म पत्रकारिता पेशामा आवद्ध भएको करीब १४ वर्ष भयो। यसबीचमा धेरै कुरा जान्नेबुझ्ने मौका पाएँ। धेरै मानिसहरुसँग सम्पर्क बढ्यो। समाचारका विषयवस्तुदेखि व्यवस्थापनको पाटोमा समेत मैले भूमिका खेलेँ। शुरुमा बुटवलबाट मैले यो पेशामा प्रवेश गरेपनि म भैरहवामा आएर यो पेशालाई निरन्तरता दिएँ। धेरै समय भैरहवामै गुजारेँ।
पछिल्लो समय म आफैले पत्रिकाको व्यवस्थापनको नेतृत्व लिंदै लुम्बिनी पोष्ट साप्ताहिक चलाइरहेको थिएँ। अनलाईन पत्रिकाहरुको बजार र प्रभाव बढ्दै गएपछि म पनि पत्रिकाको प्रकाशन स्थगित गर्दै अनलाईनमा जाने तयारीका साथ लागेको थिएँ। लकडाउन भएपछि अनलाईनमा जान सबै काम गरेँ।
कोरोना भाइरसको संक्रमण बढ्ने जोखिम देखेर सरकारले चैत ११मा लकडाउन गर्यो। लकडाउनअघि पनि हामी सीमा क्षेत्रमा काम गर्ने भएकाले भारतबाट आउनेजानेहरुबाट जोखिम थियो। नेपालमा संक्रमण बढ्दै गएमा अन्यत्रबाट भन्दा भारतबाट घर फर्किने नेपालीहरुबाटै संक्रमण फैलिन्छ भन्ने आँकलन थियो।
त्यसैले उनीहरुलाई व्यवस्थित रुपमा सीमा क्षेत्रबाट सुरक्षित बनाएर सम्बन्धित स्थानीय तहमा लगेर क्वारेन्टिन राख्नुपर्छ भन्ने कुरा उठाइरहेका थियौं।
लकडाउन भएपछि अन्यत्र कतै जाने कुरा पनि भएन। घरमै बसेर समाचारहरुका श्रोतहरुलाई सम्पर्क गरेर समाचार लेख्ने काम गरेँ।
बजार सबै बन्द भइरहेका थिए। सुनसान बन्दै थियो।
छोरो भर्खर १ वर्ष भएको थियो। त्यसैले पनि बाहिर गएर जोखिम मोल्न डर लागिरहेको थियो। यसबीचमा लुम्बिनी प्रेस क्लबले क्लबमा आवद्धहरुको कोरोना बीमा गर्यो। कोरोना भाइरसको संक्रमण भइहाले पनि बीमा गरेकाले केही राहतको महसुस भयो।
तर जोखिम मोल्न डर नै लागिरहेको थियो। चैत, वैशाख, जेठ जोखिमको डरैडरमा बिते। असार लागेपछि लकडाउन खुकुलो हुने भयो। सरकारी कार्यालयहरु केही खुला हुने भए। यत्तिकैमा सिद्धार्थनगर नगरपालिकाले नगरपालिकाको सभा गर्ने भयो। सभामा मलाई सम्मान गर्ने भनेर खबर आयो।
खबर आइसकेपछि म पनि सुरक्षित भएर सम्मान कार्यक्रममा सहभागी हुने भएँ।
धेरै समयपछि भेट भएका पत्रकारहरु अनुभव आदानप्रदान र कुराकानी गर्न तम्सिहाल्छौं। कार्यक्रम शुरु हुनुअघि केहीछिन गफगाफ गर्यौं।
त्यसपछि कार्यक्रम शुरु भयो। सामान्य सुरक्षाका उपाय अपनाएर कार्यक्रम भयो। सम्मान लिएँ।
अनि सम्मानित भएकोमा खुशी हुँदै उत्साह बोकेर घर आएँ। घर आएर घरनजिकैको सडक निर्माणको छलफल थियो। त्यो छलफलमा सहभागी हुन गएँ।
छलफल चलिरहेको थियो। जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले फोन गर्नुभयो। हामीले असार ११ गते लुम्बिनी प्रेस क्लबका सबैको पीसीआर परीक्षणका लागि स्वाब दिएका थियौं।
