बुटवल-एकाएक कोरोना भाइरसको संक्रमण फैलिएको बुटवल उपमहानगरपालिकामा सक्रिय संक्रमितको संख्या ४० पुगेको छ। बुटवलमा संक्रमितको संख्या ६४ पुगेको छ। तीमध्ये ४० जना मात्रै उपचाररत छन्।
शनिबार ३ जना थपिएसँगै बुटवलमा सक्रिय संक्रमितको संख्या ४० पुगेको हो। शनिबार पुष्टि भएका संक्रमित बुटवल ११ देविनगरका २ जना र १३ बेलबासका एकजना हुन्। ट्राभल हिस्ट्री नदेखिएका यस्ता संक्रमित सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकाको वडा नं ११ मा छन्। वडा नं ११ जनामा १८ जना संक्रमित छन्।
बुटवल उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कुन्दन कुमार सिंहका अनुसार बुटवलका १ देखि १५ वडामा समुदायस्तरमै संक्रमण फैलिएको छ।
यस्तै वडा नं १० मा ८ जना, १३ मा ४ जना, १२ मा २ जना संक्रमित छन्। यस्तैगरी वडा नं १ देखि ७, ९ र १६ मा एक-एक जना संक्रमित रहेको सिंहले बताए।
वडा नं १५, १७, १८ र १९ मा भने शनिबारसम्म संक्रमण देखा परेको छैन। संक्रमण देखिएका सक्रिय संक्रमितमध्ये ७ जना होम आइसोलेशनमा छन्।
बाँकी लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना अस्पताल धागो कारखाना र देवीनगरस्थित एन्फा एकेडेमीको आइसोलेशनमा उपचाररत छन्। बुटवलमा केही दिन अघि कन्ट्याक ट्रेसिङका क्रममा लिइएको १५ जनाको स्वाबको रिपोर्ट आउन बाँकी छ।
यसबीचमा बुटवल उपमहानगरपालिकाको लेखा शाखामा कार्यरत एकजना अधिकृतमा पनि संक्रमण देखिएको छ। कर्मचारीमा संक्रमण देखिएपछि उनको सम्पर्कमा रहेका केही कर्मचारी र जनप्रतिनिधि होम क्वारेन्टिनमा छन्।
समुदायमा संक्रमण बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले साउन २९ देखि भदौ ५ गतेसम्म लकडाउन गरेको छ।
बुटवलमै रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख डा उमाशंकर चौधरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनी भैरहवास्थित होम आइसोलेशनमा छन्।
शनिबार नै बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको आइसीयूमा उपचार गराइरहेका कोरोना संक्रमित कपिलवस्तु मायादेवी गाउँपालिकाका ४२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।