बुटवल–संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश ५ मा सामाजिक विकास मन्त्रालयले कोरोना भाईरसको संक्रमणको दैनिक तथ्यांक पत्रकार सम्मेलन गरेर अपडेट गर्छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक दिन सवा ४ बजेको आसपासमा कोभिड १९ को अपडेट दिन्छ।
त्यसको करीब एक घण्टापछि प्रदेश ५ मा सामाजिक विकास मन्त्रालयले प्रदेशमा कोभिड–१९ को अपडेटबारे ब्रिफिङ गर्ने गर्दछ। यी दुई ब्रिफिङमा कोरोना संक्रमितको जिल्लागत तथ्यांक दिँदा प्राय फरक पर्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार उपलब्ध गराएको तथ्यांकअनुसार कपिलवस्तुमा कुल संक्रमितको संख्या ८ सय ८ रहेको छ।
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका अनुसार ८ सय १९ रहेको छ। रुपन्देहीमा स्वास्थ्य मन्त्रालयका अनुसार ३ सय ३८ र सामाजिक विकास मन्त्रालयका अनुसार ३ सय ५४ रहेको छ। यस्तै बर्दिया, रोल्पा, रुकुम पूर्व, प्युठानमा, बाँकेमा संघको भन्दा प्रदेशको तथ्यांक बढी देखिन्छ।
गुल्मी, अर्घाखाँची, पाल्पा, दाङ, नवलपरासी पश्चिममा कोरोना संक्रमितको संख्या संघमा बढी देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले पत्रकार सम्मेलनको लागि दिउसो २ बजे नै सामग्रीहरु तयार पार्ने गरेकाले तथ्यांकमा घटबढ भएको हुनसक्ने बताए। ‘हामीले दुई बजेभित्रै प्रेस ब्रिफिङमा चाहिने विवरण एकीकृत गर्दछौं–उनले भने–प्रदेशले त्यसपछिको अपडेट सहित दिँदा छिटो भएको होला।’
प्रदेश ५ का सामाजिक विकास मन्त्रालयका चिकित्सा तथा अस्पताल विकास महाशाखाका प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले पनि प्रदेशले संघले भन्दा ढिला अपडेट गर्दा तथ्यांकमा फरक परेको हुनसक्ने बताए।
‘केन्द्रले २ बजेसम्मका विवरण मात्र बताउँछ, हामीले त्यसपछि प्राप्त भएका विवरणलाई समेटेर ब्रिफिङ गर्छौं–उनले भने–ढिला आएको विवरण केन्द्रमा हामीले भनेको भोलिपल्ट मात्र भन्नुहुन्छ।’
कुनै तथ्यांक स्वास्थ्य मन्त्रालयको बढी हुनुमा दुईवटा कारण रहेको हुनसक्ने चौधरीले बताए। ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणको रिपोर्ट यहाँ भन्दा छिटो पुग्छ–उनले भने–‘कहिलेकाँही संक्रमितको फलोअप केशको रिपोर्ट पनि काठमाडौं पुगेको हुन्छ, सुरुमा मन्त्रालयले त्यसको विवरण राखेको भएपनि पछि सच्याउँछ।’
यसरी संघ र प्रदेशको तथ्यांक फरक–फरक पर्दा आम नागरिकमा अन्योल हुने गरेको छ। यसबारे कसरी सुधार ल्याएर तथ्यांकमा एकरुपता ल्याउनेमा संघ र प्रदेशकै निकायबीच अलमल छ।