बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अगाडि बढेको अत्याधुनिक संरचनासहितको अस्पताल भवन निर्माणप्रति चासो देखाउनुभएको छ ।
रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पौडेलले समयमै आयोजना सक्ने गरी काम गर्न प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई आग्रह गर्नुभएको छ । सोमबार अस्पतालको निरीक्षणपछि आयोजनाको बारेमा जानकारी लिंदै पौडेलले कुनै पनि बहानामा आयोजना सम्पन्न गर्ने काममा ढिलाई नगर्न सचेत गराउनुभयो ।
लुम्बिनी प्रादेशिक अस्पतालमा ६ अर्ब १८ करोड ७५ लाखको लगानीमा नयाँ १० तले एक हजार दुई सय शैयाको आधुनिक अस्पताल भवन निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ । पाँच वर्षभित्र यो आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ‘यो वा त्यो बहानामा आयोजना निर्माणमा ढिलाई गर्नु हुँदैन, समयमा सम्पन्न गर्ने र गुणस्तरीय काम गर्ने गरी आवश्यक परेको समयमा हामी भोलन्टियरली खटिन तयार छौं ।’ उहाँले भन्नुभयो ।
यस क्षेत्रका उद्योगी व्यवसायी, सामाजिक व्यक्तित्व, प्रदेशसभाका सदस्यलगायत पार्टीका नेता कार्यकर्ताको साथमा अस्पताल पुग्नुभएका पौडेलले यो जनताको जीवनसँग जोडिएको आयोजना भएकाले समयमै काम सुरु गर्न पनि आग्रह गर्नुभयो । ‘५ वर्षे अवधिको लागि क्यालेण्डर बनाएर काम गर्नुस्, तोकिएको अवधिभित्रै भवन निर्माणसहितका संरचना तयार होस्, त्यसो नभए नागरिकस्तरबाट प्रश्न उठ्छ, प्रश्न उठ्ने काम कतैबाट पनि नहोस’ पौडेलले भन्नुभयो ।
रुपन्देहीमा यति ठूलो बजेट आकारको आयोजना अरु कुनै नभएको भन्दै पुर्व अर्थमन्त्री पौडेलले प्रदेशले अगाडि बढाएको यो आयोजनालाई संघीय सरकारबाट आवश्यक पर्ने सहयोगका लागि समेत आफूले पहल गर्ने बताउनुभयो । ‘प्रदेश सरकारले पनि यो आयोजना त्यत्तिकै अगाडि बढाएको होइन, यसका लागि ठूलो पापड बेलिएको छ, यसमा कहीं कतैपनि चलखेल नगरीकन काम सम्पन्न होस् भन्ने यहाँका नागरिकको चाहना छ’ उहाँले भन्नुभयो ।
आफूले यस अस्पतालमा कहिले बिरामी बनेर र कहिले कुरुवा बनेर दिनरात बिताएको स्मरण गर्दै पौडेलले यो आयोजना आफ्नो लागि सर्वाधिक सरोकारको आयोजना भएको पनि बताउनुभयो । अस्पतालको संरचना निर्माणका लागि ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार एक सय ९९ रुपैयाँ २३ पैसा बराबरको लागत अनुमान गरिएको थियो । निर्माण कम्पनीले ६ अर्ब १८ करोड ७५ लाखमा निर्माण सुरु भएको पाँच वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरेको छ ।