बुटवल-लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एकजना कोरोना भाइरस संक्रमित गर्भवतीको शल्यक्रिया गरी बच्चा जन्माइएको छ। लुम्बिनी प्रादेशिक अस्पतालका सर्जन डा विष्णु गौतमको नेतृत्वमा रुपन्देही सिद्धार्थनगरकी २२ वर्षीया महिलाको शल्यक्रिया गरी बच्चा जन्माइएको हो।
भीम अस्पताल भैरहवाले रेफर गरेर बुटवल आएकी महिला र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ। बच्चा र आमालाई लुम्बिनी प्रादेशिक अस्पतालमै उपचारका लागि राखिने र आमाको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिने अस्पतालका सूचना अधिकारी डा गौतमले जानकारी दिए। बच्चाको पनि पीसीआर परीक्षण गरिने उनले बताए।
यसअघि प्रादेशिक अस्पतालमा एकजना गर्भवतीको शल्यक्रिया हुन नसकेको भन्दै आलोचना भएको थियो। तर अब भने अस्पतालले संक्रमित गर्भवतीको शल्यक्रिया गर्नसक्ने उनले बताए।