बुटवल । किशोरीलाई कानुन, यौन तथा प्रजनन स्वास्थ्यबारे जानकार गराउन तीनै तहका सरकाले लगानी बढाउनुपर्नेमा जोड दिइएको छ ।
सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना तथा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा आज बुटवलमा आयोजना गरिएको प्रदेश स्तरीय किशोरी सञ्जालका लागि कानुन, यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी अभिमूखीकरण कार्यक्रमका वक्ताहरुले यौन तथा प्रजनन स्वास्थ्यबारे जानकार नहुँदा किशोरीहरुको सानै उमेरमा विवाह हुने भएकाल शिक्षाको अवसरबाट बञ्चित हुनुका साथै शारिरिक मानसिक प्रभाव पर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल नगरपालिका संघ लुम्बिनीका अध्यक्ष खिलध्वज पन्थीले किशोर किशोरी देशको ठूलो मानवीय स्रोत भएकाले यसको संरक्षण गर्नु सरकारको दायित्व भएको बताउनुभयो । “समृद्धिको पहिलो आधार मानव पुँजी हो, यसको संरक्षणका लागि स्थानीय तह प्रतिवद्ध छ”, उहाँँले भन्नुभयो । उहाँले यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा किशोरी सचेतना कार्यक्रम समुदायस्तरसम्म पु¥याउन जरुरी रहेकामा जोड दिनुभयो ।
सामाजिक विकास मन्त्रालय लुम्बिनीका उपसचिव शारदा बस्यालले प्रदेश सरकारले किशोरावस्थाका व्यक्तिलाई लक्षित गरेर शिक्षामा छात्रवृत्ति लगायतका विभिन्न कार्यक्रम तय गरेको जानकारी गराउनुभयो ।
महिला विकास र कानुन मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले घरेलु हिंसामा सबैभन्दा बढि किशोरी पीडित रहेको तथ्यांक प्रस्तुत गर्दै चिनेजानेकै व्यक्तिबाट हिंसा हुने गरेको बताउनुभयो ।
उहाँले ८५ प्रतिशत किशोरी आमा विद्यालय नजाने गरेको जानकारी गराउँदै समुदायमा बालविवाह सबैभन्दा ठूलो चूनौति रहेकाले सचेतना जगाउन आवश्यक रहेको बताउनुभयो ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका लुम्बिनी संयोजक राम थापाले किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्यबारे जानकार बनाउन सरकाले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा किशोरी सञ्जालका सुनिता हरिजन, प्रियङ्का हरिजन, आसिमा निसा, निष्ठा हमाल लगायतले अझैपनि छोराछोरीमा विभेद कायम्र रहेको गुनासो गरे । उनिहरुले सञ्जालको सक्रियतामा बालविवाह न्युनीकरण अभियान चलाएपनि नियन्त्रणमा नआएको बताए ।