बुटवल । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दामा) पत्रकार महिला तथा सञ्चारकर्मीहरुका लागि एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
बुटवल उपमहानगरपालिकाको आयोजना, आम्दा अस्पतालको प्राविधिक सहयोग तथा सञ्चारिका समूह रुपन्देहीको समन्वयमा आयोजित शिविरमा ४१ जनाको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर परीक्षण गरिएको थियो ।
शिविरको उद्घाटन गर्दै आम्दा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर राजेन्द्र बस्यालले समय समयमा स्वास्थ्य परीक्षण गराउन सके क्यान्सरबाट बच्न सकिने बताउनुभयो । स्वस्थ रहन सबैमा सचेतना आवश्यक रहेकामा जोड दिँदै उहाँले समयमै रोगको पहिचान हुन सके तुरुन्त समाधान गर्न सहज हुने धारणा राख्नुभयो ।
पछिल्लो समय पाठेघरको क्यान्सरको समस्या बढ्दै गएकाले सबै मिलेर सचेतना जगाउन जरुरी रहेको उहाँको भनाइ थियो ।
बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले व्यक्ति स्वस्थ रहने कुरा सबैभन्दा महत्वपूर्ण भएकाले उपमहानगरमा स्वास्थ्य सचेतना फैलाउन र महिलालाई स्तन र पाठेघरको क्यान्सरबाट बचाउन यस्ता कार्यक्रम विभिन्न वडामा गर्दै आएको बताउनुभयो ।
सञ्चारिका समूह रुपन्देहीका अध्यक्ष निरु गौतमले सधैं अरुका विषयमा समाार लेख्ने पत्रकार महिलाहरु पहिले आफ्नो स्वास्थ्यका बारेमा संवेदनशील बन्नुपर्ने बताउनुभयो । व्यस्तताका कारण महिलाहरुले आफ्नो स्वास्थ्यमा ध्यान पुर्याउन नसक्दा विभिन्न स्वास्थ्य समस्या झेल्नुपर्ने भएकाले समयसमयमा स्वास्थ्य परीक्षण गराउनुपर्नेमा जोड दिनुभयो ।
शिविरमा आम्दा अस्पतालका स्त्री रोग विशेषज्ञ डाक्टर बालगोबिन्द चौधरी, आम्दा अस्पतालका नर्स सीता बस्याल र ज्ञानु केसीले पत्रकार महिलाहरुको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।