भैरहवा–बुधबार रुपन्देहीमा २५ जना कोरोना भाइरसका संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय ६० पुगेको छ।
संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरु परिक्षणको दायरामा आउने र निजी क्षेत्रबाट पनि समुदायका व्यक्तिहरुले जाँच गराउदा संक्रमितहरुको संख्याय दिनदिनै बढिरहेको छ।
रुपन्देहीमा साँझ ५ बजेसम्म रुपन्देहीका ५ पालिकाका २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले लुम्बिनी टाइम्सलाई जानकारी दिए।
शाहका अनुसार बुटवल उपमहानगरपालिका ६ जना, सिद्धार्थनगरका १६ जना, तिलोत्तमा, देवदह र सियारीका थप १÷१ जनामा संक्रमण देखिएको छ।
आज सबैभन्दा बढी सिद्धार्थनगरमा १६ जना संक्रमित थपिएका छन्। भीम अस्पतालमा गरिएको स्वाब संकलन मध्ये १५ जना र नेशनल प्याथ ल्याबमा गरिएको परिक्षणबाट १ जनामा संक्रमण भएको पुष्टि भएको छ। सिद्धार्थनगर स्वास्थ्य शाखा प्रमुख उमा थापाका अनुसार सिद्धार्थनगरमा देखिएका संक्रमितहरु मध्ये १५ जना थुनुवा हुन् भने १ जना वडा नं. ८ का हुन्।
४० जना थुनुवाहरुको भीम अस्पतालमार्फत स्वाब संकलन गरी परिक्षण गर्दा १५ जनामा संक्रमण भएको तथ्यांक सिद्धार्थनगरमा थपिएको छ। ‘उनीहरुको स्वाब यहाँ संकलन गरिएकाले सबै सिद्धार्थनगरका हुन् वा होइनन् भन्ने पुष्टि भएको छैन’–स्वास्थ्य शाखा प्रमुख थापाले जानकारी दिइन्।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला र नेशनल प्याथ ल्याबबाट आएको रिर्पोट अनुसार थपिएका संक्रमितमध्ये १ महिला र २४ जना पुरुष हुन्।
आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या ७ सय ६० पुगेको छ भने मृतकको संख्या ६ पुगेको छ। जिल्लामा ३४६ जना निको भएर फर्किसकेका छन, ४०८ जना उपचाररत छन्।