काठमाडौं-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू पनि अरुकाेमा पाहुना लाग्न नजान र अरुलाई पनि पाहुना लाग्न नबोलाउन आग्रह गरेको छ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढिरहेको बेलामा पनि गाउँघर र शहरबजारमा व्यक्तिगत दुरी कायम नगरि होटल/पसलमा बस्ने तथा पाहुना आवत जावत गर्ने क्रम रहेको भन्दै यस्तो कामबाट सङ्क्रमणको जोखिम झनै बढ्ने बताए।
उनले यस्तो काम रोक्नका लागि समुदायमा रहेका व्यक्ति तथा टोल विकास संस्थाहरुले ख्याल गरी पालिकाहरुमा जानकारी गराउन पनि आग्रह गरे।
प्रवक्ता गौतमले कोरोना सङ्क्रमणको कुनै उपचार नभएको र अहिलेसम्म खोप पनि तयार भइ नसकेकोले एक अर्काबाट टाढा रहेर सङ्क्रमण फैलन रोक्नु नै मुख्य उपाय भएको बताए।
उनले मन्त्रालयले बारम्बार आग्रह गरिरहेको हात धुने, मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने जस्ता सुरक्षाका उपायलाई बेवास्ता नगर्न पनि आग्रह गरे।