बुटवल–कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या पछिल्लो समयमा तिब्र बनेको छ। हालसम्म प्रदेश ५ मा २८ जना संक्रमितको मृत्यू भइसकेको छ।
आधा जतिको मृत्यू यही भदौको सुरुवातमै भएको छ। भदौ लागेपछि १२ दिनमा मात्र १४ जना संक्रमितले ज्यान गुमाइसकेका छन्। प्रदेशमा दिनहु जसो कोरोना संक्रमणबाट मृत्यु भइरहेको छ।
त्यसै गरी पछिल्लो एक हप्ताकोे बीचमा मात्र कोरोना संक्रमणबाट १० जनाले ज्यान गुमाएका छन्। हप्तादिन भित्रै ज्यान गुमाएका मध्ये शुक्रबार लुम्बिनी मेडिकल कलेज पाल्पामा मृत्यु भएकामा मुटु रोगको समस्या देखिएको थियो। बाँकी सबै ९ जनामा निमोनियाको लक्षण देखा परेको हो।
सुरुवातमा मृत्यु भएका कोरोना संक्रमितमा अरु रोगको लक्षणहरु पनि देखिएको थियो। तर पछिल्लो समयका सबैजसोमा कोरोनाकै लक्षण देखिएको छ।
प्रदेश जनस्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार यही हप्ताका ९ जना सहित मृत्यू भएका १३ जनामा निमोनिया देखिएको छ।
त्यसै गरी ३ जनामा क्यान्सर, २ जनामा जण्डिस, २ जनामा सुगर, एक जनामा प्यारालाइसिस, एक जनामा पित्त थैलीको अपरेसन र एक जनामा मुटुको रोगका कारण पनि कोरोना संक्रमितको ज्यान गएको छ। ४ जना कोरोना संक्रमितको मृत्युको कारण खुलेको छैन।
बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा यो हप्ता मात्र ६ जनाले ज्यान गुमाएका छन्।
ज्यान गुमाएका सबैमा निमोनिया देखिएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए।
‘उहाँहरु सबैमा कोरोना कै निमोनिया थियो–उनले भने ‘खोकी, ज्वरो, स्वास फेर्न समस्या हुने लक्षण देखा परेको थियो। त्यसैले मृत्युको कारण अरु रोग भन्दा पनि कोरोनाकै कारण हो।’
कोरोना विशेष अस्पतालमा खोकी र ज्वरो मात्र आएमा आइसियु बाहेको साधारण आइसोलेसनमै राखेर उपचार गराउने गरिन्छ।
स्वास फेर्न अफ्ठ्यारो भए आइसियुमा सारिन्छ। निकै गम्भीर बिरामीलाई भेन्टिलेटरमा राखिन्छ। तर पछिल्लो समयमा भेन्टिलेटरमा राखिएका बिरामी निको हुने क्रममा कमी आएको डा. सुदर्शन थापाको भनाइ छ।
‘सुरुमा एक दुई जनालाई भेन्टिलेटरमा राखेकालाई पनि निको गराएका थियौं, तर अहिले ज्यान बचाउन सकिएको छैन’–उनले भने।
कोरोना अस्पतालको भेन्टिलेटरमा अहिले पनि २ जना उपचाररत छन्। यो हप्ता ६ जना र साउन महिनामा एक जना सहित बुटवलको कोरोना अस्पतालमा ७ जनाले ज्यान गुमाइसकेका छन्। थप एक जनाको प्रादेशिक अस्पतालमै मृत्यु भएको थियो।
त्यस्तै नेपालगञ्ज मेडिकल कलेजमा ६ जना संक्रमितको मृत्यू भएको छ । बाँकीको प्रदेशकै विभिन्न अस्पताल तथा स्वास्थ्य संस्था, आइसोलेसन तथा क्वारेन्टिन र काठमाडौ, चितवन र भारत लगायतका अस्पतालमा पनि पाँच नम्बर प्रदेशका कोरोना संक्रमितको मृत्य भएको छ।
मृत्यु हुनेमा वृद्धको संख्या कम
कोरोना संक्रमणले वृद्धलाई बढी प्रभावित गर्दछ भनेर स्वास्थ्य मन्त्रालयदेखि स्वास्थ्यकर्मीहरुले पनि बताउँछन्। तर प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक हेर्ने हो भने कोरोना संक्रमणबाट मृत्यु हुनेमा वृद्ध उमेरका व्यक्ति थोरै छन्। कोरोना संक्रमणबाट मृत्यु भएकामध्ये प्रदेश ५ मा ६० वर्ष भन्दा माथिका १० जना रहेका छन्।
४० देखि ६० वर्ष बीचका ९ जना र ४० वर्ष भन्दा मुनिका ८ जनाको मृत्यु भएको छ। एक जनाको उमेर खुलेको छैन। मृत्यु हुनेमा संक्रमणबाट मृत्यू भएकाहरुमा पुरुष २२ जना र महिला ६ जना रहेका छन्।
कोरोना संक्रमणबाट मृत्यु भएकामध्ये सबैभन्दा धेरै रुपन्देहीका ७ जना रहेका छन् । त्यसैगरी बाँकेका ६ जना, कपिलबस्तु र गुल्मीका ३–३ जना, दाङ, पाल्पा र अर्घाखाँचीमा २–२ जना तथा प्युठान, बर्दिया र नवलपरासी पश्चिमका एक–एक जना रहेका छन्। रुकुम पूर्व र रोल्पामा भने कोरोना संक्रमणबाट हालसम्म कसैको मृत्यु भएको छैन।