बुटवल-लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएर उपचार गराइरहेका २ जना बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
बुधबार कपिलवस्तु र प्युठानबाट उपचारका लागि आएका २ जना पुरुषको आकस्मिक कक्षमा भर्ना गरेर उपचार जारी थियो।
उनीहरुमा देखिएको लक्षणका आधारमा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए।
उनका अनुसार उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि अस्पताललाई सेनेटाइज गरेर नियमित अवस्थामा ल्याइएको छ।
दिउसो केहीबेर सेवा स्थगित गरेर अस्पताललाई सेनेटाइज गरेको उनले बताए। सरकारले निर्धारण गरेको मापदण्डअनुसार अस्पताललाई सेनेटाइज गरेको उनले बताए।
दुवै बिरामीलाई आइसोलेशनमा राखेर उपचार थालिएको छ। उनीहरुमध्ये कपिलवस्तुबाट आएका बिरामी कपिलवस्तु अस्पतालबाट रेफर भएर आएका हुन्।