बुटवल । लुम्बिनी प्रदेशका दुई लाख ९५ हजार ८०७ जना बालबालिकालाई पोलियोे रोगविरुद्धको इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आइपिभी) खोप दिइने भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत अभियानका रुपमा जेठ १३ गतेदेखि २६ गतेसम्म १२ वटै जिल्लामा खोप अभियान सञ्चालन गर्न लागिएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खोप कार्यक्रमका लागि ५ हजार ३२८ खोप केन्द्र, ५ हजार ११४ स्वास्थ्यकर्मी र ९ हजार ६५३ जना स्वास्थ्य स्वयंसेवक परिचालित हुने स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका खोप फोकल पर्शन कुमार थापाले जानकारी दिनुभयो । खोप अभियानलाई प्रभावकारी बनाउन सबै जिल्लाका पालिका, अस्पताल, स्वास्थ्य चौकीसँग आवश्यक समन्वय गरिसकिएको र सबै तयारी पूरा भएको उहाँले बताउनुभयो । देशलाई पोलियोमुक्त गराउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । खोप अभियानमा नवलपरासी (पश्चिम) मा २१ हजार ८७७, रुपन्देहीमा ७४ हजार ६४२, कपिलवस्तुमा ५२ हजार २८६, पाल्पामा ९ हजार ४६७, गुल्मीमा १० हजार ९४५ जना बालबालिकालाई आइपिभी खोप दिइने छ ।
यसैगरी अर्घाखाँचीमा ७ हजार ५७५, प्यूठानमा ११ हजार ५६९, रोल्पामा १२ हजार ७, दाङमा ३७ हजार ७५५, बाँकेमा ३५ हजार ७०५, बर्दियामा १८ हजार ९३९, रुकुम (पूर्व) मा ३ हजार ५० जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ ।
विसं २०७३ वैशाखदेखि ०७५ असोजभित्र जन्मिएका बालबालिकालाई यो अभियानमा खोप लगाइने छ ।
सन् २०१६ देखि २०१८ को बिचमा उक्त आइपिभी खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए । सो अवधिमा खोपबाट वञ्चित बालबालिकालाई पोलियोको जोखिम रहिरहने भएकाले छुटेका बालबालिकालाई लक्षित गरी खोप लगाउने अभियान सञ्चालन गरीएको हो । यस अभियानका लागि निर्धारण गरिएको उमेर समूहका अधिकांश बालबालिका विद्यालयमा अध्ययन गर्ने भएकाले खोप केन्द्र समेत विद्यालयलाई बनाइएको छ ।
विद्यालय नजाने बालबालिका र विद्यालयमा खोप लगाउन छुट भएका बालबालिकाका लागि पायक पर्ने स्थानमा सञ्चालन हुने बाह्य खोप केन्द्र तथा अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा सञ्चालन हुने खोप केन्द्रमार्फत खोप लगाइने छ ।
मुखबाट खुवाइने पोलियोविरुद्धको खोप ओपिभीको परिपूरकका रुपमा विसं २०७१ असोजदेखि नेपालमा सुईबाट लगाइने पोलियोविरुद्धको खोप आइपिभी लगाउन सुरु गरिएको थियो । पाँच वर्षमुनिका बालबालिका जसको प्रतिरोध क्षमता शक्तिको राम्रो विकास भइसकेको हुँदैन तिनमा पोलियोको जोखिम बढी हुन्छ । यस्तै पोलियो लागेमा पक्षघातसम्मको गम्भीर जोखिम हुनसक्छ ।
‘पोलियो लाग्नुको मुख्य कारक ‘पोलियो’ नामक भाइरस नै हो । यो मुख्यरुपमा व्यक्ति–व्यक्तिबीचको सम्पर्कद्वारा फैलिन्छ । संक्रमित व्यक्तिको दिसा–पिसाब समावेश खाना वा पेय पदार्थको सेवनबाट फैलिने यो रोगले मुख्य गरी पाँच वर्षमुनिका बालबालिकालाई असर गर्ने चिकित्सकको भनाइ छ ।
पोलियोको भाइरस घाँटी र आन्द्रामा हुन्छ र यो सामान्यतः एक व्यक्तिबाट अर्कोमा सङ्क्रमित व्यक्तिको दिसाबाट फैलन्छ । सिँगान, थुक र ¥यालबाट पनि यो रोग फैलन सक्छ । जन्मदेखि एकपटक पनि पोलियो खोप नलिएका वा पोलियो थोपा (खोप) पूरा मात्रामा नलिएका बालबालिकामा यस रोगको उच्च जोखिम हुन्छ । नियमिततर्फ पोलियोविरुद्ध छ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र नौ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ ।
विश्वबाट पोलियो निवारण गर्ने उद्देश्य पूरा गर्न यो खोप अभियान सञ्चालन गर्न थालिएको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले यो अभियानमा पोलियो रोगबाट बचाउन देशभरिका करिब १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ लगाइने जानकारी दिनुभयो ।
पोलियो रोग लागिसकेपछि उपचार सम्भव नभएकाले रोग नलाग्दै खोप लगाउनु पर्नेमा सबै नागरिक सचेत हुनुपर्ने उहाँले बताउनुभयो । पोलियो भएकामध्ये ३ प्रतिशत बालबालिकालाई पक्षघात हुने र त्यसको उपचार नभएकाले संक्रमण हुनबाट जोगाउन बालबालिकालाई खोप दिने गरिन्छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।