बुटवल–कोरोना भाइरसको संक्रमण बढ्दो छ। मानिसहरुको भीडभाड र आवतजावतले संक्रमण फैलिनसक्ने भन्दै प्रदेश ५ का बाँके र कपिलवस्तुमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएका छन्। नवलपरासी पश्चिममा पनि कडाइ गरिएको छ।
संक्रमितहरुमध्ये केहीमा लक्षण समेत देखिन थालेपछि अवस्था भयावह बन्ने हो कि भन्ने चिन्ता छ। कपिलवस्तुका १ जना र बुटवलमा शनिबार पुष्टि भएका १ जनामा कोरोना भाइरसको लक्षण पनि देखिएको छ।
भारतबाट आएका कामदार र व्यापारीहरुबाट संक्रमण फैलिन सक्ने भन्दै व्यवसायिक संघसंस्थाहरुलाई कामदारहरु असुरक्षित ढंगले नल्याउन स्थानीय तहहरुले निर्देशन दिइसकेका छन्।
कपिलवस्तु र बाँकेमा गरिएका समुदायस्तरका परीक्षणले अवस्था चिन्ताजनक हुने हो कि भन्नेतर्फ संकेत गरेको भन्दै स्वास्थ्यकर्मीहरु समेत सशंकित छन्।
लक्षण देखिएकाहरुको संख्या बढ्दै गएमा उनीहरुको उपचार कसरी हुन्छ ?
कोभिड १९ को रिपोर्ट पोजेटिभ आएकालाई राख्न स्थानीय रुपमा आइसोलेसनहरु रहेपनि लक्षण देखिएका बिरामीलाई उपचार गर्ने अस्पताल प्रदेश ५ मा चार वटा मात्रै छन्। लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पताल, भैरहवाको भीम अस्पताल, बाँकेको खजुरा क्यान्सर अस्पताल र दाङ बेल्झुण्डीको कोरोना विशेष अस्पताल रहेका छन्। भैरहवाको भीम अस्पतालले आफ्नो नियमित सेवा शुरु गरिसकेको छ।
यी ४ वटा अस्पतालका आइसोलेसनमा कुल १ सय ९१ वटा बेड रहेका छन्। त्यसबाहेक आइसियुमा थप २९ वटा बेड रहेका छन्।
अहिले आइसियुमा बुटवलको कोरोना अस्पतालमा ४ जना मात्र उपचाररत रहेका छन्। चार वटा अस्पतालका सामान्य बेडतर्फ २३ जना बिरामी रहेका छन्। लक्षण देखिएका र गम्भीर प्रकारका बिरामी थपिँदै गएमा उपचारको लागि बेड अभाव हुनेछन्।
सम्भावित जोखिमलाई आँकलन गरेर पूर्वतयारी गरिहेको प्रदेश ५ स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले बताए। ‘तत्कालको लागि त हामीलाई समस्या छैन, कोरोना अस्पतालकै बेडहरु खाली छन्–उनले भने–पछिको लागि हामी तयारी गर्दैछौं, छलफलमै छौं, यही महिनाको २८ गतेसम्म केही टुंगो लाग्ला।’
चौधरीले प्रदेश ५ मा ५ हजार संक्रमित थपिए भने के गर्ने, कहाँ राख्ने भन्नेबारे योजना बनाउन लागेको जानकारी दिए।
‘त्यसमा लक्षण देखिएका, नदेखिएका र गम्भीर प्रकारका बिरामी पनि हुन सक्छन्–उनले भने–कसैलाई आइसोलेसन सेन्टरमा मात्र राख्नुपर्ने हुन्छ, कतिपयलाई अस्पतालमै भर्ना गर्नुपर्छ।’
सरकारले विद्यालयमा रहेका आइसोलेसन र क्वारेन्टाइन खाली गर्न भनेको छ। त्यसैले अब लक्षण नदेखिएका संक्रमित विद्यालय बाहेककै ठाउँमा राख्नुपर्ने हुन सक्छ। त्यसको लागि सरकारी तथा सामुदायिक भवन र विद्यालय बाहेक बाहेकका अन्य संरचनाहरुलाई उपयोग गर्ने चौधरीले बताए।
लक्षण सहितको संक्रमितको लागि जिल्ला भित्रकै अस्पतालहरुलाई प्रयोगमा ल्याउने कि भन्नेबारेमा छलफल भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता चौधरीको भनाइ छ।
‘जस्तो परासी, कपिलवस्तुमा संक्रमित देखियो भने त्यहीँका अस्पतालहरुमा बेड र आइसियुको व्यवस्था गर्ने सोंच बनाएका छौं, तर यही गर्ने भनेर निर्णय भइसकेको छैन–उनले भने–त्यसको लागि जनशक्ति, स्वास्थ्य उपकरणहरुको कसरी गर्ने भन्ने पनि छलफल भइरहेको छ।’