बुटवल । गुल्मीको धुर्कोट गाउँपालिकाले १५ शैयाको आधारभूत अस्पताल सञ्चालन गरेको छ । अस्पतालको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले उद्घाटन गर्नुभयो । सोही अबसरमा बोल्दै स्वास्थ्यमन्त्री खनालले संबिधानमा सुनिश्चत गरेको आधारभुत स्वास्थ्य सेवा स्थानिय तहसम्म पुराउने लक्ष्यसहित सरकार अघि बढेको बताउनु भयो।
उहाँले अस्पतालहरूमा उपकरण, भौतिक पूर्वाधार र जनशक्तिको संयोजनबाट मात्रै स्तरिय उपचार सेवा प्रदान गर्न सकिने बताउनु भयो ।
आबश्यक जनशक्तिको लागी प्रदेश मन्त्रालयले आह्वान गरेको प्राविधिक जनशक्तिमा दर्खास्त दिन नै नआउँदा समस्या परेको बताउनु भयो ।
समय समयमा थप गरिएका सेवालाई निरन्तरता दिनुपर्नेमा जोड दिदै स्वास्थ्य मन्त्री खनालले लहडको भरमा नभई आवश्यक्ता र दिगो पनको सुनिश्चिता हुने गरि योजनाबद्ध ढंगले काम गर्नुपर्ने बताउनु भयो । उहाले स्थानिय तहलाई उपकरण तालिम जनसक्ती समेत उपलब्ध गराउन सरकार तयार रहेको बताउनु भयो।
स्वास्थ्य मन्त्रालयका सचिब डाक्टर जनार्दन पन्थीले गुणस्तरीय सेवा दिन निर्देशन दिनु भयो।
धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रबाट १५ शैया अस्पतालको लागि आवश्यक सबै प्रबन्ध गरेपछि सेवा प्रारम्भ गरिएको गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताउनुभयो । नेपालमै अब्बल धुर्कोट गाउँपालिकाले स्वास्थ्यमा पनि त्यस्तै अब्बल सेवा दिएको र यसलाई निरन्तरता दिने बताउनु भयो। गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ज्ञानुराम पन्थीले गाउँपालिको अबस्था पालिकाले लिएको नीति तथा भैरहेको कामको बारेमा जानकारी गराउनु भएको थियो।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य धनेन्द्र कार्की रेसुङ्गा नगरपालिका का प्रमुख खिलध्वज पन्थी मदाने गाउँपालिका, मालिका गाउँपालिका, इस्मा गाउँपालिका, मालारानी गाउँपालिकाबाट जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृतसहितका जनशक्ति पहिलेदेखि नै छन् । ओपिडी, एक्सरे, ल्याब, माइनर अप्रेसन, स्वास्थ्य बिमासहित २४ सै घन्टा इमर्जेन्सी सेवा, बर्थिङ तथा एम्बुलेन्सले सेवा प्रदान हुने धुर्कोट गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम खनालले जानकारी दिनुभयो । धुर्कोट गाउँपालिकामा अब आधारभूत अस्पतालसहित ६ स्वास्थ्यचौकी, दुई सामुदायिक स्वास्थ्य इकाइ र दुई वटा आयुर्वेद औषधालय रहेका छन् ।
कार्यक्रममा आधारभूत अस्पताललाई विभिन्न समयमा सेवा दिनु भएका स्वास्थ्यकर्मी तथा कर्मचारी र जग्गा दातालाई सम्मान गरिएको थियो ।