बुटवल-बुटवलको तिनाउ अस्पतालमा एक जना २९ वर्षकी युवतीको एपेन्डिक्सको शल्यक्रिया गर्नुपर्ने थियो।
सरकारले तोकेको कोभिड १९ को मापदण्डअनुसार शल्यक्रिया गर्नुपर्ने बिरामीको पिसिआर परीक्षण गर्नुपर्ने हुन्छ। शल्यक्रियाअघि पिसिआर परीक्षणको लागि स्वाब प्रयोगशालामा पठाइयो। तिनाउ अस्पतालका सर्जन डा. सञ्जय कुमार सहितको टिमले शल्यक्रिया गर्यो।
शल्यक्रियाको भोलिपल्ट बिरामीको पिसिआर रिपोर्ट पोजेटिभ आयो। बिरामीको शल्यक्रिया गर्दा आफूहरु त्रसित नभएको डा. सञ्जय कुमारले बताए ‘चिकित्सा पेशा हो, अस्पतालमा जुनसुकै बेला बिरामीलाई भेटिरहनुपर्छ, कतिबेला कोरोनाले भेट्छ भन्न सकिन्न’–उनले भने–‘मानसिक रुपमा सधैं तयार भएर बस्नुपर्दछ।’
सामान्यता, पीसीआर रिपोर्ट कुरेर मात्रै शल्यक्रिया हुन्छ। तर ती युवतीको शल्यक्रिया गर्दा रिपोर्ट कुर्ने अवस्था नभएको डा. सञ्जयले बताए। ‘इमरजेन्सी केश थियो। तुरुन्त शल्यक्रिया गर्नुपर्ने थियो। रिपोर्ट पर्खनुभन्दा बिरामीको ज्यान बचाउन तिर लाग्यौं–उनले भने–पूरा पिपिइ लगाएर शल्यक्रिया गर्न गाह्रो हुन्छ, सक्दो सुरक्षा अपनाएर शल्यक्रिया सफल पार्यौं।’
एपेन्डिक्सको शल्यक्रिया गर्नुपर्ने बिरामीमा कोरोनाको कुनै लक्षण देखिएको थिएन। ‘कोरोनाको पूर्व अनुमान थिएन। शल्यक्रिया गर्नुपर्ने बिरामीको पिसिआर गराउनै पर्ने हुँदा पिसिआर गरिएको थियो–उनले भने–श्रीमानश्रीमती सँगै बस्नुहुन्थ्यो, तर श्रीमानमा कोरोना देखिएको छैन।’ ती युवतीको शल्यक्रिया पछि पनि अवस्था सुधारात्मक नै रहेको डा. सञ्जयले बताए। शल्यक्रियापछि डा. सञ्जय कुमार लगायत चिकित्सकको टोली अहिले आइसोलेसनमा छन्। पिसिआर रिपोर्ट नेगेटिभ आएपछि मात्र उनीहरु पुनः काममा फर्किने छन्।
यो घटनामा शल्यक्रिया गरेपछि कोरोना भाइरसको संक्रमण पुष्टि भयो, तर कतिपय केशहरुमा पीसीआर गरेर रिपोर्ट पोजेटिभ आएपछि शल्यक्रिया पनि भएका छन्।
शनिबार मात्र बाँकेको कोहलपुर मेडिकल कलेजमा बुटवलबाट रिफर भएर गएकी महिलाको शल्यक्रिया गरेर प्रसुति गराइएको छ। ती महिलामा कोरोना संक्रमण पुष्टि भएर लुम्बिनी प्रादेशिक अस्पतालले भर्ना लिएको थिएन।
कोहलपुर मेडिकल कलेजका चिकित्सकहरु संक्रमितको शल्यक्रिया गर्ने पूर्ण मानसिक तयारीका साथ सतर्क भएर शल्यक्रिया वार्डमा पसे। मेडिकल कलेजका स्त्री तथा प्रसुति विभागका प्रमुख डा.विनोद महाशेठको नेतृत्वमा शल्यक्रिया भयो। महाशेठले बाहिरबाट सुपरिवेक्षण गरे र शल्यक्रियामा प्रत्यक्ष रुपमा प्रसुतिकै चिकित्सक डा. रामविश्वास रायको टोली खटियो।
