भैरहवा–रुपन्देहीको भैरहवामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। भीम अस्पताल भैरहवामा उपचार गराइरहेकी नवलपरासी पश्चिम रामग्राम नगरपालिका ५ परासीकी एक ६५ वर्षीय महिलाको मंगलबार राती ९ः४५ बजे अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका अस्पतालले जानकारी दिएको छ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट रेफर भई भैरहवा भीम अस्पतालमा उपचारका लागि भर्ना भएकी ती संक्रमितमा उच्च रक्तचाप, मधुमेहको समस्या रहेको थियो।
बुटवलमा आइसियु बेड खाली नभएर यही भदौ १५ गते उनी भीम अस्पतालमा उपचारका लागि भर्ना भएको भीम अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले बताए। उनमा १४ गते संक्रमण पुष्टि भएको थियो।
स्वासप्रश्वासमा समस्या भएकोले उनको आइसीयुमा राखेर उपचार भइरहेको थियो। उनको शव अहिले भीम अस्पतालमा रहेको र शव व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको पोखरेललेले बताए।
‘खोकी, ज्वरो सहित जटिल अवस्थामा नै अस्पतालमा आउनुभएको थियो, शरीरमा अक्सिजनको मात्रा कम भएकोले सोही दिनबाट हामीले सञ्चालन गरेको आइसियुमा राखेर उपचार गरिरहेपनि बचाउन सकिएन’–भीम अस्तालका कोभिड–१९ फोकल पर्सन डा. सुमित प्रजापतिले भने।
अहिले भीम अस्पतालमा ४ जना आइसियुमा, १७ जना सामान्य कोभिड आइशोलेशन बेडमा गरी २१ जना संक्रमित उपचाररत रहेको फोकल पर्सन डा. प्रजापतिले बताए।
भीम अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको यो दोस्रो घटना हो। यस अघि गत सोमबार उपचाररत गैडहवा गाउँपालिका ३ का ५० वर्षीय कोरोना संक्रमित बिरामीले आइसियु अभावमा ज्यान गुमाउनु परेको थियो। तिलोत्तमाकी एकजना संक्रमित महिलाको भने अस्पताल पुर्याउँदा नै मृत्यु भएको थियो।