काठमाडौं । नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क बैंक’ अर्थात् मातृ अमृत कोषको उद्घाटन भएको छ। थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६३ औं वर्षिकोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘ह्युमन मिल्क बैंक’को उद्घाटन गर्नुभएको हो।
काठमाडौँमा आयोजित एक समारोहकाबीच अमृतकोषको उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले कोषको स्थापना हुनु मातृ तथा शिशु स्वास्थ्यको क्षेत्रमा ऐतिहासिक थालनी भएको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले अृमतकोषले संस्थागत रुपमा आमाहरूबाट दान गरिएको दूधको सङ्कलन प्रशोधन र भण्डारण गरी आवश्यक पर्ने शिशुहरूलाई वितरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले अमृतकोषको स्थापनाले नेपालमा मातृ तथा शिशु मृत्युदर घटाउनुका साथै स्तनपानको महत्त्वबारे जनचेतना फैलाउन सहयोग पुग्ने बताउनुभयो ।
पूर्ण स्तनपानले पाँच वर्ष कम उमेरको मृत्युलाई १३ प्रतिशतले कम गर्ने अध्ययनले देखाएको छ। जन्मेको पहिलो एक घण्टाभित्र गराइने स्तानपानसँगै पूर्ण स्तनपानले विश्वभरका नवजात शिशुको मृत्युलाई २२ प्रतिशतले घटाउछ। आमाको दूध प्रर्याप्त नहुँदा नवजात शिशुलाई बट्टाको दूध दिइने गरिन्छ। तर, बट्टाको दूध खुवाउँदा शिशुमा संङ्क्रमण र आन्द्रा सम्बन्धी रोगको उच्च जोखिम हुने चिकित्सकको भनाइ छ। दूधबाट बन्चित शिशुलाई अरु आमाले दान दिएको दूध खुवाउन सके बट्टाको दूधको नकारात्मक असरबाट जोगाउन सकिन्छ।
हरेक वर्ष विश्वभर करिब एक करोड ५० लाख शिशु समय नपुग्दै जन्मिन्छन्। अध्ययनका अनुसार नेपालमा करिब ८१ हजार शिशु समय नपुगी जन्मिन्छन्। शिशु आफ्नो जीवनको पहिलो महिनामा मृत्युको उच्च जोखिममा हुन्छन्। समय नपुगी जन्मिएका र कम तौल भएका शिशु बढी जोखिममा हुन्छन्।