भैरहवा–बिहीबार रुपन्देहीमा ५ जना कोभिड–१९ का संक्रमित थपिएका छन्। बुटवलमा समुदाय स्तरबाट आएको स्वाब परिक्षण रिपोर्टमा एक महिला सहित ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। थपिएका कोरोना संक्रमित सँगै रुपन्देहीमा कोभिड–१९ संक्रमितको संख्या ४ सय ६ पुगेको छ।
स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहका अनुसार बुटवल उपमहानगरपालिकाकी २६ वर्षीय महिला र ३५, २८, २३, २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ।
नेशनल प्याथ ल्याबबाट एक जना र प्रादेशिक अस्पतालको ल्याबबाट ४ जनामा संक्रमण देखिएको छ। संक्रमित सबैको अवस्था सामान्य नै छ।
भैरहवामा सिद्धार्थ उद्योग वाणिज्य संघमा सोमबार लिएको स्वाबको नमुना संकलन मध्ये १२२ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। २१५ जनाको स्वाब परिक्षणका लागि लिएपनि पहिलो चरणमा १२२ जनाको परिक्षण रिपोर्ट आएको छ। अरुको रिपोर्ट आउन बाँकी छ।
बैकर्स एशोसियशन र सिद्धार्थ उद्योग वाणिज्य संघको सहकार्यमा भैरहवा क्षेत्रका बैकका फ्रन्टलाइनमा रहेर काम गर्ने कर्मचारी, सामाजिक अभियन्ता, सिद्धार्थ उद्योग वाणिज्य संघका कर्मचारी, केही पदाधिकारी तथा सदस्य, भन्सार एजेण्ट संघका प्रतिनिधि लगायतका २ सय १५ जनाको स्वाब संकलन गरिएको थियो।
हाल सम्मको तथ्यांकअनुसार रुपन्देहीको पालिका स्तरमा लुम्बिनी सांस्कृतिक नगरपालिकामा ६१, तिलोत्तमा नगरपालिकामा ५०, बुटवल उपमहानगरपालिकामा ४८, सैनामैनामा ४३, सिद्धार्थनगरमा २७, सम्मरीमाईमा २७, गैडहवामा २६, कोटहीमाईमा २६, कञ्चनमा २४, मायादेवीमा १७, देवदहमा १७, मर्चवारीमा १५, रोहिणीमा ८, शुद्धोधनमा ८, सियारीमा ७, ओमसतियामा १ र रुपन्देही बस्ने ठेगाना नखुलेको १ जनामा संक्रमण देखिएको छ।