भैरहवा–रुपन्देहीमा दैनिक संक्रमितहरुको संख्या बढ्दै गएको छ। समुदाय स्तरमा संक्रमण बढ्दै गएपछि संक्रमितको संख्या दिनदिनै बढिरहेको छ।
रुपन्देहीमा मंगलबार मात्रै ६९ जना संक्रमित थपिएका छन्। थपिएकामध्ये केही अग्रपंक्तिमा रहेर काम गर्ने भएपनि अधिकांश समुदाय स्तरकै नागरिक हुन्।
संक्रमित बढ्दै गएपनि कोरोना जित्नेहरुको संख्या पनि बढिरहेको छ। जिल्लामा हाल सम्म ७ सय ३६ जनामा संक्रमण पुष्टि भए पनि तीमध्ये ३ सय ४६ अर्थात् करबि ४७ प्रतिशतले कोरोनालाई जितिसकेका छन्।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा हाल ३८४ जना सक्रिय संक्रमित छन्। जसमध्ये २६२ जना होम आइशोलेशनमा रहेर उपचार गराइरहेका छन्।
बाँकी १२२ जना संक्रमित मात्र आइशोलेशन अस्पताल र सेन्टरहरुमा उपचाररत छन्। कार्यालयका अनुसार संक्रमितहरुमध्ये भीम अस्पतालमा १, एन्फा भवनमा ३६, कोरोना विशेष अस्पताल धागो कारखानामा ९, योग चिकित्सालय सैनामैनामा २, शंकरनगर स्वास्थ्य चौकीमा ३४, लुम्बिनी प्रादेशिक अस्पतालमा १०, मैनहिया माविको आइशोलेशनमा ४, होटल ग्यालेक्सीमा १२, होटल पिसनाइटमा १४ जना छन्।
रुपन्देहीमा रहेका संक्रमितमध्ये २ जना भेन्टिलेटर सहित १७ जना आइसियूमा रहेका छन्। सबैमा स्वासप्रश्वासको समस्या भएपनि २ जनाको अवस्था गम्भीर भएकोले भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले जानकारी दिए। गिरीका अनुसार लक्षण देखिएका तर सामान्य समस्या भएका २३ जना पनि उपचाररत छन्, सुधार हुने क्रम छ।
कुनै पनि लक्षण र समस्या नभएका २६२ जना संक्रमितहरु होम आइशोलेशनमा छन्। ‘संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्क मै हुनुहुन्छ, कुनै पनि स्वास्थ्य समस्या आए हाम्रो टिमले तत्काल समन्वय गरेर समाधान गर्छ’–स्वास्थ्य कार्यालय प्रमुख गिरीले भने।
होम आइसोलेशनबाट ८ जनाले जिते कोरोना
रुपन्देहीका ३४६ कोरोना संक्रमितले कोरोनालाई जितेका छन्। सामान्य रुघाखोकी सहित कोरोनासँग मिल्दोजुल्दो अन्य कुनै लक्षण नभएका ८ जना संक्रमितहरु घरबाट नै कोरोना सक्रमण मुक्त भएका छन्।
सरकारले पनि पछिल्लो कुनै लक्षण तथा चिन्हहरु नभएका तथा सामान्य लक्षण भएका संक्रमितहरुलाई आ–आफ्नै घरमा आइसोलेशनमा बस्ने सक्ने गरी सुविधा दिएको छ। स्वास्थ्यकर्मीले निरन्तर फोन सम्पर्क गर्ने र स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने गरी मापदण्ड बनाएर होम आइसोलेशनमा बस्न सकिन्छ।
रुपन्देहीका अन्य ३३८ जनाले विभिन्न आइशोलेशन सेन्टर र अस्पतालको उपचारले निको भएका छन्। भीम अस्पतालबाट ५५, एन्फा भवनबाट ६४, कोरोना विशेष अस्पतालबाट २६, सैनामैना चिकित्सालयबाट ३३, शंकरनगर स्वास्थ्य चौकीबाट ३३, हरैया माविबाट ६, विभिन्न पालिकाको क्वारेन्टिनबाट उपचार पाएर १११ र प्रदेश भन्दा बाहिरबाट उपचार पाएर १० जना संक्रमितले कोरोना जितेका छन्।
जिल्लामा करिब २५० बेड कोभिड संक्रमितका लागि तयार छन्। १२२ जनाको उपचार भइरहेको छ। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला संकट व्यवस्थापन केन्द्र रुपन्देहीको बैठकले पनि जिल्ला प्रशासन कार्यालय मार्फत सबै स्थानीय तहमा आइशोलेशन सेन्टरको व्यवस्थापन गर्न आदेश दिएको छ।