बुटवल-रुपन्देहीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकी एक महिलाको मृत्यु भएको छ। बुधबार बेलुका ७ बजे लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि आएकी सैनामैना नगरपालिका ११ की ७७ वर्षीया महिलाको बिहान साढे ४ बजे मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।
'अस्पतालमा आउँदा ज्वरो थियो, हामीले जिन एक्सपर्टबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो, त्यसपछि उपचार थालेका थियौं, उनले भने-बिहान साढे ४ बजे उहाँको मृत्यु भयो, उहाँ घरबाट आउँदा नै एकदमै कमजोर भइसक्नुभएको थियो, निमोनियाले गलाइसकेको थियो।'
उनका अनुसार ती महिला करीब ३-४ दिनदेखि निमोनियाबाट ग्रस्त थिइन्। उनलाई कोरोना विशेष अस्पतालमा बेड र भेन्टिलेटर दुवै खाली नभएर प्रादेशिक अस्पतालकै आइसालेसनमा राखी उपचार गरिएको थियो।