म ७ वर्षको छँदा मेरो कान दुखेर बाबाले किर्तीपुरको एउटा अस्पताल लैजानु भएको थियो। अस्पतालको नाम याद छैन। म त्यहाँ एउटा वार्डमा हरियो तन्ना ओछ्याइएको फलामको बेडमा पल्टिएँ। सेतो कोट लगाएका एक जना डाक्टर आए। मेरो दाहिने कानमा लाईट बालेर हेरे। डाक्टरको छेवैमा हातमा कपासका स–साना डल्ला बोकेर एउटी दिदी उभिइरहेकी थिइन्। डाक्टरले उनको हातबाट केही डल्ला कपास लिए। त्यसलाई कन्कर्नोमा राखे र मेरो कानमा घुसाएर हुँडल्न लागे।
बीच बीचमा डाक्टरले ती दिदीलाई यसो गर्न, उसो गर्न अ¥याउथे। उनले जसो भन्थे दिदीले छिटो–छिटो त्यो काम सक्थिन्। अनि पहिले जसरी नै छेवैमा आएर डाक्टरसँगै मेरो कानमा हेर्थिन्। डाक्टरको कुईनो चलिरहेकाले मैले ती दिदीको अनुहार भने पूरै देख्न पाएकी थिइनँ। उनले आफ्नो कपाल माथि लगेर डल्लो पारेकी थिइन्। त्यसलाई हातले बुनेको जस्तो देखिने कालो ‘हेयर ब्याण्ड’ले ढाकेकी थिइन्। शरीरमा सेता सुट पहिरिएकी थिइन्। त्यसको कोलर झण्डै चिउँडोसम्मै पुगेको थियो। नजर नहटाई मैले ती दिदीमा केही खोजे जसरी हेरिरहेकी थिएँ। तरपनि मलाई उनमा केही कुराको कमी भएको जस्तो लागेको थियो। के होला ? त्यो भने थाहा थिएन।
एकैछिन पछि झल्यास्स सम्झिएँ–‘साँच्ची दिदीको हातमा लाल्टिन खोई?’
अस्पताल जानुभन्दा केही दिन अगाडि ‘सोसल स्टजिज’ पढाउने मिसले हामीलाई फ्लोरेन्स नाइटिङ्गेलको बारेमा बताएकी थिइन्। ‘नाइटिङ्गेलले युद्धमा घाइते भएर लडिरहेका सिपाहीलाई रातको समयमा लाल्टीन बालेर घाउमा मलम लगाइदिन्थिन्’ मिसले भनेकी थिइन्।
त्यसदिन अस्पतालमा म आफूलाई युद्धमा रक्ताम्मे भएर लडिरहेको एक सिपाही र ती दिदीलाई मलम लगाइरहेकी फ्लोरेन्स नाइटिङ्गेल सम्झिरहेँ। बेडबाट उठेर ढोका बाहिर ननिस्किदाँसम्म नाइटिङ्गेलको हातमा पहेँलो प्रकाश फालिरहेको एउटा लाल्टिन खोजीरहेँ।
मैले पहिलो पटक किताब बाहिर कुनै नर्सलाई भेटेकी थिएँ। दुधेबालकले साँझमा चम्किरहेको चन्द्रमामा एक टकले आँखा गाडेजसरी मैले उनलाई हेरिरहेँ। मैले किन आँखा गाडिरहेकी थिएँ? त्यतिबेला थाहा थिएन। सायद चन्द्रमाको चमक जस्तै ती दिदीमा पनि केही थियो होला। तर मैले आज सम्झन्छु, उनको हाउभाउमा केही माया देखेकी थिएँ। आँखामा केही दया देखेकी थिएँ। उनले लगाएका कपडाले उनलाई केही निडर देखाएको थियो। र, त्यो पनि मैले देखेकी थिएँ।
मेरो निर्दोष मगजमा ती नर्सको छाँया गडिसकेको थियो। अस्पतालबाट घर आइनपुग्दै मेरो अवचेतमा एउटा सपना बन्दै थियो। त्यसदिनदेखि मलाई ठूली भएर के बन्ने भनेर प्रश्न गर्नेहरुले एउटै उत्तर पाए–‘म नर्स बन्छु, फ्लोरेन्स नाइटिङ्गेलले जस्तै घाइते सिपाहीका घाउमा मलम लगाउँछु।’
‘टिपिकल’ हिन्दी फिल्ममा देखाउने मध्यम वर्गीय परिवार जस्तै लाग्छ मेरो घर। बुवाले काठमाडौं किर्तीपूरमा एउटा फोटो स्टुडियो चलाउनुहुन्छ। त्यसबाट हुने आम्दानीलाई महिनाको सुरुमा नै एउटा ‘योजना’ बनाएर खर्च गर्नुपर्छ। परिवारका निश्चित आवश्यकता भन्दा बाहिरका रहरहरु बिरलै मात्र पूरा भएका छन्। यदि केही रहरहरु पूरा भएका छन् भने ती रहरहरु कि मेरा कि मेरो भाईका हुन्थे। बाबा र मम्मीका रहरहरु के हुन् भनेर हामी दिदीभाईलाई थाहा छैन, किनभने ती आजसम्म पूरा भएको देखेकै छैनौं। सायद हामी छोराछोरीका रहर पूरा गर्नु नै उहाँहरुको रहर हो कि!