त्यसकै रिपोर्ट आएर फोन गर्नुभएको रहेछ। उहाँले मेरो रिपोर्ट पोजेटिभ आएको बताउनुभयो। म आश्चर्यमा परेँ। अनि म त्यहाँ छलफलमा सहभागी एकजनालाई जानकारी गराएर निस्किएँ।
घर पुगेर गेटबाहिरबाटै बोलाएँ र जानकारी गराएँ। घरमा पनि अचम्म परे।
घरको तल्लो तला खाली नै थियो। म त्यहीँ बस्ने विचार गरेँ।
एकजना मित्रले फेसबुकमा भैरहवाका २ जना पत्रकारलाई कोरोना संक्रमण भनेर राख्नुभएछ। त्यसपछि हल्ला हुँदाहुँदै सबैले थाहा पाइसकेछन्।
अनि शुरु भयो आरोपप्रत्यारोपको बाढी।
मलाई संक्रमणको कुनै लक्षण देखिएको थिएन। न त म त्यस्तो जोखिम भएको ठाउँमा गएको थिएँ। त्यसैले मेरो रिपोर्ट नेगेटिभ आउँछ भन्नेमा विश्वस्त थिएँ।
तर त्यसरी रिपोर्ट पोजेटिभ आएपछि म कसरी संक्रमण भयो भनेर अचम्म परेँ। घरबाट त्यसरी बाहिर ननिस्केको व्यक्तिलाई संक्रमण भएको रिपोर्ट आएपछि घरमा पनि आश्चर्य माने।
त्यसपछि साथीभाइले फोन गरे। धेरैले सान्त्वना दिए।
कतिपयले कोरोना संक्रमितले नगरपालिकाको कार्यक्रममा सबैलाई कोरोना सारे भनेर हल्ला मच्याए। कतिपयले त जानीजानी सारेका हुन् जस्ता व्यवहार गरे।
सामाजिक सञ्जालमा तस्वीरसहित राखेर यिनीहरु हुन् भैरहवामा कोरोना भाइरस फैलाउने भन्नेसम्मका काम गरे।
तर म आफै कसरी संक्रमण भयो भन्नेमा आश्चर्यमा परेको थिएँ। मलाई अरुले यसैले सार्यो भनेर प्रचार गरे। म र अर्का पत्रकार साथीमाथि अनेक आरोप प्रत्यारोप लगाइयो।
संक्रमण पुष्टि भएपछि म तिलोत्तमा १५ मा बस्ने भएकाले अर्को दिन तिलोत्तमा नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारीहरु मेरो घरमा आउनुभयो। उहाँहरुले मलाई घरमा बस्न पाइँदैन आइसोलेशन जानुपर्छ भन्ने कुरा गर्नुभयो।
उहाँहरुको व्यवहार मलाई कोरोना संक्रमणबाट तपाइँ ठीक हुनुहुन्छ भन्ने कोणबाट नभई संक्रमित भएकोमा अपमानित महसुस गर्नुपर्ने खालको व्यवहार गरे। सायद उनीहरुलाई त्यसरी नै गाइडलाइन दिइएको हुन्छ कि व्यक्तिगत स्वभाव हो मैले बुझिन।
कोरोना संक्रमणको जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी, स्वास्थ्यकर्मीहरुलाई जानकारी गराएर उहाँहरुकै सहमतिमा घरमै आइसोलेशनमा बस्ने निर्णय लिएको थिएँ।
सरकारले त्यतिन्जेल होम आइसोलेशनमा बस्न पाउने गरी निर्देशिका बनाइसकेको थियो। त्यसकारण म घरमै सुरक्षित हुन्छु भन्ने ठानेर घरमै सुरक्षित बस्ने विचार गरेको थिएँ। मलाई मेरो कारणले घरपरिवार र समाजमा पनि संक्रमण नफैलियोस् भन्ने चिन्ता थियो। समाजको एउटा जिम्मेवार नागरिक भएकाले पनि म अरुलाई जोखिम नहोस् भन्नेमा सचेत थिएँ।
