बुटवल-रुपन्देहीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका वडा नंं ५ की ६८ वर्षीया महिलाको आइतबार राति ९ बजे मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले पुष्टि गरे।
कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमै बसेकी थिइन्। भदौ ११ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। ती महिलाको स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा मृत्यु भएको हो।
भीम अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले संक्रमित बिरामी अस्पताल आउँदा मृत्यु भइसकेको बताए। उनले राती ९ बजे एम्बुलेन्सबाट अस्पताल लैजाँदै गर्दा संक्रमितको मृत्यु भइसकेको जानकारी दिए।
शव अहिलेसम्म पनि अस्पतालमै छ। शव व्यवस्थापनको लागि सुुरक्षा निकायलाई खबर गरिएको उनले बताए। रुपन्देहीमा यससँगै मृत्यु हुने संक्रमितको संख्या ८ पुगेको छ।