मेरो सपना त्यति ठूलो रहेनछ क्यारे! ठूलो संघर्ष बिना नै वास्तविकता बन्यो । पहिलो पटक नर्सलाई देखेको १७ वर्षपछि म आफैं नर्स बनेँ। तर, सपना र वास्तविकता फरक हुँदा रहेछन्! नर्स बनेपछि मसँग न त घाईते सिपाही थिए न त हातमा लाल्टिन नै थियो। बरु हातमा नर्सिङको लाइसेन्स थियो, अनि निधारमा थियो बेरोजगारीको बिल्ला।
सिटिइभिटीले गएको फागुन २४ गते साँझ नर्सिङको लाइसेन्स हातमा थमाइदियो। लाइसेन्स पाएपछि मनमा धेरै कुराहरु आए। बिहानै उठेर बाबाले फोटो स्टुडियो खोल्दा आउने सटरको कर्कस आवाजभित्रै हराएका बाबा र मम्मीका रहरहरुबारे सोचेँ। परिवारको औसतताका कारण मिचिएका मेरो भाईका सपनाहरु बारे सोचेँ। नर्स बनेपछि परिवारको सामान्यताबाट निस्केर आत्मनिर्भर जीवन बाँच्ने मेरा रहर बारे सोचेँ।
मेरा साथीहरुले पढ्दादेखि नै ‘होम केयर’मा काम गर्न सुरु गरिसकेका थिए। कतिले निजी अस्पतालमा काम पाएका थिए। म भने सपनाको टाकुराबाट वास्तविकताको धरातलमा बजारिएकी थिएँ। अब जसरी पनि मलाई काम चाहिएको थियो। मलाई ‘घाइते सिपाहीहरु’ चाहिएका थिए।
ठीक त्यति नै बेला चीनको वुुहानमा जरा गाडेको कोरोना भाइरसले युरोप, मध्यपूर्व, एसिया र अमेरिकी देशहरुमा हाँगा फैलाइरहेको थियो। एसियाको चीन, युरोपको ईटाली र मध्यपूर्वको ईरानमा जनजिवीका ध्वस्त हुँदैं गएका समाचारहरु आइरहेका थिए। सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय मिडियाहरुमा कोरोना भाइरस बाहेकका समाचारहरु आउनै छाडेका थिए।
इटालीका सडकमै मानिस मरिरहेका, खचाखच अस्पताल, वुहानका सुपरमार्केट अगाडि मानिस लडिरहेका, ईरानमा संक्रमितको मृत्यु भएपछि चिकित्सकले निलो प्लास्टिकले बेरिरहेका, अस्तव्यस्त तरिकाले प्रहरीले शव गाडिरहेका जस्ता दृश्यहरु कोरोना भाइरस जसरी नै ‘भाइरल’ भइरहेका थिए। यस्ता दृश्यले मानिसको भविष्य अनिश्चिततातर्फ बढिरहेको संकेत गर्दथे। अनिश्चितता डरको सबैभन्दा ठूलो स्रोत रहेछ! सामाजिक सञ्जालमा देखिएका प्रतिक्रिया हेर्दा लाग्थ्यो–अनिश्चितताले सिंगो मानव जातिको मुटु हल्लाइरहेको छ।
आफू स्वास्थ्यकर्मी भएकाले मैले यो महामारीलाई नजिकैबाट नियालिरहेकी थिएँ। तर, यसको वास्तविक असर कुन आयातनको होला भनेर आँकलन गर्न निकै गाह्रो थियो। महामारीबारे अन्तराष्ट्रिय रिसर्च केन्द्रहरुले गरेका अनुसन्धान प्रारम्भिक चरणमा नै थिए। विश्व स्वास्थ्य संगठनका ‘ब्रिफिङ’हरु सुन्दा संगठन आफैं अलमलमा परेको जस्तो देखिन्थ्यो। कोरोना भाइरसका कारण शक्तिशाली र मावन विकास सूचकांकमा अगाडि रहेका मुलुकहरु हतोत्साही बन्दै थिए। तेस्रो विश्वका साना मूलुकहरुमा भने महामारी अझैं राम्रोसँग छिरिनसकेकाले पहिलो विश्वका मुलुकहरुको जनस्वास्थ्यमा आएको उग्र परिवर्तनलाई बुझ्ने कोशिश गरिरहेका जस्ता देखिन्थे।
नेपालमा पहिलो संक्रमित निको भएर घर फर्केपछि लामो समयसम्म पनि दोस्रो संक्रमित फेला परेन। केहीले हावापानी र नेपालीहरुको प्रतिरक्षा शक्तिका कारण कोरोनाले असर गर्न नसक्ने अवैज्ञानिक अनुमान लगाएका थिए। केहीले भने ठूलो आँधी आउनु अगाडिको सन्नाटाको रुपमा बुझेका थिए।
