भैरहवा–युनिभर्सल मेडिकल कलेज भैरहवाले कोभिड अस्पताल शुरु गरेको छ। निजी क्षेत्रबाट सञ्चालित कलेजले हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै अस्पतालमा कोभिड–१९ आशंका गरिएका तथा संक्रमितको उपचारका लागि छुट्टै कोभिड अस्पतालको व्यवस्था गरेको हो।
संक्रमण नबढोस् भनेर फिभर क्लिनिकदेखि शल्यक्रियासम्मको छुट्टै संरचना तयार गरिएको छ। संक्रमित र संक्रमण नभएका बिरामीलाई छुट्टाछुट्टै व्यवस्थापन गरेर ४ वटा भेन्टिलेटर सहित १ सय भन्दा बढी बेड कोभिड–१९ का लागि छुट्टाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सदनमुखीले जानकारी दिए।
अस्पतालले नियमित सेवालाई निरन्तरता दिदै सशुल्क स्वास्थ्य सुरक्षाको मापदण्डमा रहेर कोरोना शंकास्पद बिरामीहरुका लागि ज्वरो क्लिनिक, २ वेड भेन्टिलेटर सहित ३० वेडको आकस्मिक आइशोलेशन कक्ष, ३ वटा आकस्मिक अपरेशन थिएटर, ३० बेडको होल्डिङ यार्डको समेत व्यवस्थापन गरिएको मेसुले जानकारी दिए।
जाचको क्रममा पिसीआर परिक्षणमा पोजिटिभ देखिए उपचाररत बिरामी तथा स्वास्थ्यकर्मीहरुको उपचारका लागि निर्धारित मापदण्डअनुसार २ वटा आइशोलेशन वार्ड ५० बेडको व्यवस्था गरिएको मेडिकल कलेजका जनसम्पर्क अधिकृत शुशिल गुरुङले जानकारी दिए।
यसका साथै गम्भीर प्रकृतिको संक्रमित बिरामीहरुका लागि २ वटा भेन्टिलेटर सहित ८ बेडको कोभिड आइसियु कक्षको पनि व्यवस्था गरिएको मेडिकल कलेजका जनसम्पर्क अधिकृत गुरुङले बताए।
हाल सम्म मेडिकल कलेजका अग्रपंक्तिमा रहेर काम गर्ने १९५ जना भन्दा बढीको पिसीआर गरिएकोमा ३९ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपनि सेवा रोकिएको छैन।
उच्च सर्तकता र सुरक्षा अपनाएर काम गर्दा समेत १२ जना डाक्टर, २० जना नर्सिङका कर्मचारी, ३ जना प्रविधिक, १ जना प्रशासनिक र ३ जना वार्ड एजेन्डरहरु संक्रमित हुन पुगेपनि ७ जना संक्रमणबाट मुक्त भएर नियमित सेवामै लागेको अस्पतालका मानव सञ्चालन व्यवस्थापन प्रमुख कमल ढकालले जानकारी दिए। संक्रमित बिरामीमध्ये ३ जना अस्पतालकै कोभिड आइसियु, १३ जना अकोभिड आइशोलेशन वार्ड र १६ जना होम आइशोलेशनमा रहेका छन्।
‘उपचाररत स्वास्थ्यकर्मी र बिरामी सबैको अवस्था सामान्य र स्थिर छ, उहाँहरुलाई ४० जना स्वास्थ्यकर्मीको टीम स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार नै खटिएको छ’–प्रमुख ढकालले बताए–अहिले निर्मित संरचना ननकोभिड बिरामी भन्दा छुट्टै बनाइएको छ, यसले ओपिडी लगायतको सेवामा कुनै पनि बाधा अवरोध र सर्ने सम्भावना शुन्य छ । बाहिरबाट आएको संक्रमित बिरामी हामीले लिदैनौ, हामीले यो व्यवस्थापन गरेसँगै बिरामीले चाहेको खण्डबाहेक यहाँका संक्रमित बिरामी अन्यत्र रिफर गर्नु पर्ने अवस्था आउदैन।’
कलेजका प्रशासन संयोजक तेज केसीका अनुसार सरकारले बाध्यकारी नियम लगाउनु बाहेक कुनै पनि सहजता दिएको छैन। उनले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पनि कुनैपनि प्रकारको नैतिक तथा आर्थिक सहयोग नगरेको बताए।
‘हामीले भीम अस्पतालमा हाम्रो जनशक्ति पठाएर आइसियु सञ्चालनमा सहयोग गरेका छौ, संक्रमणदर नियन्त्रण गरी घटाउन अस्पताल प्रशासन लागेको छ, कोभिडबाट कुनै पनि सर्वसाधरण डराउनु पर्दैन संक्रमित र विना संक्रमित दुवैको स्वास्थ्य सेवाका लागि कलेज तयार रहेको छ’–उनले भने।