बुटवल-आफ्नो ज्यानकै जोखिम मोलेर कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालका स्वास्थ्यकर्मीले पारिश्रमिक नपाएको खुलेको छ।
अस्पतालका स्वास्थ्यकर्मीले लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्षलाई सम्बोधन गरेर लेखेको पत्रमा जोखिम भत्ता र मासिक पारिश्रमिक नियमित नपाएको ९ जना स्वास्थ्यकर्मीले जनाएका छन्।
सरकारले उपलब्ध गराउने भनेको सतप्रतिशत जोखिम भत्ता र नियमित रूपमा पाउनुपर्ने पारिश्रमिक नपाएपछि कोरोना विशेष अस्पतालमा कार्यरत ९ जना चिकित्सकले काम नै बन्द गर्ने चेतावनी दिएका छन्। उनीहरुले भदौ ११ मा पारिश्रमिक र भत्ता उपलब्ध गराउन माग गर्दै निवेदन दिएका थिए। उनीहरु सबैजना अस्थायी करारमा नियुक्त स्वास्थ्यकर्मी हुन्।
निवेदनमा डा. सहिल भुसाल, डा. प्रतिमा भण्डारी, डा. विशला झा, डा. राजेश लिम्बू, डा. एलिना न्यौपाने, डा. कल्याण रेग्मी, डा. आर्शीवाद अर्याल, डा. सविता अर्याल र डा. पुजन ज्ञवालीले हस्ताक्षर गरेका छन्। यो निवेदन लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईलाई बुझाइएको थियो।
अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराइले उनीहरुको माग जायज भएको बताए। जटिल अवस्थामा खटिएका चिकित्सकको तलबभत्ता निकासा नभएकोमा आफु गम्भीर भएको भन्दै उनले छिटै समाधान हुने जनाए।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनालले प्रदेश सरकार र केन्द्रले नै जोखिम भत्ता कम पठाएकाले भत्ता वितरण हुन नसकेको बताए। यसअघि असारको अन्तिम साता आएको केही रकम जोखिम भत्ताबापत दिएको भएपनि कोरोना विशेष अस्पतालमा कार्यरत केही चिकित्सक त्यतिबेला छुटेकाले भत्ता नपाएको हुनसक्ने उनले बताए । उनका अनुसार सरकारले नै भनेजसरी जोखिम भत्ता उपलब्ध गराएको छैन।