भैरहवा–मंगलबार रुपन्देहीमा ३४ जना नयाँ कोभिड–१९ संक्रमित थपिएका सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय ४१ पुगेको छ।
संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरु परिक्षणको दायरामा आउने र निजी क्षेत्रबाट पनि समुदायका व्यक्तिहरुले जाँच गराउँदा दिनदिनै संक्रमितको संख्या बढिरहेको छ।
मंगलबार राती ८ बजेसम्म रुपन्देहीका ६ पालिकाका ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले लुम्बिनी टाइम्सलाई जानकारी दिए।
हालसम्म जिल्लाको तथ्यांकमा ५४१ देखिएपनि प्रदेश ५ सामाजिक विकास मन्त्रालयका प्रवक्ताले उल्लेख गरेका र ३ जना डाक्टरहरुका संक्रमितको संख्या जोडिएको छैन।
शाहका अनुसार मंगलबार बुटवल उपमहानगरपालिका १७ जना, सिद्धार्थनगरका ८ जना, तिलोत्तमाका ३, सियारीका २, देवदहका ३ र शुद्धोधनका १ जनामा संक्रमण देखिएको छ।
आज बढेका संक्रमित सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा छन्। बुटवलमा मंगलबारसम्म १०३ जनामा संक्रमण भएको छ।
त्यस्तै सिद्धार्थनगरमा ७०, तिलोत्तमा नगरपालिका ६९, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ६१, सैनामैनामा ४३, सम्मरीमाई २७, गैडहवामा २६, कोटहीमाईमा २६, कञ्चनमा २५, देवदहमा २१, मायादेवीमा २०, सियारीमा १५, मर्चवारीमा १५, शुद्धोधनमा १०, रोहिणीमा ८, ओमसतियामा २ र रुपन्देही बस्ने ठेगाना नखुलेको १ जनामा संक्रमण देखिएको छ।
संक्रमितमध्ये २०६ जना उपचाररत, ३३४ जना निको भएका र १ जनाको मृत्यु भएका जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक शाहले लुम्बिनी टाइम्सलाई जानकारी दिए।