बुटवल-कोरोना भाइरसको संक्रमण पार गरेका देशहरुमा अहिले फेरि संक्रमण बढिरहेको छ। पहिलो चरणमा संक्रमण फैलिएर अवस्था सामान्य बन्दै जाँदा पुनः संक्रमण फैलिएर महामारीको रुप लिइरहेका छन्।
नेपालमा पनि लकडाउनपछिको केही समय संक्रमण नियन्त्रणमा आएको जस्तो देखिएको थियो। तर लकडाउन खुलेको केही समयभित्रै पुनः संक्रमण समुदायस्तरमा देखियो।
बीबीसीले तयार पारेको एक रिपोर्टका अनुसार विश्वका अरु मुलुकहरुमा पनि कोरोना भाइरसको संक्रमणको दोश्रो लहर फैलिइरहेको छ। ती मुलुकहरुमा पनि यसै गरी संक्रमण तीब्र देखिन्छ।
तर, एउटा प्रश्न उब्जिएको छ। के कोरोना भाइरसका पनि भूकम्पका जस्ता परकम्पहरु या भनौं लहरहरु देखिएलान् ? यो कहिलेसम्म जाला भन्ने प्रश्नको जवाफ दिन सजिलो छैन। विज्ञहरुले पनि यसबारे यकिनका साथ यसै भन्न सकिरहेका छैनन्।
तर, विगतका यस्तै प्रकृतिका महामारीहरुको अध्ययनलाई आधार मान्ने हो भने कोरोना भाइरसका लहरहरु अरु धेरै आउनसक्छन्। सन् १९१८ को स्पेनिश फ्लु आधुनिक इतिहासको सबैभन्दा घातक महामारी हो। यसले कम्तीमा ५ करोड मानिसको ज्यान लिएको थियो।
यसको पहिलो र तेश्रो लहरभन्दा दोश्रो लहर खतरनाक थियो। हालैका सार्स र स्वाइन फ्लुका पनि दुई वा त्यसभन्दा बढी लहर आएका थिए। बीबीसीले भनेको छ–कोरोना भाइरसका पनि त्यस्तै लहरहरु आउनसक्छन्।
विश्व स्वास्थ्य संगठनले यसको घातक पुन उदय हुनसक्ने बताएको छ। धेरै देश र ठाउँमा पहिलो लहर नियन्त्रणमा आएपछि संक्रमणको दर बढेको देखिएको छ। तर ह्वात्तै बढेको यस्तो संक्रमण दोश्रो लहर नहुन पनि सक्छन्।
बीबीसी भन्छ–स्पाइक भनिने अवस्थामा संक्रमण ह्वात्तै बढ्छन् तर लामो समय रहदैनन्। जबकी लहर लामो समय देखिन्छ। अनि त्यसमा केही स्पाइकहरु हुन्छन्।
धेरै वैज्ञानिकहरु कोभिड–१९ को दोश्रो लहर आउनेमा विश्वस्त छन्। त्यो खतरनाक लहर वसन्त वा हिउँदमा हुनसक्ने उनीहरु बताउँछन्। अन्य कोरोना भाइरसहरु चिसो मौसममा छिटो फैलिन्छन्।
कोरोना भाइरस पनि त्यस्तै भएमा स्वास्थ्य प्रणालीलाई ठूलो दबाबमा पार्ने छ। धेरै व्यक्तिहरु जोखिममा छन् र निको भएका व्यक्तिहरु पनि केही महिनामात्रै जोखिमबाहिर हुनसक्छन्। भाइरसले स्वरुप परिवर्तन गरेर पनि नयाँ लहर आउने सम्भावना छ।
यो भाइरसको सयौं परिवर्तित स्वरुप भेटिएका छन् र केहीले महामारीलाई अझ घातक बनाउनसक्छन्। यस्तै परिवर्तित स्वरुपको एउटा भाइरसले मानव कोषमा स्पाइक प्रोटिनलाई टाँस्न सक्ने क्षमता देखिएको छ। यो प्रकारको भाइरसले मानव कोषलाई सजिलै छेड्न सक्ने हुँदा अहिले संसारका धेरै ठाउँमा सजिलै फैलिएको छ । भाइरस कसरी परिवर्तित हुँदै जान्छ भन्ने कुरा अज्ञात नै छ।
तर भविष्यमा हुने परिवर्तनले यसलाई अझ खतरनाक र नियन्त्रण गर्न गाह्रो बनाउनसक्छ। प्रभावकारी खोपले यीमध्ये धेरै समस्यालाई समाधान गर्न सक्छ। तर, यसको उपयुक्त खोप पत्ता लाग्न महिनौं वा वर्षौं पनि लाग्नसक्छ। त्यतिबेलासम्म हामीले आफुलाई थप लहरबाट बचाउन जीवनशैलीमा परिवर्तन गर्नुपर्छ।
खोप कहिले आउला ?
वैज्ञानिकहरु कोभिड–१९ विरुद्धको खोप पत्ता लगाउन प्रयासरत छन्। सामान्यतया एउटा खोप बनाउन वर्षौं लाग्छ। कहिलेकाँही दशकौं पनि लाग्नसक्छ। अहिले १५० वटाभन्दा बढी सम्भावित खोपको विकास भइरहेको छ।
केही परीक्षणहरुले एकदमै उत्साहप्रद परिणाम देखाएका छन्।
थुप्रै सम्भावित खोपले रोगप्रतिरोधी क्षमता विकास गराएको देखिएको छ। कुनै दुष्प्रभावबिना तिनले एन्टीबडी र टी–सेल उत्पादन गराएका छन्। एन्टीबडी प्रतिरक्षा गर्ने प्रोटिन हो, जुन संक्रमणविरुद्ध लड्छ।
कतिपय टी–सेलले संक्रमित कोषहरुलाई मारिदिन्छन् र अन्यले भाइरससँग लड्न उचित एन्टीबडी बनाउन बी–सेललाई सघाउँछन्। तर, कोभिड–१९ विरुद्ध प्रतिरोधी क्षमता कति समयसम्म रहन्छ भन्ने स्पष्ट छैन। -बीबीसीको सहयोगमा