कोरोना संक्रमित महिलाको शल्यक्रिया गर्नु आफैमा ठूलो जोखिम थियो। त्यसको लागि निकै सचेतना अपनाएको डा. रायले बताए। ‘चिकित्सा पेशामा लागेपछि म सक्दिन गर्दिन भन्न हुँदैन, कोरोना भन्दा अरु कारणले मान्छेलाई मर्न दिन हुँदैन भनेर हाम्रो विभागमा यस अघि पनि छलफल भएको थियो–उनले भने–पहिले पनि संक्रमितको शल्यक्रिया गरेको अनुभव भएकाले सकिन्छ भनेर मनोबल उच्च पार्यौं।’
नेपालगञ्ज मेडिकल कलेजमा कोरोना संक्रमितको योसँगै चौथो शल्यक्रिया थियो। यस अघि दुइ वटा प्रसुति र एउटा अर्को बिरामीको शल्यक्रिया भइसकेको छ। ‘यस्तो केश आइपर्यो भने के गर्ने भनेर पहिले पनि ननकोभिड बिरामीमा पनि अभ्यास गरेका थियौं–उनले भने–त्यहीअनुसार सुरक्षा सामग्रीको प्रयोग गर्यौं, एन नाइन्टी फाइबका दुई वटा माक्स, ५ वटा पञ्जा लगायौं, तलदेखि माथिसम्म छोपिने गरी पीपीई लगाएर शल्यक्रिया गर्यौं।’
संक्रमित गर्भवती बिरामीमा पहिले पनि दुईवटा शल्यक्रिया गरेकाले थप जोखिम रहेको र सफलतापूर्वक सम्पन्न गरेको डा. रायको भनाइ छ। ‘७ वर्ष अघि शल्यक्रियाबाटै पहिलो डेलिभरी भएको रहेछ, बीचमा हर्नैयाको शल्यक्रिया गर्नुभएको रहेछ, शल्यक्रिया गर्दा बाहिरै आन्द्रा आउन सक्ने, छालासँग टाँसिएर बस्न सक्ने भएकाले उच्च जोखिम थियो–उनले भने–शल्यक्रिया कक्षमा हामी ६ जना थियौं। हर्नैयाको कारण कुनै समस्या आउँछ कि भनेर बाहिर त्यससम्बन्धी चिकित्सकको टोली तयारी अवस्थामा थियो, तर सहज तरिकाले शल्यक्रिया भयो।’
संक्रमित महिलाले छोरीलाई जन्म दिएकी छन्। जन्मेको शिशुको पनि पिसीआर परीक्षण हुने छ।
शल्यक्रिया भएकी ती महिला अस्पतालमा बस्दासम्म उनलाई डा. रायले नै हेर्ने जिम्मेवारी छ। त्यसको लागि उनी पिपीइ लगाएरै हेरचाहमा जानेछन्। तर त्यो अवधिभर उनले अस्पतालको अरु काम भने गर्न पाउने छैनन्।
‘अहिले हामी क्वारेन्टिनमै छौं, अब पिसिआर टेष्ट गरेर रिपोर्ट नेगेटिभ आएपछि मात्र नियमित काममा जान्छौं’–डा. रायले लुम्बिनी टाइम्ससँग टेलिफोनमा भने।
गुल्मी जिल्ला अस्पतालमा पनि पीसीआर पोजेटिभ नआएपनि आरडिटी पोजेटिभ आएका बिरामीको शल्यक्रिया गरिएको छ।
कोरोना संक्रमणको सम्भावना नै देखेर प्रसुति सेवाको लागि गर्भवती महिलाको शल्यक्रिया गरिएको थियो।
‘३ जना आरडिटी देखिएका महिलाको शल्यक्रिया गरेर डेलिभरी गराएका थियौं। संक्रमित नै सोंचेर शल्यक्रिया गरेको हो–अस्पतालका सर्जन समेत रहेका मेडिकल सुपरिटेन्ट डा. उत्तम पाच्याले भने–पछि रिपोर्ट नेगेटिभ आएको थियो।’
शल्यक्रिया गरेकीमध्ये एक महिलामा ज्वरो लगायतका लक्षण देखिएपछि बुटवल रिफर गरिएको थियो।
तर बुटवलमा उनको भर्ना नलिएपछि उनी फर्किएर गुल्मी गएकी थिइन्। पछि पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो।
उनको स्वास्थ्यमा पनि सुधार आयो। गर्भवती महिलामा संक्रमण देखिएमा आफूहरुले जिल्ला अस्पतालमै शल्यक्रिया गर्नसक्ने डा. पाच्याले बताए। ‘पटकपटक हामीले प्रयास गरेका छौं, पक्कैपनि सक्छौं’–उनले भने।