बुटवल–लुम्बिनी प्रादेशिक अस्पतालले कोभिड १९ पोजेटिभ देखिएकी एक गर्भवती महिलालाई अन्यत्र रिफर गरेपछि अस्पताल प्रशासन तथा सरकारको चर्को आलोचना भयो।
बुटवल ११ नहरपुरकी गर्भवतीको शल्यक्रिया गर्नुपर्ने थियो। त्यसअघि पनि शल्यक्रियाबाटै बच्चा जन्माएकी उनको अहिले पनि शल्यक्रिया गर्नुपर्ने अवस्था आउने चिकित्सकहरुको अनुमान थियो।
तर कोरोना भाइरसको संक्रमण देखिएको भन्दै अस्पतालले भर्ना नलिएर काठमाडौ वा कोहलपुर जान भनेको थियो। संक्रमित गर्भवती कोहलपुर गएकी छन्।
यस घटनाबाट फेरि कोही गर्भवती संक्रमित भएर आएमा सेवा पाउने कि नपाउने भन्ने प्रश्न उठेको छ।
प्रदेशकै गौरवको योजना भनिएको लुम्बिनी प्रादेशिक अस्पतालले भर्ना नलिएर गर्भवती रिफर हुनुपर्ने अवस्था दुखद भएको आलोचना गरेका छन्। अस्पताल प्रशासनले यसमा पर्याप्त पूर्वतयारी गरेको देखिएन। प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराइले नसोंचेको केश आएकाले रिफर गर्नुपरेको बताए।
‘तत्कालको लागि यहाँ व्यवस्थापन गर्न गाह्रो थियो, दुइ चार दिनपछि भएको भए हामीले व्यवस्थापन गथ्र्यौ’–उनले भने–‘रोक्नु पनि भएन, समय लाग्ने भएपछि उहाँहरु जानुभएको हो।’ छिट्टै कोरोना संक्रमित गर्भवतीको लागि सेवा थाल्ने तयारीमा रहेको भट्टराइले बताए।
लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतम केही संरचनाका कारणले त्यस्तो अवस्था आएको बताए।
‘हामी उहाँलाई रिफर गर्न चाहदैनथ्यौं, यहीँ सहज तरिकाले सुविधा दिउँ भन्ने नै चाहना थियो, तर हामीसँग उपलब्ध संरचना र केही मापदण्डका कारण उहाँलाई उहाँकै सहजताका लागि अन्यत्र जानुपर्छ भन्ने सुझाव दिएका हौं।’
प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले मापदण्ड अनुसारको अस्पताल यहाँ नभएकाले अस्पतालले रिफर गरेको बताउँछन्।
‘दोस्रो पटक पनि उहाँको अपरेसन गर्नुपर्ने रहेछ, अहिलेको कोभिड मापदण्डले यस्तो व्यक्तिलाई लेबल थर्डको अस्पतालमा मात्र उपचार गर्नु भनेको छ, लेभल थर्ड हाम्रो कोहलपुर मात्र हो–उनले भने–‘भोलि केही समस्या आयो भने लेबल थर्डमा उपचार गर्नुपर्ने बिरामी यहाँ किन गरियो भनेर प्रश्न उठ्न सक्छ, मुद्दा मामिला पर्ला भनेर हामीले कोहलपुर पठाएका हौं।’
संघीय सरकारले प्रादेशिक अस्पताललाई लेबल थर्डका मान्यता नदिँदासम्म यस्तो केश आयो भने फेरि पनि रिफर गर्नुपर्ने बरालले बताए।
संक्रमित गर्भवती महिलालाई दोस्रो पटक अपरेसन गर्दा अन्य प्रकारका स्वास्थ्य समस्या पनि देखिनसक्ने सम्भावना भएकाले त्यसलाई व्यवस्थापन गर्न धेरै विषयका विज्ञ चिकित्सक भएको अस्पताल हुनुपर्ने मापदण्ड रहेको मन्त्री बरालको भनाइ छ।
‘त्यस अनुसारको सेवा सुविधा यहाँको प्रादेशिक अस्पतालमा छ, तर संघीय सरकारले लेबल थर्डको मान्यता नदिएकाले केही भइहाल्यो भने समस्या पर्न सक्छ भनेर सर्तकता अपनाइएको हो’–उनले भने।
संक्रमित गर्भवतीले बुटवलमा सेवा पाउँदैनन त ?
