काठमाडौं । नेपालमा कोरोना सङ्क्रमितदरलाई मध्यनजर गर्दै सरकारले कोरोना सङ्क्रमितको लागि निःशुल्क उपचार गर्न सात प्रदेशबाट १७ अस्पताल तोकेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल र भेरी अस्पतालमा निःशुल्क उपचार हुने भएको छ । कर्णली प्रदेशमा कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पताल तोकेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार सरकारले मध्यम र गम्भीर अवस्थामा भएका सङ्क्रमितको उपचार गर्दा शुल्क तिर्नु नपर्ने गरी अस्पताल तोकेको हो ।
कोभिड–१९ सङ्क्रमितको उपचार गरेवापत ती अस्पतालहरुलाई बिरामीको अवस्थाको आधारमा अनुदान दिने व्यवस्था गरिएको डा. अधिकारीले जानकारी दिनुभयो ।
डा. अधिकारीका अनुसार सरकारले तोकेका अस्पतालमध्य प्रदेश १ मा कोशी अस्पताल र बीपी कोइराला विज्ञान प्रतिष्ठान गरी दुई अस्पताल रहेका छन् ।
त्यसैगरी, मधेश प्रदेशमा जनकपुर प्रादेशिक अस्पताल र नारायणी गरी दुई अस्पतालमा कोभिडको निःशुल्क उपचार गर्ने निर्णय सरकारले गरेको छ ।
बागमती प्रदेशमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, भरतपुर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी पाँच अस्पताल तोकेको छ ।
गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरी गरी दुई अस्पतालमा निःशुल्क उपचार गर्ने जनाएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पताल र सेती प्रादेशिक अस्पतालमा सङ्क्रमितको निःशुल्क उपचार हुने भएको छ ।