भैरहवा–कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा २ जनाको मृत्यु भएको छ। कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षिय पुरुषको मंगलबार राती मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए।
कोरोना भाइरसको लक्षण देखिएर यही साउन २५ गते भर्ना भएका कपिलवस्तुका ४२ वर्षिय पुरुषमा २५ गते नै पिसीआर परिक्षणमा कोरोना पोजिटिभ देखिएको थियो। सोही दिनबाट नै उनलाई भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो। मंगलबार राती स्वास्थ्यमा थप समस्या देखिएर उनको मृत्यु भएको डा गौतमले बताए।
अर्का कपिलवस्तुकै २५ वर्षिय युवाको पनि मृत्यु भएको छ। ‘हिजो मात्रै प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि आएका उनीमा कोरोनाको लक्षण देखिनासाथ कोरोना विशेष अस्पताल ल्याएर भेन्टिलेटरमा राख्नु परेको थियो, राती स्वास्थ्यमा समस्या आएपछि उनको पनि मृत्यु भएको छ’–बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पसर्न डा. सुदर्शन थापाले लुम्बिनी टाइम्सलाई जानकारी दिए ।
एक जनामा कोरोना पोजिटिभ थियो भने एक जनाको हिजो स्वाब संकलन गरी कोभिड–१९ परिक्षणका लागि प्रयोगशाला पठाइएकोमा हाल सम्म रिपोर्ट आएको छैन। उनीहरुमध्ये एकजना तौलिहवाका हुन् भने अर्का कृष्णनगरका हुन्।