जे भएपनि पर क्षितिजमाथि अनिश्चितताको कालो बादल मडारिइरहेको सजिलै देखिइरहेको थियो। त्यही बादलको छाँयाले कता–कता मलाई पनि छोएको थियो। नर्स बनेर जागिर खाने सपना महामारीले ल्याएको अनिश्चिततामा रुमलिएको थियो। घरमा बाबाले ‘स्थिति सामान्य’ भएपछि काम खोजौंला भन्नुभयो। आफन्तहरुले अहिले काम खोज्ने बेला नै होइन भने। अन्त्यमा मैले पनि ‘सबै सकिएपछि’ काम खोज्ने विचार गरेँ।
फागुनको अन्तिम साता म आन्टीको बिहेको लागि नेपालगञ्ज गएकी थिएँ। बिहे सकेर दाङ फर्किएँ। दाङमा हाम्रो स्थायी घर छ। यहाँ हजुरआमा र काकाहरु बस्नुहुन्छ। केही दिन म त्यहीँ बसेँ । यसैगरी अझै केहीदिन यतै बरालिने सोचेकी थिएँ। समय बित्दो थियो।
घरमै बसेर एक दिन फेसबुक ‘स्क्रोल’ गरिरहेकी थिएँ। ‘लभ्ली नेपाली नर्सेज’ भन्ने ग्रुपमा बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालले केही नर्सहरु खोजिरहेको सूचना देखेँ। ‘स्क्रोल’ गर्न रोकेर सबै सूचना पढेँ। मन मनै सोचेँ–‘सरकारी अस्पताल हो, जागिर पाइयो भने त काइदा हुन्छ।’
तर, बुटवल मेरो लागि नितान्त नयाँ ठाउँ थियो। दाङबाट काठमाडौं जानेबेलामा या फर्कने बेलामा तिनाउ पुलको दुवैतर्फ खोलाको किनारैकिनार घना बन्दै गइरहेको वस्तीहरु देख्थेँ। मैले बुटवललाई त्यसरी मात्रै चिनेकी थिएँ। अनि त्यसैमाथि जागिर गर्न थालेपछि एक्लै बस्नु पर्ने भयो। बाबा मम्मीसँग आजसम्म नछुटेकी म, त्यो सोँचेपछि केही आत्तिएजस्तो अनुभूत भयो। अनि फेरि पहिलेजस्तै फेसबुक ‘स्क्रोल’ गर्न थालेँ।
राती खाना खाइवरी विस्तारामा पल्टिएँ। कोठा अध्यारो थियो। मनमा कुरा खेलिरहेको थियो। दिमागमा अघि फेसबुकमा देखेको अस्पतालको सूचना नाचिरहेको थियो। भारतसम्म कोरोना फैलिसकेको थियो। नेपाल आइपुग्न कत्तिबेर लाग्न सक्दैनथ्यो। केही दिनमा नै अस्पतालका बेडहरुमा संक्रमितको भीड लाग्न सक्थ्यो। त्यसैको तयारीस्वरुप यहाँका सरकारी अस्पतालले स्वास्थ्यकर्मी मागिरहेका थिए। त्यो सूचना महामारीकै एउटा असर थियो। त्यसैले त्यहाँ काम गर्नु कोरोनासँग जुध्नु हो भनेर मोटामोटी मैले बुझिसकेकी थिएँ।
कोरोनासँग ‘फेस टू फेस’ हुन सक्ने कुराले मनमा अर्को डरको तरङ्ग फैलियो। चीन र इटालीबाट आइरहेका स्वास्थ्यकर्मीका दर्दनाक तस्विरहरु आँखा अगाडि आए। ३० घण्टासम्म लगातार पीपीई लगाएका कारण अनुहारमा निलडाम परेका ती तस्विरहरु मेरो मुटु कमाउन प्रशस्त थिए।
अहिले मनबाट अघिसम्म एक्लै बुटवलमा बसेर काम गर्नुपर्ने कुराले निम्त्याएको डर एकाएक भाग्यो। किनभने कोरोनासँग जुध्नुपर्ने डर झन् भयानक बनेर आएको थियो। ‘अहिले महामारी तगारो बनेर आएको छ। यो सबै सकिएपछि काठमाडौं कै अस्पतालतिर खोज्नु पर्ला’–मैले सोचेँ। हर फर्किएँ। अनि निदाउन कोशिश गरेँ।
निदाउने प्रयास खेर गइरहेको थियो। डरकै कारण एउटा ठूलो मौका गुमाउन लागिरहेको अनुभूतिले मलाई छोपेको थियो। मैले न मौका गुमाउन चाहन्थे न त महामारीको नजिक जान चाहन्थे। मन यसै बेचैन थियो। अवेरसम्म पनि निन्द्रा परेन। मनमा द्वन्द्व चलिरहेको थियो। एकातिर डर र अर्कोतिर मेरो एउटा ठूलो मौका। मष्तिस्कमा सोचार्इँहरु लडिरहे। निन्द्रा दूर कतै भाग्दै थियो।
