भैरहवा–६ जना कोभिड–१९ संक्रमित थपिएसँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या ४ सय एक पुगेको छ। स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारीअनुसार बुधबार रातीसम्म रुपन्देहीका २ पालिकाका ६ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहका अनुसार तिलोत्तमा नगरपालिकाकाको क्वारेन्टाइनमा रहेका ३३ र ४२ वर्षका २ जना पुरुष, र बुटवल उपमहानगरपालिकाका २३, २५, २८ र ३५ वर्षका ४ जना पुरुषमा संक्रमण देखिएको छ। बुटवलमा पुष्टि भएका संक्रमितहरु आफै कोभिड–१९ भाइरस परिक्षण गराउन प्रयोगशाला गएका थिए। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ।
रुपन्देहीमा संक्रमितमध्ये ६७ जना उपचाररत छन्। ३३३ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक शाहले लुम्बिनी टाइम्सलाई जानकारी दिए।
कोभिड–१९ संक्रमित मध्ये एन्फा विल्डिङमा १४ जना, कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा ६ जना, शंकरनगर स्वास्थ्य चौकी तिलोत्तमामा १५ जना, योग चिकित्सालय सैनामैनामा १ जना, लुम्बिनी प्रादेशिक अस्पतालमा ३ जना र होम आइशोलेशनमा २८ जना उपचाररत छन्। त्यस्तै जिल्लाभर ४ सय ९९ जना हाल क्वारेन्टिनमा रहेका छन्।
कार्यालयका अनुसार जिल्लामा ४ हजार ४ सय ५९ जनाको स्वाब संकलन गरिएकोमा ३ हजार ३ सय ७९ जनाको रिपोर्ट नेगेटिभ, ४ सय १ जनाको रिपोर्ट पोजिटिभ र ६ सय ७९ जनाको स्वाब परिक्षणका लागि प्रक्रियामा रहेको छ। आरडिटी परिक्षणतर्फ भने ८ सय ३९ जनाको रिपोर्ट पोजिटिभ आएको कार्यालयले जनाएको छ। बुधबार मात्र कार्यालयले १ सय ६३ जनाको स्वाब संकलन गरेको छ।
कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएपछि बुटवल उपमहानगरपालिकाले बिहीबार रातीदेखि पूर्ण लकडाउन गर्दैछ भने तिलोत्तमा र सिद्धार्थनगरले सरकारी सेवाप्रवाहमा कडाई गरेका छन्।