प्रदेश ५ सरकारले यसअघि अस्पतालहरुलाई सञ्चालनका लागि सहज होस् भनेर मन्त्रीहरुलाई कार्यविभाजन गरेको थियो। लुम्बिनी प्रादेशिक मन्त्रालय पर्यटनमन्त्री लिला गिरी, भीम अस्पताल सामाजिक विकास मन्त्री र नेपालगञ्जको अस्पताल आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीको जिम्मेवारीमा छन्।
उनीहरुले ती अस्पतालमा के कस्ता सुविधा थप गर्नुपर्छ र संरचना आवश्यक पर्छन् भन्ने आवश्यकताका आधारमा थप गर्नका लागि प्रदेश सरकारबाट पहल गर्छन्। स्वास्थ्यका विभागीय मन्त्री सुदर्शन बरालको जिम्मेवारीमा भैरहवाको भीम अस्पताल परेकाले उनले धेरै सुविधा त्यहीँ थप्न चाहन्छन्।
भीम अस्पतालमा गर्भवतीको शल्यक्रिया गर्नुपरेमा बेहोस बनाउने चिकित्सक पनि पर्याप्त छैनन्। संरचना पनि छैन र यी सबै कुरा थप गर्नका लागि समय लाग्छ। तर, बुटवलमा बेहोस गराउने चिकित्सक सहज रुपमै उपलब्ध छन्, आवश्यक परेमा बच्चाका लागि पनि एनआइसीयू छ।
तत्काल उपलब्ध संरचनालाई व्यवस्थित गर्नुको सट्टा नयाँ संरचना बनाउनेमा बरालको जोड रहेको देखिन्छ। त्यसरी नयाँ संरचना निर्माण गर्दा समय लाग्ने भएकाले बुटवलकै लुम्बिनी प्रादेशिक अस्पताललाई उपयोग गर्नुपर्ने लुम्बिनी प्रादेशिक अस्पतालका केही स्वास्थ्यकर्मी र पदाधिकारीको भनाईलाई मन्त्री बरालले सहज रुपमा लिएका छैनन्।
तर, उनले आफुले पहल गरिरहेको बताउँछन्। सामाजिक विकास मन्त्री बरालले अहिले लेबल टु रहेको लुम्बिनी प्रादेशिक अस्पताललाई लेबल थ्रीको मान्यता दिलाउन पहल गरिरहेको बताए। त्यसको लागि आवश्यक पर्ने आइसियुलगायतका संरचनाको काम अगाडि बढाएको उनले जानकारी दिए।
‘लुम्बिनी प्रादेशिक अस्पताललाई लेबल थर्ड भनेर तोकिदियो भने एकहप्ता भित्रमा हामीले त्यो लेबलमा अपग्रेड गर्नै पर्छ, यहाँ सेवा दिनै पर्छ’–मन्त्री बरालले भने–‘त्यसको लागि स्वास्थ्य मन्त्रालयसँग छलफल चलिरहेको छ।’
मन्त्री बरालले पहिलो पटक अपरेसन गर्नुपर्ने संक्रमित गर्भवतीको लागि रुपन्देहीमै सेवा उपलब्ध हुने बताए। ‘हामीले भीम अस्पतालमा व्यवस्था गरेका छौं, यस अघि अपरेसन नगरेकालाई यही अपरेसन गरेरै डेलिभरी गराउँछौं–उनले भने–कोरोना देखिएका महिलाको नर्मल डेलीभरि पनि भैरहवामै हुन्छ, अन्त जानुपर्र्दैन।’
भिम अस्पताल भन्छ: नर्मल डेलिभरी गर्छौ, शल्यक्रिया गर्न थप जनशक्ति छैन
भैरहवाको भिम अस्पतालका कोरोना फोकल पर्सन डा. सुमित प्रजापतिले भने तत्काल नर्मल डेलीभरी मात्र सम्भव रहेको बताए।
‘कोरोना भाइरस देखिएका गर्भवतीको नर्मल डेलीभरी त हामीले गर्छौं, तर अपरेसन गर्नको लागि जनशक्ति र केही संरचना अभाव छ–उनले भने–अपरेसन सेवा सञ्चालन बारेमा पनि छलफल भइरहेको छ, सामाजिक विकास मन्त्रालयले जनशक्ति र एनआइसियु लगायतकोे व्यवस्था ग¥यो भने सुरु गर्न सक्छौं।’
आइसोलेसनमा थिए ३ जना संक्रमित गर्भवती
यसअघि भीम अस्पतालको आइसोलेसनमा ३ जना कोरोना संक्रमित र एक जना शंकास्पद संक्रमित गर्भवती भर्ना भएका थिए।
एक संक्रमितको अपरेसन गर्नुपर्ने भएकाले उनलाई असार ५ गते कोहलपुर अस्प्ताल रिफर गरिएको थियो।
बाँकी २ जना डेलिभरी हुने बेलासम्म कोरोना भाइरस नेगेटिभ आएको थियो। भीम अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएका उनीहरुको लुम्बिनी प्रादेशीक अस्पतालमै नर्मल डेलीभरी भएको थियो।