भैरहवा–स्वास्थ्य कार्यालय रुपन्देहीले जेठ ८ गते लुम्बिनी सांस्कृतिक नगरपालिकामा क्वारेन्टिन बसेका २७ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको पुष्टि गर्यो। उनीसँगै रुपन्देहीमा संक्रमितको संख्या ३१ पुगेको थियो। यही दिन जेठ ८ मा देशभरि ५ सय १६ जना संक्रमित थिए। तर भदौ ८ मा आइपुग्दा यो संख्या बढेर ६ सय ६७ पुगेको छ।
त्यसबेला देश लकडाउनमै थियो, बजारमा चहलपहल न्यून थियो। अति आवश्यक सवारीसाधनहरु मात्र चलिरहेका थिए, स्वास्थ्यको टिम कोभिड–१९ भाइरसको संक्रमण रोक्न प्रयासरत थियो। लकडाउनकै कारण संक्रमण फैलिइसकेको थिएन।
दैनिक देशबाहिरबाट आएकोमा एकाध क्वारेन्टिन बसेका व्यक्तिहरुमा पोजिटिभ केश देखिएको थियो। जेठ ९ गते गैडहवाको क्वारेन्टिनमा थप ७ जनामा पोजिटिभ देखिएको जानकारी आयो।
त्यसपछि रुपन्देहीमा निरन्तर संक्रमितको संख्या निरन्तर बढिरहेको छ। दैनिक रुपमा पीसीआर रिपोर्ट पोजिटिभ हुने केश बढिरहेका छन्, क्वारेन्टिनमा मात्र सिमित रहेको भाइरस समुदाय स्तरमा पनि विस्तारै फैलिदै गयो।
जेठ १७ गते ५०, जेठ २१ गते ९०, जेठ ३१ गते २१६ जनामा देखिएको संक्रमण एक महिनाको अन्तरालमा असार ८ गते रुपन्देहीमा सो संख्या बढेर २५२ पुग्यो।
परीक्षणको दायरा बढ्दै गयो। भारत र तेस्रो मुलुकबाट नेपाली आउने क्रम पनि रोकिएन बढ्दै गयो। स्थानीय तह क्वारेन्टिन व्यवस्थापनमा लागेपनि संक्रमित पत्ता लगाएर समुदायमा संक्रमण फैलिन रोक्न चुके।
साउन ८ मा सो संख्या बढेर ३२७ पुग्यो। क्वारेन्टिनमा सिमित रहेको कोरोना भाइरसको संक्रमण, समुदाय स्तरमा फैलिएको पुष्टि भयो।
स्वास्थ्य कार्यालयको टिम, स्थानीय तह र आम समुदायले सर्तकता अपनाउँदा पनि संक्रमण रोकिएन।
साउन महिनाको अन्तिम दिन ३२ गते सबैभन्दा बढी ५६ जनामा संक्रमण देखियो। सो दिन बुटवल उपमहानगरपालिकाका २३ जना, सिद्धार्थनगरका १२ जना, तिलोत्तमाका ११, सियारीका ४, ओमसतियाका १, देवदहका १, कञ्चनका १ र मायादेवीका ३ जना गरी ८ पालिकामा एकै दिन ५६ जना थपिएका थिए।
त्यो दिन नै जिल्लामै सबैभन्दा धेरै संक्रमित थपिए। त्यसदिन थपिएकासँगै रुपन्देहीमा कुल संक्रमित ४९४ पुगे।
भदौ महिनाको सुरुवातसँगै रुपन्देहीमा दैनिक १५ देखि २० जनाको हाराहारीमा संक्रमित थपिएका छन्। रुपन्देहीमा समुदायमा संक्रमण फैलिइसकेको छ।
यसरी जेठ ८ गतेदेखि भदौ ८ गतेसम्म ३ महिनाको अवधिमा संक्रमितको संख्या करीब २२ गुणाले बढेर ६ सय ६७ पुगेको छ।
मंगलबार दिउसोसम्मको तथ्यांकअनुसार रुपन्देहीमा संक्रमितको संख्या ६ सय ६७ पुगेको छ भने मृतकको संख्या ६ पुगेको छ। जिल्लामा ३४५ जना निको भएर फर्किसकेका छन्, ३१७ जना उपचाररत छन्।
संक्रमितहरुसँगको सम्पर्कको ट्रेसिङ, समुदायस्तरमा ठाउँठाउँमा गरिएको रेण्डम स्वाब संकलन, अग्रपक्तिमा खटिएका व्यक्तिहरुमा गरिएको परीक्षणबाट संक्रमणका केशहरु नियमित रुपमा बढिरहेका छन्।
सँगसँगै परीक्षणको दर पनि बढेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मात्रै हुँदै आएकोमा भैरहवाको गहुबालीमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला, बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल स्थित नेशनल प्याथ ल्याबबाट पनि भइरहेको छ।
नेशनल प्याथ ल्याबले सशुल्क सरदर हाल १ सय जनाको स्वाब परीक्षण गरिरहेको छ। हाललाई २५० देखि ३०० सय जना सम्म दैनिक परीक्षण गर्न सक्ने गरी ल्याब सञ्चालित भएपनि २४ घण्टामा रिर्पोट दिने गरी प्याथ ल्याबले काम गरिरहेको छ।
त्यस्तै भैरहवा स्थित प्रादेशिक प्रयोगशालाले पनि दैनिक २५० देखि ३०० र लुम्बिनी प्रादेशिक अस्पतालले २०० को हाराहारीमा दैनिक स्वाब परीक्षण गरिरहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले बताए।
मंगलबारसम्म जिल्लाभर ३ सय १७ बढी सक्रिय संक्रमित छन्, जसमध्ये करीब २ सय भन्दा बढी होम आइशोलेशनमा छन्।
‘संक्रमण बढ्दै गएको छ, लकडाउनले ट्रान्समिसन नियन्त्रणमा आएर संक्रमितहरु घटेनन भने भयावह हुन सक्छ’–गिरीले भने–१४ दिनको लकडाउनले कन्ट्रोल हुन्छ भन्ने अनुमान हो परीक्षणको दर पनि बढेको छ, ल्याबमा जनशक्ति कम एक्कासी स्वाब संकलन बढेकोले रिर्पोटमा केही ढिलाई आएपनि परीक्षण बढेको छ, जिल्लामा आइसियु भेन्टिलेटर सहितको आवश्यकतालाई मध्यनजर गर्दे वृद्धिका लागि सरोकारवालालाई अवगत गराएका छौं।’
स्वास्थ्य कार्यालय अहिले कोभिडमा केन्द्रित भई स्वाब परीक्षण गर्ने, संक्रमितलाई आइशोलेट गर्ने, रिपोर्टिङ्ग गर्ने, क्वारेन्टिनमा रहेकाको परीक्षण गर्ने र संक्रमितको ट्रेसिङ्ग गरी सम्पर्कमा ल्याउने जस्ता काम गरिरहेको उनले बताए।
‘हामीले ल्याबमा आरएनए एक्सटेन्सन गर्ने प्रक्रिया समेत बढाएका छौं, उपकरणहरु समेत हामीसँग छ, केही थप गरी अटोमेटिक गराउने र जनशक्ति थपेर दैनिक ७ देखि ८ सय सम्म परीक्षण दर गर्ने योजना छ’–स्वास्थ्य कार्यालय प्रमुख गिरीले लुम्बिनी टाइम्ससँग भने।