बुटवल-विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणले नेपालमा पनि महामारीको रुप लिएको छ। कोरोना भाइरस संक्रमण र लकडाउनको कारण चैतयता आम मानिसको जनजीवन नसोंचेको तरिकाले प्रभावित भएको छ। कोरोनाको असरले अरु जीवनशैली जस्तै दैनिक खानपान पनि परिवर्तन भएको छ।
हिडडुल गर्न नपाउँदा र होटल रेष्टुराहरु ठप्प भएकाले घरमै उत्पादन भएका खानेकुरा खाने अवसर मिलेको छ। आम मानिस जस्तै राजनीतिज्ञ तथा जनप्रतिनिधिहरुको खानपान शैली पनि यतिबेला बदलिएको छ।
प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराललाई कार्यालय तथा अन्य कार्यक्रमहरुमा खटिरहनुपर्दा जहाँ जे अनुकुल पर्छ त्यही खानुपर्दथ्यो। तर अहिले खानेकुरामा सिमितता आएको छ।
‘पहिले जस्तो रोजाइको खाना छैन, जे अनुकुल पर्छ त्यही खाने हो’–उनले भने–‘हिजो आज माछामासु धेरै कम भएको छ, अक्कलझुक्कल मात्र खाइन्छ, निवास वरिपरि साग लगायतका केही तरकारी फलेको छ। त्यसबाहेक तरकारी किनेर खाइन्छ।’
बाहिर किनेको तरकारी भने अचेल ताजा नहुने मन्त्री बराल बताउँछन्। कोराना र लकडाउनका कारण मन्त्री बरालले कोदो र मकैको परिकार भने खान पाएका छैनन्। ‘गाउँबाट कहिलेकाँही कोदो, जौ, मकैं मगाउने गरेको थिएँ, घरमा कोदोको रोटी, मकैको आटो बनाएर पनि खाइन्थ्यो’–उनले भने –‘लकडाउनले त्यसरी खान पाइएको छैन, गाडी चलेको छैन, ल्याउने मान्छे पनि छैनन्।’
कोरोनाको महामारीमा प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले खानपानमा केही सतर्कता अपनाएका छन्।
‘कोरोनाले खानपानमा सतर्कता अपनाउनुपर्छ भन्ने सन्देश दिएको छ, हामी आफूमा पनि पहिले खाने खाना र अहिले खाने खानमा केही परिवर्तन आएको छ’–उनले भने–‘पानी प्रशस्त पिउने, तातोपानी खाने, ग्रिन टी पिउने संस्कृतिको विकास भएको छ, हामी पनि त्यही गरेका छौं।’
लकडाउनको समयमा सभामुख घर्तीको निवासमा पनि केही तरकारी फलेको छ। अरु बाहिरबाटै किनेको खाने गरेका छन् उनले। ‘दुईतीन महिनालाई पुग्ने प्याज उत्पादन भएको छ, अरु केही तरकारी पनि फलेको छ, त्यसले काम चलेको छ’–उनले भने।
कोरोना संक्रमणको कारण उपसभामुख कृष्णी थारुको खानपानमा पनि केही परिवर्तन आएको छ। ‘पहिले जस्तो दौडधुप नहुँदा अलि कम खाने गरेकी छु, भातलाई कम गरेर रोटी खाने गर्छु–उनले भनिन्–बेला बेलामा माछामासु खाइन्थ्यो, त्यसमा अहिले धेरै कम गरेका छौं, हरियो तरकारी नै प्राय खान्छौं।’
रोगप्रतिरोधात्मक क्षमता बढाउने भन्दै उपसभामुख थारुले पनि एउटा आयुर्वेदिक औषधि घरमा राखेकी छन्। ‘भोलिका दिनमा केही राम्रो गर्ला कि भनेर जडिबुटीको औषधि प्रयोग गर्छु, चिया कम गरेर प्रायः ग्रिन टी खाने गरेकी छु।’
नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकाल लकडाउनकै बीचमा खुट्टामा चोट लागेर घर बाहिर कमै निस्केका छन्। घरमा बस्दा खानपिनमा धेरै परिवर्तन आएको उनले बताए। ‘पहिले बाहिर हिडिरहँदा चिल्लो र मसलेदार खाना बढी हुन्थ्यो, घरमा केही कम हुन्छ’–उनले भने–‘स्वभाविक रुपमा घरमा माछा मासु पनि कम खाइएको छ।’
ढकालले घरमा बस्दा भात पनि कम गरेको बताए। ‘भात कम खाने गरेको छु, प्रायः जौको आटो र हलुवा बनाएर खान्छु’–उनले भने।
नेपाली कांग्रेसका नेता तथा प्रदेश सभाका लेखा समितिका सभापति डिल्ली चौधरीले लकडाउनको अवधिमा बाहिरबाट आयातित तरकारी खान नपरेको सुनाए।