जति रात गहिरिदैं थियो, सोँचाइहरु झनै प्रष्ट बनेर आइरहेका थिए। रातको कमजोरी भनौं कि फाईदा यो समयमा जस्तै जोखिमयुक्त सोचाईहरु पनि मगजले सहजै स्वीकार्छ। यसैयसै बहकिन्छ।
अन्तर्मनको कुनै कुनामा एउटा आवाज गुञ्जियो, भन्यो–‘सामान्य महामारी मात्रै होइन यो, एक शताब्दीमा एकपटक आउने ऐतिहासिक महामारी हो।’
त्यो आवाजलाई मैले रोकिन। अझैं सुन्न चाहन्थे। किनभने आवाजले केही वास्तविकता बोलिरहेजस्तो लाग्दथ्यो। ‘सिंगो मानवको जनस्वास्थ्यमाथि धावा बोल्ने यस्ता महामारी हत्तपत्त आउँदैनन्। आएपछि ईतिहासका किताबमा आफ्ना लागि छुट्टै अध्याय नै लेखेर छाड्छन्।’
आवाज चर्कदो थियो–‘त्यो अध्यायको साक्षीमात्रै बन्ने कि त्यसमा आफ्नो नाम पनि लेख्ने?’
मैले भनिहालेँ नि। रातको समयमा सोँचहरुमाथि लगाम लगाउन निकै कठीन हुन्छ। मेरो अन्तर्मन यसै बहकिरहेको थियो, बेलगाम घाँसेमैदानमा कुदीरहेको घोडाजस्तो। मैले रोक्न सकिनँ। क्रिमियाको युद्धमा रक्ताम्मे भएर ढलिरहेका सिपाहीहरुलाई लाल्टिन बालेर घाउमा पट्टी बाँधिरहेकी नाइटिङ्गेललाई सम्झिएँ।
१८ औं शताब्दीमा अमेरिकी गृहयुद्धमा ‘फ्रन्ट लाइन’का सिपाहीहरुलाई उपचार गरिरहेकी क्लारा बर्टनलाई सम्झिएँ। स्पेनिस फ्लु जस्ताजस्ता ठूला स्वास्थ्य संकट र विश्व युद्ध जस्ता ध्वंशमा फ्रन्टलाइनमै खटिएका यस्ता कैयौं नर्सहरुलाई सम्झिएँ। कोरोनासँग जुधिरहेका नर्स र डाक्टरहरुका ती कहालीलाग्दा फोटोहरु सम्झिएँ। यी इतिहासले छाडेका चोखा मानवताका झिल्काहरु थिए। ती झिल्काले कहीँ कतै म भित्र सुतिरहेको ‘७ वर्षे म’को सपनालाई ब्यूँताउने काम गरेको थियो। यतिञ्जेल अघिको मेरो डर निन्द्राको साथ लागेर कतै बेपत्ता भएको थियो।
महामारीलाई फेसबुकमा आउने समाचारबाट भन्दा ‘फ्रण्टलाइन’बाटै अनुभूत गर्ने कुरा मलाई निकै जीवन्त लाग्यो। महामारीको आँधीमा हेलिएर त्यहाँबाट सुरक्षित निस्किन सकेमा मेरो नर्सिङ क्षमतामा पनि सुधार आउन सक्थ्यो। महामारीले सिकाउने पाठ जुनसुकै विश्वविद्यालयको भन्दा धेरै प्रभावकारी हुनसक्छ भन्ने लाग्यो। कोरोनापछि ममा आउने परिवर्तनहरुको बारेमा पनि आँकलन गरेँ। म झनै रोमाञ्चित भए। शरीरमा ऊर्जाको सञ्चार भएजस्तो लाग्यो। म थप जिम्मेवार भएको जस्तो लाग्यो। किनभने म आफूले आफैंलाई चुनौती दिन खोजिरहेकी थिएँ। त्यसैले मनमनै भने–‘मेरो जीवनकालमा सायद यो भन्दा ठूलो मौका नआउन सक्छ, जसरी भएपनि जागिरका लागि दरखास्त हाल्छु, हाल्छु।’
मनमा आएको निचोडले अघि अनिश्चितताका कारण निम्तिएको तनाब एकाएक कम भएजस्तो अनुभव गरेँ। मष्तिस्कमा सोँचहरुको बेहरी साम्य बन्यो। मन हलुका भयो। एकैछिनमा त भुसुक्कै निदाए पनि।
भोलिपल्ट यो खबर घरमा सुनाएँ। मसँगै रहेका काका र दिदीहरुलाई सुनाएँ। दिदीले यस्तो बेलामा घर नछाड्न भन्नुभयो। काकाहरुले अहिले जागिर नगरे पनि हुन्छ भन्नुभयो। घरका अन्य सदस्यले मलाई कतै नजान भने। उनीहरुले बाबालाई समेत छोरीलाई कतै नपठा भन्दै फोन गरे।
