बुटवल-बुटवलमा आइतबार दिउसो बुटवलकै एकजना ६१ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भयो।
बुटवल ५ का बासिन्दा रहेका उनलाई आइतबार बिहान उच्च ज्वरो, खोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि परिवारले लुम्बिनी प्रादेशिक अस्पताल पुर्याए।
उनलाई फिभर क्लिनिकमा सामान्य परीक्षणपछि जिन एक्सप्ट विधिबाट पीसीआर परीक्षण गरियो। उनको रिपोर्ट पोजेटिभ आयो। उनको अवस्था बिग्रदो थियो।
अस्पतालको कोरोना विशेष अस्पतालमा आइसीयूमा बेड खाली थिएनन्। रुपन्देहीमै अन्यत्र लैजान पनि सम्भव थिएन।
भीम अस्पतालमा आइसीयू सञ्चालनमा छैन। उनलाई लुम्बिनी प्रादेशिक अस्पतालले फिभर क्लिनिकनजिकै अक्सिजन दिएर उपचार थाल्यो। बिरामीको स्वास्थ्य जटिल बन्दै गएपछि उनको आइसीयू बेड नपाएकै कारणले मृत्यु भयो।
'हामीसँग उहाँको उपचारका लागि आइसीयू बेड थिएन, हामीले सम्भव हुन्छ भने अन्यत्र लैजानुस् नभए यहीँ जेजति श्रोतसाधन छ त्यसरी नै उपचार गरौं भनेर परिवारसँग सल्लाह गर्यौ- लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले भने-परिवारले अन्यत्र लैजानसक्ने अवस्था नरहेको बताएपछि हामीले अक्सिजन दिएर उपचार जारी राखेका थियौं।'
अस्पतालमा त्यसरी उपचार थालेको ४ घण्टामै उनको मृत्यु भयो। सोमबार पनि होम आइसोलेशनमा बसिरहेकी तिलोत्तमाकी एक महिलाको समयमा उपचार नपाएर मृत्यु भएको छ। बुटवलमा बेड खाली नभएपछि भैरहवाको भीम अस्पतालमा लगिएकी उनको अस्पतालमा भर्ना गर्नका लागि एम्बुलेन्सबाट निकाल्दै गर्दा मृत्यु भइसकेको स्वास्थ्यकर्मीले बताएका छन्।
बुटवलको कोरोना विशेष अस्पतालमा १६ वटा आइसीयू बेड छन्। ती सबैमा बिरामी छन्। 'हामीसँग भएका सबै आइसीयू बेडमा बिरामी हुनुहुन्छ, डा गौतमले भने-उहाँहरुमध्ये संक्रमणमुक्त नहुन्जेल त कसैलाई राख्न सक्ने कुरा भएन।'
त्यसबाहेक कोरोना संक्रमितको उपचार गर्ने भनिएको आइसीयूसहितको अस्पताल भैरहवाको भीम अस्पताल हो। त्यसमा आइसीयू सञ्चालनमै छैन।
प्रदेश ५ मा दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पताल र बाँकेमा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आइसीयू छ। तर दाङमा एउटा बेडमा मात्रै बिरामी छन्। अरु खाली छन्।
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश ५ मा आइसीयू बेड ३४ वटा छन्। जसमध्ये बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा १६, भैरहवाको भीम अस्पतालमा ५, बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा ८ र दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा ५ वटा बेड छन्।
यीमध्ये २१ वटा आइसीयू बेडमा बिरामी भर्ना भएर उपचाररत छन् भने १३ वटा बेड मात्रै बाँकी छन्।
बुटवलका सबै बेडमा बिरामी छन्। सोमबारदेखि सञ्चालनमा आएको भैरहवाको भीम अस्पतालमा ५ बेडमध्ये ४ वटामा बिरामी भर्ना भइसकेका छन्।
'आज बिहानदेखि आइसीयू बेड सञ्चालनमा आएका छन्, भीम अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले भने-त्यसमध्ये ४ बेडमा बिरामी भर्ना भइसक्नुभएको छ, बेलुकासम्म अर्का एकजनालाई आइसीयूमा सिफ्ट गर्ने कुरा छ।'
दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालका ५ वेडमध्ये एउटा बेडमा बिरामी भर्ना भएर उपचाररत छन् भने अरु बेड खाली छन्। यस्तै बाँकेको खजुरास्थित अस्पतालका सबै बेड खाली रहेको प्रदेश ५ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले बताए।
प्रदेश ५ को रुपन्देही र कपिलवस्तुमा लक्षणसहितका संक्रमितलाई निरन्तर आइसीयूको आवश्यकता छ। दिनदिनै आइसीयूमै राख्नुपर्ने गम्भीर प्रकृतिका बिरामीको संख्या बढ्दो छ।
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार प्रदेश ५ मा आइतबारसम्ममा १४१७ जना सक्रिय संक्रमित छन्। तीमध्ये १५ प्रतिशतसम्ममा लक्षण देखिएको छ। जसलाई जुनसुकै बेला आइसीयूको आवश्यकता पर्नसक्ने चिकित्सकहरु बताउँछन्। समयमा आइसीयू बेडमा राखेर उपचार हुन सकेन भने त्यस्ता संक्रमितको ज्यान जानसक्छ।
तर अब लक्षणसहितका संक्रमित अरु थपिदै गएमा आइसीयू बेड अभाव छ। कतिपय संक्रमित अस्पतालमै आइसोलेशनमा आइसीयू जाने पालो कुरेर बसेका छन्। जसका कारण लक्षण देखिएका गम्भीर प्रकृतिका बिरामीको ज्यान जोखिममा छ।
ती बिरामीलाई उपचारका लागि प्रदेश सरकारको तयारी भने फितलो छ। प्रदेश ५ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पौडेल आइसीयू बेड थप्ने तयारी रहेको बताउँछन्।
थप्ने भनिएपनि यसको पूरा तयारी छैन। कति र कहाँ भन्ने टुंगो छैन। सूचना अधिकारी पौडेल धागो कारखानामै आइसीयूसरहको विशेष कक्षहरु थप हुने बताउँछन्। तर कहिलेसम्म थप हुन्छन् भन्ने टुंगो नलागेको उनले बताए। सामाजिक विकास मन्त्री सुदर्शन बरालसँग यसबारे थप कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन।
प्रदेश ५ सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी प्रदेश ५ मा कोरोना संक्रमितको उपचारका लागि व्यवस्थापन गर्ने सबै जिम्मा सामाजिक विकास मन्त्रालयको रहेको बताउँछन्।
'सामाजिक विकास मन्त्रालयलाई कति बजेट चाहिने हो, के के गर्नुपर्ने हो सबै कुरा हेर्ने भनेर जिम्मा दिएर बजेट पनि दिएको छ-उनले भने-विस्तृतमा मन्त्रालयले नै बताउन सक्छ।'