बुटवल-स्वास्थ्य मन्त्रालयको दैनिक कोरोना अपडेटमा सोमबार डा जागेश्वर गौतमले भने-रुपन्देहीमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण ४ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टा भनेको मन्त्रालयको ब्रिफिङ भएको समयको २४ घण्टा। मन्त्रालयले हरेक दिन दिउसो ४:२० बजेतिर ब्रिफिङ गर्छ। त्यसको लागि मन्त्रालयले अघिल्लो दिन दिउसो २ बजेदेखि सोही दिनको २ बजेसम्मको तथ्यांक संकलन गर्छ।
मन्त्रालयले भनेअनुसार रुपन्देहीमा मृत्यु हुनेहरुको अरु विवरण ठीक छ। तर समय गलत छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबार नभनेर मृत्यु हुने दिन खुलस्त भनेको भए अलमल हुने थिएन।
रुपन्देहीकी ६७ वर्षीया महिला र ३८, ५३ र ५४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।
तर कहिले ?
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोमबार कोरोना भाइरसको संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले सोमबार कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको विवरण नरहेको बताए।
तपाइँलाई थाहा हुनुपर्ने कुरा-जिल्लामा जहाँसुकै मृत्यु भएपनि त्यसको तथ्यांक जिल्ला स्वास्थ्य कार्यालय, अन्यत्र मृत्यु भएको भए सम्बन्धित स्थानीय तह, सम्बन्धित प्रदेश सरकारको स्वास्थ्य हेर्ने मन्त्रालय, जिल्ला प्रशासन कार्यालयमा जान्छ।
अब हेर्नुस्,
भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत ५४ वर्षीय पुरुषको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु आइतबार भएको हो।
बुटवल निवासी उनको आइतबार दिउँसो मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पुष्टि गरेकी छिन्।
त्यसबाहेक एकजनाको मृत्यु शनिबार भएको थियो। शनिबार उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भयो। आइतबार उनको दाहसंस्कार गर्दैगर्दा रिपोर्ट आयो। तर उनको मृत्यु त शनिबार नै भएको थियो।
अरु २ जनाको मृत्यु पनि आइतबार नै भएको थियो। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको धागो कारखानास्थित कोरोना अस्पतालमा उपचाररत रुपन्देही समरीमाइ गाउँपालिका २ का ३८ वर्षीय पुरुष र बुटवल १ की ६७ वर्षीया महिलाको मृत्यु भएको थियो। यो पनि आइतबार नै थियो। यसको पुष्टि लुम्बिनी प्रादेशिक अस्पतालले गरेको थियो।
हेर्नुस् समाचार-रुपन्देहीका थप २ जना कोरोना संक्रमितको मृत्यु
अर्का एकजनाको मृत्यु भएको समाचार-
शव जलाउँदै गर्दा कोरोना पुष्टि, दाहसंस्कारमा सहभागी भागाभाग, मलामीलाई होम क्वारेन्टिन बस्न आग्रह
यी तथ्यांकहरु संकलन गरेर मन्त्रालय पठाउन र मन्त्रालयले ती निकायबाट तथ्यांक लिन ढिलाइ भएकोले यी सबै तथ्यांक मन्त्रालयले सोमबार भन्नुपर्यो। त्यसरी भन्नेक्रममा फरक परेको हो।
यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तव भन्छन्-पत्रकार सम्मेलनको लागि दिउसो २ बजे नै सामग्रीहरु तयार पार्ने गरेकाले तथ्यांकमा घटबढ भएको हुनसक्छ। ‘हामीले दुई बजेभित्रै प्रेस ब्रिफिङमा चाहिने विवरण एकीकृत गर्दछौं–उनले भने–त्यसैले तथ्यांकमा यताउता भएको हुनसक्छ।'
यसबारे लुम्बिनी टाइम्समै पनि केही अघि एउटा समाचार प्रकाशित भएको थियो।
प्रदेश ५ र संघीय मन्त्रालयको कोभिड–१९ ब्रिफिङमै फरक–फरक तथ्यांक, कसको पत्याउने ?
यो समाचार पढ्नुभयो भने पनि यहाँले तथ्यांकको अलमल कस्तो रहेछ भन्ने थाहा पाउनुहुन्छ।
अनि नि अर्को कुरा, तपाइँलाई संक्रमितको संख्या पनि स्वास्थ्य मन्त्रालयको एउटा र जिल्ला स्वास्थ्य कार्यालयको अर्कै आएको पनि पाउनुभएकै छ। त्यो पनि यस्तै समस्या हो।