भएको छ। जिल्लाका संक्रमितमध्ये २१ जना महिला र २९ जना पुरुष हुन्।
आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार १ सय ३३ पुगेको शाहले जानकारी दिए। कार्यालयका अनुसार हालसम्म रुपन्देहीमा १० जनाको मृत्यु भएको छ।
जिल्लाका विभिन्न क्षेत्रबाट ४९७ जना निको भएर फर्किसकेका छन् भने ६२६ जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन्।