काठमाडौं। पछिल्लो समय प्रकोपका रूपमा देखिएको लम्पी स्किन रोग लाग्नबाट बचाउन खोप लगाउन पशु विज्ञको सुझाव छ । पशु विज्ञका अनुसार गर्मीयाम सुरु भए लगत्तै देशका विभिन्न जिल्लामाका पशुमा प्रकोपका रूपमा रहेको लम्पी स्किन नामक सङ्क्रमणबाट पशुलाई बचाउन खोप लगाउन भनिएको हो ।
विभागका वरिष्ठ पशु विज्ञ तथा सूचना अधिकारी डा. चन्द्र ढकालले यो रोगको प्रभावकारी उपचार नभएकाले पशुलाई रोग लाग्न बचाउन खोप लगाउन आग्रह गर्नुभयो । वरिष्ठ पशु विज्ञ डा. ढकालका अनुसार पशु बिरामी भएको बेला र एक पटक सङ्क्रमित भई निको भएका पशुलाई खोप दिन आवश्यक पर्दैन ।
उहाँले भन्नुभयो, “पशुलाई यो रोगबाट बचाउन यो विरुद्धको खोप दिनुपर्छ । तर पशु बिरामी भएको बेला र सङ्क्रमित भई निको भइसकेका पशुको यान्टिबडी बनिसकेकाले खोपको आवश्यक पर्दैन ।”
लम्पी स्किन रोग नेपालमा पहिलो पटक २०७७ सालमा पुष्टि भएको थियो । सोही समयमा करिब तीन हजार पशुमा यो रोग पुष्टि भएको थियो ।
हाल करिब ४२ जिल्लाबाट ३५० स्थानीय तहका लगभग चार लाख पशुमा रोग पुष्टि भइसकेको छ । त्यसैगरी, सात हजार पशुहरूको मृत्यु भएको कृषि तथा पशु सेवा विभागको तथ्याङ्क रहेको छ ।