काठमाडौं । देशभरि डेंगुको सङ्क्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेंगुको सङ्क्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन् ।
डेंगुको सङ्क्रमणबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ । महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण तथा सरसफाइमा ध्यान नदिँदा डेंगुको सङ्क्रमण बढिरहेको बताउनुभयो । उहाँले दैनिक सङ्क्रमण बढिरहेकाले सतर्कता अपनाउनु आग्रह गर्नुभयो ।
“दैनिक डेंगुको सङ्क्रमण बढिरहेकाले सरसफाइसहित लामखुट्टेबाट बच्न सतर्कता अपनाउनुपर्दछ”, निर्देशक डा. मरासिनीले भन्नुभयो, “डेंगु सङ्क्रमण भदौ र असोजमा उच्च हुने जोखिम छ ।”
नेपालमा पहिलो पटक सन् २००४ मा डेंगुको सङ्क्रमण देखिएको थियो । सन् २०२२ मा ५४ हजार सात सय ८४ जना डेंगुबाट सङ्क्रमित भएका थिए भने यसबाट ८८ जनाको मृत्यु भएको थियो ।
कोशी प्रदेशमा बढी
डेंगुको सङ्क्रमण सबैभन्दा बढी कोशी प्रदेशमा देखिएको छ । कोशीमा १० हजार एक सय ८२ जना यसबाट सङ्क्रमित भएका छन् ।
यस्तै, बागमती प्रदेशमा एक हजार सात सय ९३, गण्डकीमा पाँच सय १०, सुदूरपश्चिममा चार सय १७, लुम्बिनीमा दुई सय ६३, मधेशमा ९२ र कर्णाली प्रदेशमा ३६ जनामा डेंगुको सङ्क्रमण देखिएको महाखाले जनाएको छ ।
मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झूल टाँगेरमात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ ।