बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष अजयमान श्रेष्ठले अस्पताललाई नेपालकै अग्रणी र एक नम्बर बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
आज बुटवल स्थित अस्पताल भवनको कार्यकक्षमा पदभार ग्रहण गर्दै अध्यक्ष श्रेष्ठलेअस्पतालको सेवा गुणस्तरीय र प्रभावकारी बनाउने प्रतिवद्धता जनाउनुभएको हो ।
उद्योग, व्यवसाय र सामाजिक क्षेत्रमा हासिल गरेको ज्ञान र अनुभवसंँगै विज्ञहरुसँग राय सुझाव लिएर अस्पताललाई नमूना बनाउने गरी काम गर्ने उहाँको भनाइ छ । “मलाई कुनै लाभ लिनु छैन, म प्रशासन चलाउन आएको पनि हैन”–अध्यक्ष श्रेष्ठले भन्नुभयो, “म अस्पताल प्रशासनलाई सहयोग गर्न, यहाँका समस्या समाधान र वजेटका लागि प्रदेश र केन्द्र सरकारसंग डटेर कुरा राख्न आएको हुँ ।”
अस्पतालमा विरामीको अत्यधीक चाप रहेकाले त्यसलाई थेग्न १२ सय शैयाको प्रस्तावित नयाँ भवनको ठेक्का प्रकृया अघि बढाउने पनि अध्यक्ष श्रेष्ठले प्रतिवद्धता जनाउनुभयो । प्रदेश सरकारको गौरवको आयोजनामा परेको अस्पतालको नयाँं भवनको ठेक्का प्रक्रियालाई कानुनी हिसाबले अप्ठेरो नपर्ने गरी अघि बढाउने श्रेष्ठले बताउनुभयो ।
अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीलाई नागरिकले दोस्रो भगवानका रुपमा लिने भएकाले आफ्नो जिम्मेवारी नभुलेर मुस्कानसहितको सेवा दिन अध्यक्ष श्रेष्ठले आग्रह गर्नुभयो ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले अस्पताल प्रशासन र कर्मचारीबीच समन्वय र तालमेल गरेर अघि बढ्न सुझाव दिँंदै विरामीमैत्री राम्रो व्यवहार गर्न आग्रह गर्नुभयो । प्रादेशिक अस्पतालमा बढ्दो विरामीको चाप घटाउन उपमहानगरले वडाहरुमा १५ शैयाका अस्पताल बनाउन शुरु गरिसकेको उहाँले बताउनुभयो ।
अस्पतालका पुर्व अध्यक्ष बाबुराम भट्टराईले १२ सय शैयाको अस्पताल भवन ठेक्कामा डेढ अर्ब रुपैयां तलमाथि गर्न खोजिएकाले ठेक्का विवादित र अलपत्र परेको भन्दै अब कानुनी प्रकृया मिलाएर अघि बढाउनुपर्ने सुझाउनुभयो । उहाँले अप्रेशनको पालो ६ महिना कुर्नुपर्ने वाध्यता अन्त्य गर्न, वन कार्यालयको जग्गा अस्पतालको स्वामितत्व र संरक्षणमा लिन सुझाव दिनुभयो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुदर्शन थापाले लामो समयसम्म अध्यक्ष नियुक्ति नहुंँदा अस्पताल अभिभावकविहीन बनेको गुनासो गर्दै अब राजनीति भन्दा माथि उठेर काम गर्ने सक्षम नेतृत्व पाएको बताउनुभयो ।