काठमाडौं । नेपाल चिकित्सक सङ्घले चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आज देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ ।
सङ्घले देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालबाट प्रवाह हुने आकस्मिकबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको हो ।
सङ्घका अध्यक्ष डा. लोचन कार्कीले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथि प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको घटनाप्रति सङ्घले गम्भीर ध्यानकर्षण भएको बताउनुभयो ।