भक्तपुर । मस्तिष्क मृत्युपश्चात् हुने अङ्ग दानबाट प्रत्यारोपण सम्बन्धि जानकारी गराउने उद्देश्यका साथ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आज विश्व अङ्ग दान दिवस मनाएको छ ।
कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले नेपालमा बर्षेनी करिब तीन हजार जनाको मृगौला फेल हुने गरेको र उनीहरूमध्ये केहीको अङ्ग नपाएर अकालमा मृत्यु हुने गरेको बताउनुभयो ।
यदि मस्तिष्क मृत्यु पश्चात् हुने अङ्ग दानबाट प्रत्यारोपण हुन सकेमा खर्च कम हुनका साथै जीवित व्यक्तिबाट अङ्ग झिक्न नपर्दा उसको स्वास्थ्यमा समस्या नआउने उहाँले बताउनुभयो ।
उहाँले केन्द्रका भौतिक संरचना विकास र सेवा विस्तारको लागि पायक पर्ने स्थानमा आवश्यक जग्गा उपलब्ध गराउन नगरपालिका भित्रका सबै तहलाई अनुरोध गर्नुभयो ।
केन्द्रका प्रमुख कन्सल्टेन्ट नेफ्रोलोजिष्ट डा कल्पना कुमारी श्रेष्ठले अङ्ग दान सम्बन्धी जनचेतना विस्तारमा स्थानीय तहको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
विश्व अङ्ग दान दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरभित्र अङ्ग दान सम्बन्धमा व्यापक जनचेतना जगाउन आफूले प्रयास गर्ने बताउनुभयो ।
विश्वभरि नै मृगौला रोगको प्रकोप बढिरहेको परिप्रेक्ष्यमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्त्वपूर्ण उपायबारे सबैलाई सचेत गराउनुपर्ने देखिन्छ ।
पश्चिमा मुलुकमा मस्तिष्क मृत्यु पश्चात् प्राप्त अङ्गबाट ७०% भन्दा बढी प्रत्यारोपण हुने गरेकोमा सार्क राष्ट्र हरुमा मस्तिष्क मृत्यु पश्चात् हुने अङ्ग दान तथा प्रत्यारोपण कम मात्रामा हुने गरेको चिकित्सकहरूको भनाई छ ।
नेपाल जस्तो गरिब मुलुकमा जीवित व्यक्तिबाट अङ्ग निकाली अर्को व्यक्तिमा अङ्ग प्रत्यारोपण गर्नुपर्दा बढी खर्चिलो हुने गरेको छ ।