मलाई बाबाको प्रतिक्रिया जान्न मन थियो। काकाको घरबाट काठमाडौं बाबालाई फोन गरेँ र बुटवलको एक सरकारी अस्पतालमा ‘भ्याकेन्सी’ खुलेको बताएँ। सुरुमा बाबाले अहिले तत्काल काम गर्नु पर्दैन भन्नुभयो। म केही निराश हुँदै जानी–नजानी सबै कुरा बताएँ। यो जागिर मेरा लागि कति महत्वपूर्ण छ भनेर बाबालाई सम्झाउने कोसिस गरेँ। त्यसपछि सजिलै बाबा राजी हुनुभयो।
फागुन ८ गते बाबासँग बुटवल आएँ। अस्पतालमा गएर जागिरका लागि दरखास्त हालेँ। लिखित परिक्षा भएन। मौखिक परिक्षा मात्रै हुने भयो। अस्पतालका मेडिकल सुपेरिटेन्डेण्ट, मेडिकल अफिसर, नर्स ईन्चार्जलगायतले ईन्टरभ्यू लिनुभयो। म पास भएँ। म पनि छानिएको रहेछु। ९ गतेदेखि नै म ड्युटीमा खटिएँ।
‘घाइते सिपाही’सँग
ड्युटी सुरु हुँदा सरकारले लकडाउन घोषणा गरिसकेको थिएन। तर, भारतमा भने लकडाउन सुरु भइसकेको थियो। त्यसैले यहाँ पनि छिट्टै हुनसक्ने आँकलन सबैले गरेका थिए। मैले ड्युटी सुरु गरेको दुई दिनपछि नेपालभर लकडाउन भएको घोषणा सरकारले गर्यो। त्यसपछि काममा नै खटिनुपर्यो। कामबाट सिधै अस्पतालले नै व्यवस्था गरेको होटेल फर्कन्थे।
मलाई लुम्बिनी प्रादेशिक अस्पताल र बुटवल उपमहानगरपालिका मिलेर सञ्चालन गरेको कोरोना विषेश अस्पतालमा खटाइएको थियो। सरकारले सञ्चालन गर्न नसकेर बन्द रहेको धागो कारखानामा अस्थायी रुपमा बनाइएको यो अस्पतालमा कोरोना संक्रमितहरुलाई मात्रै उपचार गर्ने भनिएको थियो। सुरुमा कोरोना भाइरस संक्रमणका लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएका कोरोना संदिग्ध व्यक्तिहरुलाई अस्पतालमा ल्याइएको थियो। तर, पोजिटिभ रिपोर्ट नआएकाले सबैजना ढुक्क जस्तै थियौैं।
वैशाख १९ गते मर्निङ सकिने बेलातिर लुम्बिनी प्रादेशिक अस्पताल अगाडि गाडी कुरेर बसिरहेकी थिएँ। साँझको ड्युटीका लागि मलाई धागो कारखाना जानुथियो। त्यति नै बेला मलाई अस्पतालको ‘गार्ड’ दाईले फोन गर्नुभयो। ‘अस्पतालमा कोटहीमाईबाट कोरोना संक्रमितलाई ल्याउँदैं छन्’–उहाँले भन्नुभयो।
अस्पताल कोरोना संक्रमितलाई नै उपचार गर्ने भनेर बनाइएको थियो। संक्रमितकै हेरचाह गर्ने भनेर मलगायतका स्वास्थ्यकर्मी खटाइएको थियो। तर, त्यहाँ कोरोना संक्रमित आएका छन् भन्दा मलाई विश्वास लागेको थिएन। कस्तो अचम्म ! म त उहाँहरु जिस्किनु भयो होला भन्ने भन्ठानेकी थिएँ। चीनबाट उदाएको कोरोना भारत हुँदैं रुपन्देहीको देहातमा बस्ने २५ बर्षीय कृष्ण कुमार पाशवानसँगै म छेवैमा आइपुगेको थियो। मलाई त्यो कुरा सजिलै पचाउन गाह्रो पर्यो।
एक बजेतिर म अस्पताल पुगेँ। हो रहेछ, संक्रमित त्यहीँ हुनुहुन्थ्यो। उहाँले भारतको दिल्लीमा काम गर्नुहुन्थ्यो रे। त्यहाँको सरकारले लकडाउन घोषणा गरेपछि घर जान भनेर हिड्दै कोटहीमाईसम्म आउनुभएको रे! आउँदा नआउँदै क्वारेन्टिनमा राखियो। स्वाब संकलन गरेर पिसीआर गर्दा पोजिटिभ देखिएछ।
अस्पतालमा पहिलोपटक कोरोना संक्रमित आएका थिए। उनको हेरचाह गर्ने जिम्मेवारी हाम्रो थियो। पहिलो र दोस्रो दिन निकै डरायौं। हामीले बिरामीलाई चिनेका थिएनौं। बिरामी कस्तो छ ? के छ ? भाग्न सक्ला ? के गर्ला ? यस्ता साना कुरा मनमा आए। बिरामीले फरक व्यवहार देखायो भने कसरी ‘ह्याण्डल’ गर्ने भनेर मनमनै सोच्थ्यौं। मनमा एक किसिमको डर लागेको थियो।