त्यसैअनुसार गरिरहेको थिएँ।
स्वास्थ्यकर्मीले घरपरिवारको स्वाब लिनुभयो। अनि रिपोर्टको प्रतीक्षामा बस्यौ।
त्यसको भोलिपल्ट हो।
मेरो श्रीमती करेसाबारीमा तरकारी टिप्दै थिइन्। तर नजिकैको छिमेकी एकजना दिदीले यिनीहरुले कोरोना फैलाउने भए भनेर भीड लगाउनुभयो।
आफ्नै बारीमा तरकारी टिप्न पाइएन। छिमेकमा सबैजनालाई भेला गराएर हामीहरुलाई तथानाम गाली गर्नुभयो। हामीले सुनिरह्यौमात्रै। उहाँले हामीहरुलाई त्यहाँ बस्न दिनुहुँदैन भन्ने कुरा गर्नुभयो। घरबाट निकाल्नुपर्छ भन्नेखालका कुरा आए।
अरु छिमेकीहरु पनि आउनुभएको थियो। उहाँहरुले ती दिदीलाई सम्झाउनुभयो। अनि त्यो समस्या समाधान भयो।
पत्रकार साथीहरु, अरु सामाजिक व्यक्तिहरु, मन्त्री, जनप्रतिनिधिहरुले फोन गर्नुभयो। सान्त्वना दिनुभयो। केही समस्या भए बताउनु है भन्नुभयो।
त्यसले मलाई आत्मविश्वास बढाउन मदत पुग्यो। मलाई संक्रमण भएकोमा हिनताबोध थिएन। डर पनि थिएन। मबाट अरु कसैलाई नसरोस् भन्नेमा सचेत थिएँ।
त्यसपछि घरपरिवार र मेरो सम्पर्कमा आएकाहरुको रिपोर्ट नेगेटिभ आयो।
म थप ढुक्क भएँ। मलाई आरोप लगाउनेहरुको मुख बन्द भयो।
म पूरा होम आइसोलेशन बसेँ। त्यसपछि सुरक्षित भएरै काम गरिरहेको छु।
कोरोना संक्रमणले एउटा पाठ सिकायो। मानिसले संकट पर्दा साथ दिनसक्नुपर्छ भन्ने महसुस गरायो। संकटमा छिमेकी साथमा रहेन भने चिन्ता हुनेरहेछ। मैले भोगेँ। मलाई कोरोना संक्रमणका कारण भन्दा बढी समाजसँग बढी त्रास भयो। कोरोना भाइरससँगभन्दा बढी समाजका केही व्यक्तिसँग लड्नुपर्यो।
समाजका कतिपय व्यक्तिले मलाई धेरै तनाब दिए। म केही कुरा बुझेको थिएँ र नै घरमै बसेको थिएँ। यसमा सामान्य खालको व्यक्ति भएको भए र अरु कसैसँग कुराकानी गर्न नसक्ने भएको भए उनीहरु आत्महत्या गर्ने अवस्थामा पुग्ने थिए होला। संक्रमितले आत्महत्या गरेका खबर यस्तै समाजका केही व्यक्तिका कारण भएका हुन् कि जस्तो लाग्छ।
स्वास्थ्यकर्मी, जनप्रतिनिधिहरुले संक्रमण भएका र क्वारेन्टिनमा बसेकाहरुलाई सकारात्मक दृष्टिले हेरेर उनीहरुलाई मनोबल बढ्ने खालले प्रोत्साहन गर्नुपर्छ।
संकटमा मानिसलाई आर्थिक रुपमा साथ पाएर हुँदैन, मानसिक रुपमै सही ढाडस दिने मानिस भयो भनेर धेरै राहत महसुस हुने रहेछ।
यसबीचमा मलाई शुभेच्छा व्यक्त गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु। मैले यहाँहरुको गुन बिर्सनेछैन।
(पत्रकार दीपक घिमिरेसँग लुम्बिनी टाइम्सले गरेको कुराकानीमा आधारित)