अर्घाखाँची-तीन जना स्वास्थ्यकर्मी, एक कार्यालय प्रमुखसहित १२ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि अर्घाखाँची अस्पतालको इमर्जेन्सी र प्रसूतिबाहेक अन्य सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।
जनस्वास्थ्य र अस्पतालका स्वास्थ्यकर्मीको स्वाब परीक्षणको रिपोर्ट नआउँदासम्म सेवा बन्द हुने अर्घाखाँची अस्पताल प्रमुख डा. कपिल गौतमले जानकारी दिए।
जनस्वास्थ्य कार्यालयमा कार्यरत तीन स्वास्थ्यकर्मी र एक कार्यालय प्रमुखलाई संक्रमण देखिएपछि आइतबार ६३ जनाको स्वाब संकलन गरिएको थियो।
स्वास्थ्यकर्मीसँग सम्बन्धित व्यक्ति र कार्यालय प्रमुख रहेको ७ जना कर्मचारीसहित ६३ जना र सोमबार अर्घाखाँची अस्पताल प्रमुख गौतमसहित ५ जना डाक्टर र अन्य स्वास्थ्यकर्मीको गरी २३ जनाको स्वाब संकलन गरी पठाइने भएको छ।
अस्पतालको आकस्मिक र प्रसूति सेवा सुचारु गर्न एक साताअघि पीसीआर रिपोर्ट नेगेटिभ आएका ३ जना डाक्टर र चार जना स्वास्थ्यकर्मीले काम गर्ने गौतमले बताए। उनले आफुसहित ५ जना डाक्टर रिपोर्ट नआउँदासम्म आइसोलेसनमा बस्ने बताए।