त्यहाँ ‘गार्ड’ दाईहरु त थिए। तर, उनीहरुलाई कसरी तयार पार्ने? खासै धेरै जानकारी नै थिएन हामीलाई। त्यसैमाथि हामीले पीपीई प्रयोग गरेर पनि सुरक्षित छौं कि छैनौं भनेर हामीलाई थाहा थिएन। पीपीईबारे ट्रेनिङहरु लिइरहेका त थियौं। तर, ट्रेनिङ लिनु र पीपीई लगाएर बिरामी कहाँ जानु भनेको निकै फरक कुरा रहेछ। यो कुरा पहिलो पटक संक्रमितको नजिक पुग्दा मैले चाल पाएकी थिएँ।
कृष्ण दाई (पछि हामीले उहाँलाई कृष्ण दाई भनेर सम्बोधन गथ्र्यौ) लाई भित्र आइसोलेसनमा राख्यौं। कोरोनाको औषधी नभएकाले संक्रमितमा देखिने लक्षणको आधारमा औषधी चलाएका थियौं। सकेसम्म भिटामिन सी ट्याबलेट र फलफूलहरु धेरै खान दियौं। खानामा पनि पोषिलो खानेकुराहरु दिएका थियौं। उहाँ एक जनामात्रै बिरामी हुनुहुन्थ्यो त्यसैले उसलाई केही कुरामा कमी हुन दिएका थिएनौं।
बरु एक्लै बस्दा कृष्ण दाईको मनस्थितिमा केही नकारात्मक परिवर्तन आउने हो की भन्ने कुराले हामी नर्सहरुलाई निकै पिरोलिरहन्थ्यो। धागो कारखानाको त्यत्रो ठूलो हलमा बनाइएको आइसोलेशनमा एक्लै बस्नुपर्दा जो सुकैलाई पनि एक्लो महसुस हुनसक्थ्यो। यहाँ वाइफाई थिएन न त बिरामीसँग वाइफाई चल्ने मोबाइल नै थियो। आइसोलेसनमा एक्लै बसिरहनुहुन्थ्यो।
उहाँको हेरचाहमा धेरैजसो म र सुवर्णा हुन्थ्यौं। हामीले एक्लो हुन नदिन उहाँलाई गीत बजाइदिन्थ्यौं। कतिपटक त उहाँले नै फर्माइस गर्नुहुन्थ्यो, हामीले बजाइदिन्थ्यौं। आइसोलेसनमा बसेको छैठौं दिन उहाँले ‘कसोरी कसोरी’ बोलको गीत बजाइदिन भन्नुभयो। मैले त्यो गीत बजाइदिएँ।
गीत बजिरहेको थियो। मैले चर्को स्वरमा चिच्याएँ–‘गीत मात्रै कति बजाइदिनु, तपाईलाई नाच्न आउँदैन ?’ सुरुमा उहाँ लजाउनुभयो। तर, हामीले केही कर गरेपछि नाच्नुभयो। आइसोलेसनमा लगाएको सीसी क्यामेराले खिचेका दृश्य बाहिर टिभीमा हेरिरहेका थियौं। बिरामी नाचेको हामीले त्यहीँबाट मोबाइलमा खिचिरहेका पनि थियौं। तर, त्यो कुरा उहाँलाई भने थाहा थिएन।
त्यो भिडियो भाइरल बनाउने भनेर बनाएको थिएनौं। बिरामी कसरी ‘रिफ्रेश’ भइरहेको छ भनेर ईन्चार्ज ज्योति म्याडमलाई पठाउन खिचेका थियौं। तर, भिडियो भाइरल भयो। बिरामीको घरसम्मै पुगेछ। भोलिपल्ट बिरामीको दाईले नाचेको थाहा पाएर बिरामीलाई गाली गर्नुभएछ। ‘तलाई नाँच्न पठाएको कि उपचारका लागि भनेर दाईले गाली गर्नुभयो’–बिरामीले पछि हामीसँग गुनासो पोख्नुभएको थियो। तरपनि हामीले उहाँलाई नचाउन छाडेका थिएनौं।
बिरामी निकै सहयोगी भावनाको हुनुहुन्थ्यो। जे कुरा पनि सोधेर मात्रै गर्नुहुन्थ्यो। बाहिर कतै निस्कन छ भने यहाँ जान्छु भनेर मात्रै जानुहुन्थ्यो। समस्या निकै कम देखाउनुभयो। बिरामी उसको स्वास्थ्यलाई लिएर आफैंं गम्भीर हुुन्छ भने नर्समा आफसेआफ उत्साह बढेर आउने रहेछ। म उहाँलाई हेरचाह गर्दा धेरै प्रेरित भएकी थिएँ।
