काठमाडौं-नेपालमा चीन, रुस र बेलायतले बनाएको कोरोना विरुद्धको खोपको परीक्षण हुने भएको छ। खोप परीक्षणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई स्वीकृति दिएको हो।
तेस्रो चरणमा पुगेका खोपको परीक्षण गर्न कम्पनीहरु इच्छुक भएकाले परीक्षणको लागि प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले बताए।
स्वीकृति पाएसँगै परिषद्ले प्रक्रिया अगाडि बढाएको छ। परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले विश्वमा तेस्रो चरणमा पुगेको खोप नेपालमा परीक्षणका लागि अध्ययन थालेको जानकारी दिए।
चीनको होङ्सी ग्रुप, बेलायतको अक्सफोर्ड ग्रुप र रुसी कम्पनीलगायत सात कम्पनी नेपालमा खोपको परीक्षण गर्न इच्छुक देखिएको उनले बताए।
खोपको परीक्षण जनावर र मानिसमा गर्ने तयारी छ। झण्डै डेढ दुई सय मानिसमा खोपको परीक्षण गर्ने तयारी भए पनि प्रक्रियाकै चरणमा रहेकाले निश्चित भइनसकेको डाक्टर ज्ञवालीले बताए।
खोप परीक्षणका लागि तयारी भए पनि प्रपोजल तयार हुनै बाँकी छ। परीक्षण गर्ने व्यक्ति र खर्चबारे टुंगो लागि नसकेको परिषद्का सदस्य सचिव डाक्टर ज्ञवालीले बताए।
खोपको परीक्षणको लागि बिरामीको सबै क्लिनिकल रेकर्ड, औषधिको प्रति असर तथा औषधिको रेकर्ड दुरुस्त राखी परिषद् तथा स्वास्थ्य मन्त्रालयमा पठाउन भनिएको छ।
विश्वका विभिन्न देशले अहिले कोरोना विरुद्ध बनेको खोपको तेस्रो चरणमा परीक्षणको तयारी गरिरहेका छन्। रुसमा भने तेस्रो चरणको परीक्षण विना नै खोपलाई स्वीकृति दिएको भन्दै स्वास्थ्य विज्ञले खोपको प्रभावकारितामा प्रश्न उठाएका छन्।
मापदण्ड पूरा गरेर मात्रै परीक्षण हुन्छ : मन्त्रालय
नेपालमा हुन लागेको कोरोना भाइरसविरुद्धको खोप परीक्षणको विरोध नगर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ।
चीन, रुस र बेलायतले बनाएको कोरोनाविरुद्धको खोपको परीक्षण गर्ने तयारी भएपछि यसको विरोध सुरु भएको भन्दै मन्त्रालयले मापदण्ड पालना गरेर मात्रै परीक्षण गरिने हुँदा ढुक्क हुन आग्रह गरेको हाे।
नेपाल अनुसन्धान परिषद् र विश्वव्यापी मान्यताको आधारमा स्वतःस्फूर्त रुपमा खोपको अध्ययन र परीक्षणमा सामेल हुन चाहनेलाई मात्रै सहभागी गराइने हुँदा यसमा भ्रम नराख्न मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमको सुझाव छ।