बुटवल-प्रदेश ५ मा १०२ जना स्वास्थ्यकर्मी कोरोना भाइरसको संक्रमित भएका छन्। कोरोना संक्रमण फैलिएसँगै स्वास्थ्यकर्मीमध्ये शुरुमा कपिलवस्तुकी एक नर्शमा संक्रमण देखिएको थियो।
बैशाख २७ गते शनिवार उनको थ्रोट स्वाब संकलन गरिएकोमा ३० वैशाखमा पोजेटिभ रिपोर्ट आएको थियो। त्यसयता प्रदेश ५ का विभिन्न अस्पतालका १०२ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको प्रदेश ५ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले जानकारी दिए।
उनका अनुसार अधिकांश स्वास्थ्यकर्मीहरु संक्रमणमुक्त भइसकेका छन् भने केही होम आइसोलेशन र केही सरकारी आइसोलेशनमा उपचाररत छन्। सबैको अवस्था सामान्य रहेको छ। कति सक्रिय संक्रमित छन् र कति संक्रमणमुक्त भए भन्ने तथ्यांक भने मन्त्रालयमा छैन।
बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालका ११ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।
बिहीबार मात्रै बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका एकजना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ।