रुपन्देही । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मुल्याङ्कनमा नेपालमै प्रथम भएको छ । सेकेण्डरी बी लेभल अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा दोस्रो पटक प्रथम हुन सफल भएको स्वास्थ्य निर्देशनालयका न्युनतम सेवा मापदण्ड मुल्यांकन कार्यक्रमका फोकल पर्सन कौशल भण्डारीले जानकारी दिनुभयो ।
न्यूनतम मापदण्ड मुल्याङ्कनमा अस्पतालले ८० प्रतिशत अङ्क प्राप्त गरेको छ । अघिल्लो वर्ष ७४ प्रतिशत अङ्क प्राप्त गरी पहिलो बनेको यस प्रादेशिक अस्पतालले यो वर्ष थप अंक प्राप्त गरेको छ । लुम्बिनी प्रदेश स्वास्थ निर्देशनालयले लुम्बिनी प्रादेशिक अस्पतालको सर्र्बेक्षण पश्चात बिहीबार बुटवलमा अयोजना गरेको मुल्यांकन तथा समिक्षा गोष्ठिमा अस्पताल प्रथम भएको जानकारी गराइएको हो ।
अनुगमन टोलीमा कर्णाली प्रदेश निर्देशनालयका फोकल पर्सन, डोटि अस्पताल काठमाडौं र लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालको टोली सहभागी थियो ।
लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासीसहित प्युठान, स्याङ्जा, रुकुम, रोल्पा लगायतका जिल्लाहरुबाट उपचारका लागि बिरामीहरु लुम्बिनी प्रादेशिक अस्पतालमा आउने गर्दछन् ।
अस्पतालको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षको अवधिमा ३ लाख ४ हजार ७२५ जनाले उपचार गराएका छन । आर्थिक वर्ष २०७८ को साउनदेखि २०७९ को असारसम्म अस्पतालको बहिरंग रोग विभाग र आकस्मिकमा गरी उक्त सङ्ख्यामा सेवाग्राहीले सेवा लिएका हुन् ।