‘भारतबाट आएको कोल्ड स्टोरमा राखेको धेरै दिनको तरकारी खानुपर्ने अवस्था थियो, तर अहिले हाम्रोतिर ताजा तरकारी पाइन्छ–अहिले गृहजिल्ला दाङमा रहेका चौधरी भन्छन्–आफ्नै बारीमा पनि तरकारी फलेको छ, त्यसबाहेक तुल्सीपुरमा नजिकको गाउँबाट पनि बिहान तरकारी आइपुग्छ।’ उनले घरमा बस्दा फलफूल र सलाद पनि बढी खाएको बताए। ‘फलफूलसँगै घरमा फलेको अम्बा, काँक्रो लगायतका हरिया चीजहरु खाएको छु’–उनले भने।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपी डम्बरबहादुर बिकलाई कोरोनाको प्रभावका कारण बाहिरको खाना खानुपरेको छैन। ‘काम विशेषले फिल्डमा जाँदा बाहिर खाना खाइन्थ्यो, अहिले धेरै कम भएको छ’– उनले भने–‘म त्यसै पनि माछा मासु कम खाने मान्छे हो, अहिले झन कम भएको छ।’
तर उमालेको अण्डा र दुध दिनहुँ खाने गरेको उनले सुनाए। जंकफुड, कोक, फेन्टा जस्ता पेय पदार्थ एसपी बिकले प्रायः नखाने बताउँछन्। कार्यालयमा सकभर ताजा तरकारी खाने प्रयास गरेको उनको भनाइ छ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्य पहिलेदेखि नै शाकाहारी हुन्। लकडाउन र कोरोनाको असरले आफ्नो दैनिक खान्कीमा खासै असर नपरेको उनी बताउँछिन।
‘पहिले पनि मैले माछामासु खाँदैन थिएँ, बाहिर खाना एकदम कम खान्छु– उनले भनिन्–‘सकभर घरबाटै खाना खाएर कार्यालय र कार्यक्रमहरुमा जान्छु, बिहानै निस्कन परेमा पनि समय भएसम्म घरमै खाना खान आउँछु।’
उपप्रमुख आचार्यले भारतबाट आएको तरकारी भन्दा आफ्नै ठाउँको तरकारीलाई प्रयोग गर्ने गरेको पनि सुनाइन्।
‘पहिले पनि शुद्धोधन, गैडहवामा उत्पादन हुने तरकारी हाम्रो भान्छामा पाक्थ्यो, अहिले पनि त्यही हो’–उनले भनिन्–‘बाहिर हिड्दा धेरैजसो मिनरल वाटर खाइन्थ्यो, अहिले घरमै तातापानी खाने गरेकी छु।’
रोगप्रतिरोधात्मक क्षमता बढाउन पछिल्लो समय उपमेयरको परिवारले पनि आयुर्वेदिक औषधि प्रयोग गर्ने गरेको छ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाका प्रमुख मंगलप्रसाद थारुले पनि कोरोनाको प्रभाव र लकडाउनको बेला गाउँघरमै उत्पादित खाने कुरा नै खान्छन्।
‘बाहिर खाने क्रम घटेको छ, घरमा खाँदा केही भएपनि ताजा खानेकुरा हुन्छ–उनले भने–पहिले जुनसुकै पसलबाट तरकारी किन्नुपर्दथ्यो, अहिले केही आफ्नो घर फलेको छ, बाँकी छिमेकी टोलमा उत्पादन भएका तरकारीहरु खाने गरेका छौं।’
बुटवल ट्राफिक चोककी सुशीला मरासिनी पनि अहिले घरमा बनाएको सामान्य खानेकुरा खान्छिन्। ‘पहिले बजारमा पाउँदा घरमा बनाएर खान पनि अल्छी लाग्थ्यो, उनी भन्छिन्–पहिले बजारको खानेकुरा खाँदा पचाउन पनि सजिलो हुँदैनथ्यो, पेट गडबड भइरहन्थ्यो, अहिले घरमै सबै खानेकुरा बनाएर खाँदा एक त मजा आइरहेको छ, अर्को कुरा स्वास्थ्यलाई पनि फाइदा भएको छ।’
यसरी नेतादेखि सर्वसाधारणसम्मको खान्की बदलिएको छ। होटल रेष्टुरेन्टहरु बन्द हुँदा तेलमा तारेकादेखि मसालेदार खानेकुरा अहिले कसैले खाएका छैनन्। यसले स्वास्थ्यलाई फाईदा पुर्याउने पोषणविदहरु बताउँछन्।
प्रदेश ५ स्वास्थ्य निर्देशनालयका पोषण श्रोतव्यक्ति कौशल भण्डारी बजारमा आएको भन्दा घरमै उत्पादित खाना धेरै पोषिलो हुने बताउँछन्।
‘अहिले धेरैलाई बाहिर उत्पादित मम, चाउमिन जस्ता जंकफुड खानु परेको छैन, त्यो नखाएकै राम्रो, धेरैले घरमै बनाएको खाजा खाइरहेका छन्–उनले भने–यसले मानिसलाई चाहिने पोषकतत्व केही मात्रामा भएपनि वृद्धि गर्छ, बजारिया खानेकुराबाट हुने असर कम गर्छ।’
धेरै साना शहर तथा बजार क्षेत्रमा गाउँ ठाउँकै तरकारी खपत भएको त्यसले पनि फाइदा पु¥याएको भण्डारीको भनाइ छ। ‘तरकारीलाई ताजा देखाउन व्यापारीहरुले केही मिसावट गर्थे, त्यसले तरकारीको पोषक तत्व नष्ट गर्दथ्यो’–उनले भने–‘आफ्नै गाउँठाउँको तरकारीमा मिसावट हुँदैन, ताजा तरकारीले स्वास्थ्यमा फाइदा गर्छ।’