बुटवल-लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कोरोना भाइरसको संक्रमणका लक्षणसँग मिल्ने बिरामीको मृत्यु भएको छ। आज शनिबार बिहान मृत्यु भएका कपिलवस्तुका ती बिरामी तीनदिन अघि अस्पतालमा भर्ना भएका थिए।
फोक्सोमा समस्या देखिएको र कोरोना भाइरसका कारण देखिने लक्षणहरु देखिएकाले उनको कोरोना भाइरसका संक्रमितकै सरह संवेदनशील मानेर उपचार भइरहेको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए। ४२ वर्षीय ती पुरुषलाई आइसीयूमा भर्ना गरेर उपचार जारी थियो।
डा गौतमका अनुसार ती बिरामीको पीसीआर परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको थियो। उपचारका लागि आउँदा नै फोक्सोमा संक्रमण देखिएको र अवस्था गम्भीर भएर उपचारकै क्रममा मृत्यु भएको डा गौतमले बताए।