बुटवल । सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा नेपाल) ले प्यारामेडिक्सको अध्ययन सुरु गर्ने भएको छ । आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत नर्सिङ, सामान्य चिकित्स (एचए) र डिप्लोमा इन फार्मेसी गरी तीन वटा विषयको शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको हो । तीन वटै विषयमा ४०/४० वटाको कोटा अन्तर्गत पढाई सुरु हुने स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयो ।
५० शैयाबाट सुरु भएको अस्पताल अहिले १०० शैयामा सञ्चालनमा छ । अस्पताललाई ३०० बेड बनाउने योजना अनुसार बिहीबार २०० शैयाको अस्पताल भवनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलन्यास गर्ने कार्यक्रम छ । अस्पतालको २५ औं वार्षिकउत्सव तथा अस्पताल भवन, पुस्तकालयको भवनको शिलन्यास प्रधानमन्त्रीले गर्ने मेयर पाण्डेयले बताउनुभयो ।
त्यस्तै सामाजिक सुरक्षा कोषका सदस्यहरुलाई नियमअनुसार स्वास्थ्य सेवाको पनि अस्पतालले सुरुआत गरेको छ । अस्पतालमा आमा सुरक्षा कार्यक्रम यसै वर्षभित्र सञ्चालन हुने गरी गरी प्रक्रिया पनि अघि बढाएको पाण्डेयले बताउनुभयो । आमा सुरक्षा कार्यक्रम सञ्चालन भए पश्चात राज्यको व्यवस्था बमोजिम आमाहरुले निःशुल्क प्रसूति एवं सोसँग सम्बन्धित स्वास्थ्य सेवा प्राप्त गर्नेछन ।
अस्पतालमा लुम्बिनी प्रदेशका सबै जिल्ला सहित १६ जिल्ला र भारतका सिमावर्ती क्षेत्रका जनताले प्रत्यक्ष लाभ लिइरहेका छन् । अस्पतालमा आमा सुरक्षा कार्यक्रम यसै वर्षदेखि संचालन हुने गरि नगरपालिकाबाट बजेट विनियोजित भएको नगर प्रमुख पाण्डेयले बताए। अस्पतालले आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत यसै शैक्षिक सत्रदेखि प्रमाणपत्र तह नर्सिग, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी गरी तीन वटा विषयको शैक्षिक कार्यक्रम संचालन गर्न लागेको अस्पतालका मेडिकल सुपरीटेन्डन डा.राजेन्द्र प्रसाद बस्यालले बताउनुभयो ।
३ वटा विषयमा ४०÷४० जनाका दरले १२० जना विद्यार्थीहरुले यस वर्ष अध्ययन गर्न पाउने मेसु बस्यालले बताउनुभयो । साथै अध्ययन शुल्क अन्यमा भन्दा २० प्रतिशत कम रहेको बताउनुभयो । अस्पतालबाट आर्थिक वर्ष २०७९÷८० मा ७० हजार ४८६ जनाले सेवा लिएको मेसु बस्यालले बताउनुभयो ।
यस्तै पछिल्लो दशक आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७९/८० सम्म ६ लाख २१ हजार ९४२ जना विरामीले अस्पतालबाट सेवा प्राप्त गरेको बताउनुभयो । वि.स. २०५५ कार्तिक १६ मा आम्दा नेपाल, बुटवल उपमहानगरपालिका तथा बुटवल उद्योग वाणिज्य संघबीच त्रि–पक्षीय समझदारी भई ५० शैयाबाट अस्पतालको सुरुवात भएको थियो ।