अस्पतालमा अन्य बिरामीहरु आउँदा उहाँले बिरामीहरुको नेतृत्व गर्नुभयो। के गर्ने र के नगर्ने भनेर सिकाइरहनु हुन्थ्यो। अस्पताल आएको १२ औं दिन उहाँको तेस्रो पटक नेगेटिभ रिपोर्ट आयो। खुसीको खबर लिएर म पुगेँ। ‘तपाईको नेगेटिभ रिपोर्ट आएको छ, आजै तपाई डिस्चार्ज हुनुहुने छ’–मैले भने ।
त्यो खबरले भर्खरै कोरोना जितेका ती व्यक्तिको अनुहारमा निकै ठूलो मुस्कान ल्याइदियो। मैले केहीबेर उनलाई हेरिरहेँ।
केहीबेर पछि उनले भने–‘अब आमालाई भेट्न पाउने भएँ।’
१२ औं दिनसम्म मैले हेरचाह गरेको बिरामीका बारेमा उहाँ डिस्चार्ज भएपछि मात्रै थाहा पाएकी थिएँ। समाचारमा आएका समाचार पछ्याउँदा कृष्ण दार्ई रुपन्देहीको सुदूर दक्षिणमा रहेको कोटहीमाई गाउँको एउटा गाउँमा बुकुरोमा बस्नुहुने रहेछ। भारतमा लकडाउन भएपछि मरेपनि आमाकै काखमा मर्ने तर दिल्लीमा भोकै नमर्ने अठोट गरेर हिड्दै नपालसम्म आउनुभएको रहेछ।
घर नजिकै आइपुग्दा त्यहीँबाट सिधै क्वारेन्टिनमा राखिएको रहेछ। क्वारेन्टिनमै कोरोना देखिएपछि भने कृष्ण दाईले आमालाई भेट्न अझैं केही हप्ता लाग्ने भएको थियो। कान्छा छोरालाई कोरोना देखिएपनि प्रशासनको आग्रहमा जेठो छोरा र बुहारीसँग कृष्ण दाईकी आमालाई पनि क्वारेन्टिनमा राखिएको थियो। आमा लामो समयदेखि क्यान्सरबाट ग्रसित भएपनि क्वारेन्टिनमा रहेकै बेलामा गम्भीर लक्षणहरु देखिएका रहेछन्।
त्यसदिन कृष्ण दाईलाई खुसीको खबर सुनाउँदा आमालाई भेट्न पाउने भएँ भन्दै उनले निकालेको ठूलो मुस्कान मलाई बल्ल अर्थपूर्ण लागेको थियो।
एक शताब्दीमा एक पटकमात्रै आउने महामारीलाई जितेर घरमा क्यान्सरबाट ग्रसित आमालाई कम्तीमा देख्न मात्रै भएपनि पाउँछु जस्तो लागेर कृष्ण दाई मुस्कुराउनुभएको रहेछ।
त्यो मुस्कानमा मैले आफूलाई खोज्ने प्रयास गरेँ। युद्धमा रक्ताम्मे भएर लडिरहेको सिपाहीलाई मलम र पट्टी लगाइदिएर फेरि युद्धमा फर्काएजस्तै हामीले कृष्ण दाईलाई उनकी आमाकहाँ फर्काएका थियौं। त्यसअघि उनी पनि ‘घाइते सिपाही’ थिए। अहिले एउटा घाइते सैनिकलाई सञ्चो पारेर घर पठाउँदाको सुखद् अनुभूति भइरहेछ। सायद यहीँ अनुभूति पाउन फ्लोरेन्स नाईटिङ्गेलले क्रिमियाका ती घायल लडाकुहरुलाई रातमा लालटिन बालेर मलम लगाउँथिन्। फरक यत्ति थियो कि मसँग लाल्टिनको ठाउँमा पीपीई थियो। त्यहीँ लगाएर हेरचाह गरिरहेकी थिएँ।
पाठशाला बन्यो महामारी
मैले काम सुरु गर्दा आफू त्यति सुरक्षित छैनौं जस्तो लागेको थियो। संक्रमितहरु आइनसकेकाले त्यति गम्भीर भने थिइन। अन्य प्रदेशमा कोरोना संक्रमित फेला परिसक्दा यहाँ देखिएका थिएनन्। यसले सबैमा एक किसिमको उदासिनता ल्याएकोे थियो। ‘प्रोएक्टीभ’ हुन कोही नचाहेजस्तो देखिन्थ्यो। त्यसैले यहाँ सुरक्षाका उपकरणहरु त्यति धेरै उपलब्ध थिएनन्। कोरोना संदिग्ध केशहरु पनि निकै थोरै हुनुहुन्थ्यो। बिरामी आउनसक्छन् भनेर केही पीपीई जोगाड गरिएको थियो। एक जनामात्रै बिरामी आउँदा त्यस्तो डरलाग्दो स्थिति थिएन। ‘तर, एकैपटक धेरै आए भने ?’ यहाँ सबैमा यही डर थियो।
तर, संक्रमितहरु ह्वात्तै बढेपछि भने उनीहरुको व्यवस्थापन गर्न केही समस्या भयो। केही बिरामीहरुले अनावश्यक समस्या पनि देखाउनुहुन्थ्यो। यतिसम्म कि कहिले एउटालाई टाउको दुख्दा सबैको टाउको दुख्ने!
