बुटवल । बुटवल उपमहानगरपालिकाले मातृशिशु कार्यक्रमअन्तरगत पोषणभत्ता वितरण शुरु गरेको छ ।
उपमहानगरपालिकाका नवजात शिशु र आमाको स्वास्थ्यलाई ध्यानमा राख्दै जनही रु २ हजार पोषण भत्ता उपलब्ध गराइएको हो ।
पोषण भत्ता वितरण कार्यक्रमको आज शुभारम्भ गर्दै नगरप्रमुख खेलराज पाण्डेयले ५० जना नवजात शिशुका आमाहरुलाई रकम तथा पोषण सामग्री हस्तान्तरण गर्नुभयो । उहाँले बुटवलका शिशु र आमाको स्वास्थ्यमा सुधार ल्याउनका लागि पोषण भत्ता प्रदान गर्ने कार्यक्रम ल्याइएको बताउदै यसले आगामी आर्थिक वर्षमा पनि निरन्तरता पाउने बताउनुभयो ।
उहाँले बुटवललाई स्वास्थ्य क्षेत्रमा अग्रणी शहर बनाउनका लागि अस्पताल निर्माण, जनशक्ति उत्पादनलाई समेत जोड दिएको बताउनुभयो । उहाँले छिटै नै बुटवल १३ र १६ मा १५–१५ बेडका अस्पताल सञ्चालनमा आउने, आम्दा अस्पतालको स्तरोन्नति हुने र जनशक्ति उत्पादनमा जोड दिने बताउनुभयो ।
पोषणभत्ता कार्यक्रमअन्तरगतको रकम प्राप्त गर्नका लागि बुटवलको स्थायी बासिन्दा हुनुपर्ने, बच्चा बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, आम्दा अस्पताल र सेमलार स्वास्थ्य चौकीमा गत साउनयता जन्मिएको हुनुपर्ने मापदण्ड राखिएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।