काठमाडौं । चीनमा बालबालिकामा देखिएको कडा खालको निमोनिया नेपालमा पनि फैलन सक्ने सम्भावना भएकाले रोकथामका लागि तयारी अवस्थामा रहन सरकारले अस्पतालहरुलाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निमोनियाको रोकथाम र उपचारका लागि अस्पतालहरुलाई उच्च सतर्कतासाथ तयारी अवस्थामा रहन भनिएको बताउनुभयो । उहाँका अनुसार रेस्पिरेटरी सिन्सिटिअल भाइरस अर्थात् श्वासप्रश्वासमा असर गर्ने भाइरसले गर्दा चीनका बालबालिकामा कडा खालको निमोनिया देखिएको छ ।
कोरोना भाइरस जस्तै सर्ने डरले नेपालले यो रोगको उपचार र रोकथाममा लागि सबै निकायलाई सचेत गराइसकेको उहाँले जानकारी दिनुभयो । डा। बुढाथोकीले चीनबाट प्रवेश गर्ने सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कमा चेक तथा जाँचमा पनि कडाइ गरिएको बताउनुभयो । चीनमा सङ्क्रमण देखिएको लामो समय भैसकेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। बुढाथोकीले नेपालमा यसअघि देखिएकाभन्दा फरक र लामो समयसम्म निमोनियाका लक्षण देखिएका बिरामीको नमुना सङ्कलन गर्न पनि सबैलाई निर्देशन दिइएको बताउनुभयो । इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले यो खालको निमोनिया रोकथाम तथा उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, जनस्वास्थ्य प्रयोगशाला, कान्ति बाल अस्पतालसँग छलफल गरिसकेको छ ।
महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा। हेमन्त ओझाले सम्भावित जोखिम कम गर्नका लागि सरोकारवाला निकायसँग छलफल गरिएको बताउनुभयो । उहाँले चीनमा देखिएको निमोनिया कुनै नौलो किसिमको सङ्क्रमण नभएको र श्वासप्रश्वाससम्बन्धी रोग रहेको उल्लेख गर्दै सबै निकायलाई सचेत बनाइएको जानकारी दिनुभयो ।
‘चीनमा एक्कासी धेरै बालबालिकामा निमोनिया देखिएको छ । कोरोना तथा मङ्किफक्सले गर्दा हामी झस्किएका छौँ । त्यसैले बेलैमा निमोनियाको रोकथाम र उपचारका लागि तयारी अवस्थामा रहन सबै निकायलाई निर्देशन दिएका छौँ,’ डा। ओझाले भन्नुभयो । उहाँले यो निमोनियाको परीक्षण गर्ने व्यवस्था नेपालमा रहेको भन्दै जोखिमको तह बढ्दै गए त्यसैअनुसार उपचार र रोकथाम गरिने बताउनुभयो ।
कान्तिबाल अस्पतालका निर्देशक डा। पङ्कज रायले निमोनियाको उपचारका लागि अस्पताल तयारी अवस्थामा रहेको बताउनुभयो । रायका अनुसार रेस्पिरेटरी सिन्सिटिअल भाइरस ९आरएसभी० गर्दा भएको निमोनियाले बच्चामा लामो समयसम्म रुघाखोकी लाग्ने, जीउ दुख्ने, श्वासप्रश्वाससम्बन्धी समस्या आउने, ज्वरो आउने, छाति बज्ने, सिँगान बग्नेलगायत जस्ता लक्षण देखिन्छन् ।
नेपालमा अहिले पनि आरएसभीले गर्दा हुने बिरामी छन् । तर चीनमा देखिएको आरएसभी भने यहाँ देखिएको भन्दा कडा खालको रहेको डाक्टरले बताएका छन् ।