एउटाको चप्पल च्यातियो भने सबैको चप्पल च्यातिने! अनि कतिले अनावश्यक मागहरु राखेर दुःख दिनुभयो। कति कति बेला आइसोलेशनमै बिरामी–बिरामी बीच कुटाकुट पनि भयो।
खासगरी मलाई छिटो रिस उठ्दैन। तर, एक दिन भने मैले नियन्त्रण गनै सकिनँ। आइसोलेसनमा बिरामीहरु फेरि कुटाकुट गर्न लागेका थिए। उनीहरु चप्पल चुटेको कुरामा झगडा गरिरहेका थिए। त्यो दिन मलाई झनक्क रिस उठ्यो। मैले माइकबाट निकै झपारेँ। त्यत्रो साहस कहाँबाट आयो मैले मेसो पाएकी थिइन। पछि उनीहरुले हामी जिस्केको भने। तरपनि म दुई तीन दिन उनीहरुसँग राम्रोसँग बोलेकी थिइनँ। पछि भने उहाँहरुले माफी माग्नुभयो। अनि स्थिति साम्य भयो।
३६ जनासम्म बिरामी पुग्दासम्म पनि सबै कुराको व्यवस्थापन भइरहेको थियो। सायद महामारी भनेकै यहीँ रहेछ। यसले अभावै अभावका बीच आफूसँग भएका स्रोतहरुको उच्चतम प्रयोग गर्न सिकाउछ जस्तो लाग्छ।
त्यसबाहेक कोरोनाले मेरो करिअरमा धेरै परिवर्तन ल्यायो। यसभन्दा अगाडि व्यक्तिगत ‘हाइजिन’मा त्यति गम्भिर थिइनँ जस्तो लाग्छ। महामारी हामीले धेरै अनि फरक किसिमका व्यक्तिगत सरसफाईका उपाय अननाउन थालेका छौं। यसो त यसले नर्सहरुमा मात्रै होईन आम मानिसहरुलाई समेत व्यक्तिगत हाइजिन सिकाएर जान्छ जस्तो लाग्छ।
घर जान मन छ
म दैनिक घरमा कुरा गरिरहन्छु। घरबाट छिनछिनमा फोन आउँछ। ड्युटी कतिबेला जाने ? कति बेला फर्कने ? केही खाएँ कि खाइनँ ? यी प्रश्नहरुको छिनछिनमा उत्तर दिनु पर्छ। बाबा मम्मी मेरो सुरक्षालाई लिएर निकै चिन्तित हुनुहुन्छ। तरपनि मलाई हौसला दिन ‘डराउनु हुँदैन’ भन्नुहुन्छ। त्यसोभन्दा उहाँहरुको आवाजमा डर महसुस गर्ने गरेकी छु।
मलाई भाईको सबैभन्दा धेरै याद आइरहेको छ। ऊसँग छुटेर आजसम्म यतिधेरै समय कहिल्यै पनि बिताएकी थिइनँ। घर कहिले जाउँ जस्तो भइरहेको छ। आएदेखि नै गएको छैन। तर, जोखिम अत्याधिक बढिसकेको छ। म घर जाने कुरा अनिश्चितामा रुमलिइरहेको छ। जसरी, कोरोना भाइरसको संक्रमण हराउने कुरा अन्योलमा छ, त्यसरी नै।
(कोरोना विशेष अस्पताल बुटवलमा कार्यरत नर्श रिया थापासँग लुम्बिनी टाइम्सका लागि जीवराज चालिसेले गरेको कुराकानीमा आधारित)