बुटवल–पछिल्लो समय अग्रभागमा खटिनेहरुमा धमाधम कोरोना भाइरसको संक्रमण देखिन थालेको छ। प्रदेश ५ मा बाँके, कपिलवस्तु र रुपन्देहीमा समुदायस्तरमै कोरोना भाइरसको संक्रमण फेला परेको छ।
त्यसमा पनि स्वास्थ्यकर्मी, प्रहरीहरुमा कोरोना संक्रमण देखिएको छ। कपिलवस्तुमा गत वैशाख ३० गते एक नर्समा कोरोना संक्रमण देखिएको थियो। उनीसहित हालसम्म कपिलवस्तुमा एक दर्जन स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिइसकेको छ। अग्रभागमा हुनेहरुमध्ये स्वास्थ्यकर्मीहरु कोरोनाको सबै भन्दा जोखिममा हुने गर्दछन्।
बिरामीको उपचारमा खटिनुपर्ने भएकाले समुदायस्तरमा कोरोना फैलिदा सबैभन्दा बढी स्वास्थ्यकर्मीहरु जोखिममा छन्।
पीपीईलगायत स्वास्थ्य सुरक्षाका सामग्री लगाएर काम गर्दा पनि कतिपयमा संक्रमण देखिएको छ। बाँकेमा पनि एक दर्जन चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण देखिएको छ।
आज मात्र नेपालगञ्ज मेडिकल कलेजका २ जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ। मेडिकल कलेजमा ३ जना चिकित्सक र ६ नर्सिङ स्टाफमा कोरोना संक्रमण देखिएको छ। बाँकेमा हालसम्म ४ जना चिकित्सकसहित १२ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिसकेको स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए।
यस्तै रुपन्देहीमा हालसम्म ३ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। प्रदेशका विभिन्न जिल्लामा गरेर ३ दर्जन बढीमा कोरोना संक्रमण देखिएको छ।
प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरिले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई पर्याप्तमात्रामा पिपिइ लगायतका स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराएको दाबी गरे। ‘सुरुसुरुमा पिपिइको केही अभाव थियो, अहिले पिपिइ सहित माक्स, पञ्जा लगायतका सामाग्री पर्याप्त छ–उनले भने ‘जोखिममा रहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुको पिसिआर पनि परिक्षण गरिरहेका छौ।’
अग्रभागमा रहेर काम गर्ने मध्ये कोरोना भाइरसको जोखिममा सुरक्षाकर्मीहरु देखिएका छन्। केन्द्रमा प्रहरी प्रधान कार्यालयमा ठूलो संख्यामा भाइरस देखिँदा प्रदेशका प्रहरी इकाइहरुमा पनि संक्रमण बढेको छ।
बाँकेको नेपालगञ्जमा रहेको वडाप्रहरी कार्यालयमा ३५ जनामा संक्रमण देखिएको छ। कोरोना संक्रमण देखिएपछि वडाप्रहरी कार्यालयलाई सिल गरिएको छ।
यो सहित प्रदेशभरमा कुल संक्रमितको संख्या ४१ पुगेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजकुमार बैदवारले जानकारी दिए। नागरिकसँग बढी सहकार्य गर्नुपर्ने र समुदायमा घुलमिल हुनुपर्ने भएकाले प्रहरी सेवा तथा सुरक्षाकर्मीहरु जोखिममा हुने बैदवारको भनाइ छ।
‘२४सै घण्टा नागरिकसँग सहकार्य गर्नुपर्छ, अनुसन्धानको सिलसिलामा घटनास्थल जानुपर्छ, अभियुक्तहरु समात्नुपर्ने हुन्छ, ठाउँ ठाउँमा चेकजाँचमा बस्नुपर्छ–उनले भने–आइसोलेसन र क्वारेन्टिनहरुमा पनि पुगिरहनुपर्छ, समाजमा बढी घुलमिल भएकै कारणले नै सुरक्षा निकायमा पनि संक्रमण फैलिएको हो।’
कोरोना संक्रमणबाट बच्न माक्स, पञ्जा, सेनेटाइजर लगायतका स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरेपनि फिल्डमा खटिइरहुनपर्ने भएकाले जोखिममा भएको बैदवारले बताए।
समुदाय र सबै पक्षसँग भेटघाट गर्नुपर्ने हुँदा सञ्चारकर्मी पनि जोखिममा छन्। फिल्डमा खटेर समाचार संकलन गर्ने सञ्चारकर्मीहरु जोखिममा छन्।
हालसम्म कपिलवस्तुमा ४ जना र रुपन्देहीमा ३ जना सञ्चारकर्मीहरुमा संक्रमण पुष्टि भएको छ। बढी मानिसहरुसँग सम्पर्क हुने पसलका व्यापारी, बैंकका कर्मचारीहरुमा पनि पछिल्लोपटक संक्रमण देखिएको छ।
कपिलवस्तुमा पनि २० जना भन्दा बढीमा बैंकका कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। केही दिन अघि रुपन्देहीको देवदहका बैंक कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ। ठाउँ ठाउँमा किराना पसलहरुबाट संक्रमण फैलिएको पाइएको कपिलवस्तु स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए। तौलिहवा क्षेत्रमा किरानापसलदेखि पानपसल, फेन्सी पसलका व्यक्तिहरुका पनि संक्रमण देखिएको उनले बताए।